नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी कसरी गरिररहेको छ ?
केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेर हामी निर्वाचन अभियानमा होमिएका छौ । पहिलो चरणको निर्वाचन हुने पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट हाम्रो निर्वाचन अभियान सुरु भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ताप्लेजुङ पुगेर अभियानको सुरुवात गर्नुभयो । त्यस्तै, पाँचथर तथा सोलुमा आयोजित सभालाई सम्बोधन गर्नुभयो । यस्तै सभापति देउवा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायत प्रभावशाली नेताहरूका विभिन्न जिल्लामा कार्यक्रम तय गर्दैछांै । अहिले पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने जिल्लाहरूमा केन्द्रीय निर्वाचन परिचालन समितिका प्रतिनिधिहरू पठाउने निर्णय गरेका छौं । त्यसैगरी पार्टीका सदस्य, भ्रातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरूका साथै लोकतन्त्रवादी साथीहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रभित्रका गाउँ एवम् नगरका वडावडाका मतदातासमक्ष पुगी नेपाली कांग्रेसका उम्मेद्वारहरूलाई विजयी गराउने अभियानमा सरिक हुन पनि आह्वान गरेका छौं । अर्को भनेको केन्द्रीय निर्वाचन परिचालन समितिको आज (शुक्रबार) को बैठकले काठमाडौंस्थित कांग्रेसका जिल्ला सम्पर्क समितिहरूलाई पनि निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । यसका लागि निर्वाचन परिचालन समितिअन्तर्गत विभिन्न उपसमितिहरू बनाइएका छन् ।
निर्वाचनको प्रचारप्रसार अभियान कसरी भइरहेको छ ?
हामीले निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार समिति गठन गरेका छौं । केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना गरेका छौं । त्यसैगरी सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना हुन्छ । ती मिडिया सेन्टरमार्फत नेपाली कांग्रेसका चुनावप्रचार प्रसारदेखि प्रचारप्रसारका सामग्रीहरूको वितरण हुनेछ ।
यसपटक लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ । कांग्रेसलाई भोट दिनुपर्ने आधारहरू के के हुन् ?
नेपालका कम्युनिस्ट पार्टीहरू चाहे त्यो एमाले होस्, चाहे त्यो माओवादी होस्, अथवा मसाल नै, सबैले स्थापनाकालदेखि नै हिंसात्मक गतिविधि गर्दै आएका हुन् । कम्युनिस्टको स्थापना, उत्पत्ति र क्रान्तिको उद्घोष नै हिंसा र हतियारबाट भएको इतिहास पढ्दा प्रस्ट हुन्छ । २०४६ मा मालेलाई पञ्चायतविरुद्धको आन्दोलनमा कांग्रेसले कार्यगत एकताको आधारमा लोकतान्त्रिक मूलधारमा ल्याएको हो । २०४७ को संविधान तत्कालीन प्रधानमन्त्री, कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको अगुवाइमा कांग्रेस, कम्युनिस्टलगायत दल मिलेर जारी गरिएको हो । २०४६ सालको आन्दोलनमा सर्वोच्च नेता गणेशमान सिंंहको पहलमा पञ्चायत फाल्नका लागि कम्युनिस्टसँग कांग्रेसले सहकार्य गरेको हो । त्यसपछि तत्कालीन माओवादीले हतियारको बलमा १० वर्ष सशस्त्र द्वन्द्व गर्यो । उसलाई पनि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले बाह्रबुँदे सहमति र बृहत् शान्तिसम्झौता गरी लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिको बाटोमा ल्याउनुभयो । अहिले उनीहरू मूलधारको राजनीति गरिरहेका छन् । दुई दलले गठबन्धन गरेर कांग्रेस हराउन लागिरहेका छन् । तसर्थ, लोकतन्त्रलाई संस्थागत र सुदृढ बनाउन कांग्रेसलाई जिताउनुको विकल्प नेपाली जनतासँग छैन ।
कम्युनिस्टले गठबन्धन गरेपछि कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन बनायो । वाम गठबन्धनका कारण कांग्रेस आत्तिएको भन्ने टिप्पणी पनि सुनिएको छ । कांग्रेस आत्तिएको हो ?
हामी आतिएका छैनांै । त्यसबेला नेपाली जनता र कांग्रेस नेतालाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) जसले नाम माक्र्सवादी र लेनिनवादी राखे पनि बहुदलीय राजनीतिमा विश्वास गर्छ सुध्रिनेमा शंका गरेका थिए । तर, कांग्रेसले उनीहरूलाई व्यवहारबाट सुधार्यो । नेपालमा बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय, प्राकृतिक सम्पदा, हावापानीको विविधता छ । यो विविधतामा राजनीतिक पार्टीहरू पनि विविध विचार र संस्कृतिका आधारमा उभिन्छन् । कुनै एकदलीय निरंकुशता नेपालमा सफल हुन सक्दैन भन्ने राजा ज्ञानेन्द्रको असफल प्रयासबाट प्रमाणित भइसकेको छ । तसर्थ कम्युनिस्टहरूले पनि यो विषय मनन् गरेर संसारभर उदार राजनीति, उदार अर्थतन्त्र र समतामूलक समाज निर्माण भएको छ, त्यसलाई आत्मसात् गर्छन् । र, विस्तारै माक्र्सवादको पुरानो संकल्प र आधारशीलालाई परिष्कृत गरेर बहुलवादी बहुदलीय लोकतन्त्रमा आउँछन् भन्ने कांग्रेसको विश्वास हो । कम्युनिस्टहरूले यति भाषिक अलमल र गोलमटोलका कुरा राख्छन् कि अहिले आएर संविधानसभाबाट संविधान निर्माण भइसकेपछि सबै कम्युनिस्ट पार्टीहरू मिलेर संविधानमा आमूल परिवर्तन गर्छौं, संविधानको मूलभूत आधारशीला बदल्छौं, व्यवस्थापिका संसद् र संसदीय राजनीतिमाथि विश्वास गर्दैनौं, एकदलीय कम्युनिस्ट शासन व्यवस्था नेपालमा स्थापित गर्छौं भन्ने जुन उद्घोष गरेका छन्, त्यो नेपाली समाज र नेपालीको लोकतन्त्रप्रतिको चाहनाविपरीतको उद्घोष हो । जसलाई जनताले कदापि स्विकार्दैनन् । त्यही उद्घोषका कारण चुनाव र सरकारमा उनीहरूले तालमेल गर्लान् भनेर कांग्रेस कत्ति पनि अत्तालिएको छैन । तर, उनीहरूले संसारबाटै ‘आउटडेटेड’ भइसकेको, तिरष्कृत भइसकेको, असान्दर्भिक भइसकेको कम्युनिस्ट शासनशैली नेपालमा ल्याउँछौं भनेकाले कांग्रेसले सबै लोकतान्त्रिक शक्तिलाई संगठित गरेर, जनतालाई सूचित गरेर, निरंकुशताविरुद्ध उभिने शक्ति निर्माणका लागि ‘लोकतान्त्रिक गठबन्धन’ निर्माण गरेको हो ।
२०४६ सालपछि बहुदलीयता र संसदीय राजनीतिमा अंगीकार गरेको, आन्तरिक लोकतन्त्रमा कांग्रेसभन्दा बढी अभ्यास गरेको नेकपा एमाले फेरि कम्युनिस्ट अधिनायवादलाई स्वीकार्न लाग्यो भनेर तपाईंहरूले भन्दैमा कसरी पत्याउने ?
हो । हामीले पनि नेकपा एमाले एउटा भरपर्दो लोकतान्त्रिक शक्ति बन्यो होला सोचेका थियौं । तर एमालेले त्यो बाटो समात्ने प्रयास नै गरेन । अहिले माओवादीसँग गठबन्धन बनाएर पार्टी एकता गर्ने भन्दै गर्दामात्र होइन विगतदेखि नै पनि लोकतन्त्रको बाटोमा होइन मौका आउनसाथ आफ्नो पुरानो बाटो समात्न एमाले पनि पछि परेन । रूसमा कम्युनिस्ट व्यवस्था ढलेर अहिले व्यवस्था भर्खर आएको थियो । तर नयाँ एक दिनका लागि अतिवादी कम्युनिस्टहरूले कु गर्दा रोस्टममा उभिएर अरू कम्युनिस्ट नेताभन्दा लोकतन्त्रवादी नेताका रूपमा चिनिनुभएका मनमोहन अधिकारीले त्यसको स्वागत गर्नुभयो । अहिले त एमाले नेताहरूले के के भनेका छन्, मैले भन्नै पर्दैन, तपाईंहरूले नै सुन्नुभएको छ । माओवादीसँग गठबन्धन गरेका दिन एमाले नेताहरू माओवादी नेताहरूले भनेका होइनन् अहिले संविधानमा भएको शासकीय स्वरूप बदल्छौं भने । अहिले संविधान बदल्ने शासकीय स्वरूप र शासन व्यवस्था बदल्ने भनेको के हो ? अनि यो कुरा हामीले मात्र कम्युनिस्टहरूलाई आरोप लगाएको हो र ?
कम्युनिस्टहरू निरंकुश भएकाले जनताले स्वीकार्दैनन् भन्ने यहाँको भनाइ हो ?
नेपाली नागरिकले अहिलेसम्म निरंकुशता स्विकारेका छैनन् । निरंकुशता स्विकारेको भए अहिलेसम्म राणाशासन नै कायम हँुदो हो । एकदलीय पञ्चायत, निर्दलीय शासन व्यवस्था र निरंकुश शासन व्यवस्था कायमै हुन्थ्यो होला । जबसम्म नेपालमा राजतन्त्रले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आत्मसात् गर्यो, तबसम्म उसलाई जनताले पनि स्विकारे । जब राजाले मुलुकको संविधान कुल्चिएर, जनताको लोकतन्त्रप्रतिको चाहनामा आघात पुर्याएर जनताको शक्ति आफूले दुरुपयोग गर्ने कोसिस गरे, त्यसपछि सबैको कल्पनाविपरीत नेपालबाट राजतन्त्र नै सखाप भयो । यतिसम्म कि माओवादीलाई पनि नेपालबाट राजतन्त्र सिद्धिन्छ भन्ने विश्वास थिएन । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र ज्येष्ठ सदस्यका नाताले कांग्रेस सभासद् कुलबहादुर गुरुङले सभापतित्व गरेको संविधानसभा बैठकले करतलध्वनिबाट नेपालबाट राजतन्त्र अन्त्य भएको र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको हो । त्यसपछि बैठकबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पत्रकारले सोधे, ‘राजतन्त्र नेपालबाट अन्त्य हुनुको मूल कारण के हो ?’ उहाँले जवाफमा भन्नुभएको थियो, ‘खुदै राजा हुन्, राजदरबार हो, राजशक्ति हो । राजाको अज्ञानता, महत्वाकांक्षा र जनताप्रतिको तिरष्कार र लोकतन्त्रप्रति सद्भाव नभएका कारणले राजसंस्था सिद्धिएको हो ।’
त्यसो भए कम्युनिस्ट गठबन्धन र कम्युनिस्ट पार्टीहरू नेपालमा लामो समय टिक्दैनन् ?
अहिलेसम्म नेपालमा जसले लोकतन्त्र र प्रजातान्त्रिक मूल्य पद्धति र जनताको सार्वभौमसत्तालाई स्विकारेन, त्यो शक्ति सिद्धिएर गएको छ । राणा, पञ्चायत र राजाहरू आफूहरू सिद्धिनेमा आफैं विश्वस्त थिएनन् । माओवादी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा जसरी उर्लिएर ठूलो शक्ति बनेको थियो, त्यसैगरी सिद्धिन्छु भन्ने सोचेको थिएन । जितेर आएपछि आफूहरू जितुवा, अरू हरुवा भनेर निर्वाचन पद्धति र जनतमतको खिल्ली उडाए । हतियारको राजनीतिमा जाने कोसिसस्वरूप नेपाली सेनामाथि हस्तक्षेप गर्ने कोसिस गरे । जसकाकारण माओवादीको शक्ति खण्डित भएर २०७० सालको निर्वाचनमा पहिलोबाट घटुवा हुदै तेस्रो शक्ति बन्न पुग्यो । जनताले अहिलेसम्मका निर्वाचनमा सदैव विवेक प्रयोग गरिरहेका छन् । अहिले पनि लोकतन्त्र रक्षाका लागि कांग्रेसको पक्षमा मतदान गर्छन् । प्रजातन्त्रको पहरेदार, जनताको साथी भएकाले कांग्रेसलाई आलोचना गर्नु, समालोचना गर्नु र अझै राम्रो गर भनेर सुझाव दिनु स्वाभाविक हो । तथापि, मुलुकमा जब–जब संकट पर्छ, चाहे त्यो राष्ट्रियताका लागि होस् या लोकतन्त्रका लागि होस्, चाहे त्यो संसदीय व्यवस्थामाथि होस्, चाहे जनाधिकारमाथि होस् त्यसबेला कांग्रेसले सबै प्रजातान्त्रिक शक्तिलाई संगठित गरेर एक ठाउँमा उभ्याएको छ । हामी हिजो पञ्चायत र राजाविरुद्ध उभिएका थियौं, आज निरंकुश कम्युनिस्ट शासन व्यवस्थाको विरोधमा पनि उभिएका छौं । निरंकुश कम्युनिस्ट विचार राख्ने पार्टी पनि नेपालमा लामो समयसम्म टिकिरहन सक्दैनन् भन्ने १० र २१ मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको नतिजाले छर्लंग पार्नेछ ।
के कारणले नेपालमा कांग्रेस अपरिहार्य भएको हो त ?
स्थानीय निर्वाचनमा पाएको मतलाई अंकगणितीय रूपमा जोडेर, पहिलो संविधानसभा निर्वाचनमा माओवादीले पाएको मतको अंकगणित जोडेर या २०७० को निर्वाचनमा माओवादी, कांग्रेस र एमालेले पाएको मत जोडेर जनताको मत जोडिँदैन । जनता जहिले पनि परिवर्तन र लोकतन्त्रका पक्षमा हुन्छन् । २०६४ मा माओवादीलाई मत हालेका जतिले २०७० मा पनि मत हालेका भए पहिलोबाट तेस्रो शक्तिमा पक्कै पनि झर्दैनथ्यो होला । २०५१ मा एमालेलाई मत हालेका जतिले सबै निर्वाचनमा मत हालेको भए सधैं एमाले पहिलो पार्टी नै हुन्थ्यो होला । २०४८ मा कांग्रेसलाई मत हालेका जति सबैले सधैंका निर्वाचनमा मत हालेका भए सबै निर्वाचनमा कांग्रेसको बहुमत आउथ्यो होला । जनमत बदलिइरहन्छ । अहिले संविधानलाई परिष्कृत गर्ने, अझै जनताको स्वामित्वमा उभ्याउने र लोकतन्त्रको रक्षा गर्ने र कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर शान्ति र समृद्धि स्थापित गर्ने पक्षमा मतदाता हुनुहुन्छ भन्ने हाम्रो विश्वास हो ।
२०३३ मा बीपीले भन्नुभएको थियो, राष्ट्रियता र लोकतन्त्रको संवद्र्धनका लागि, नेपालका नागरिकले चाहेजस्तो विकास, युवालाई रोजगारी दिनका लागि एकता र मेलमिलाप चाहिन्छ । आज पनि मेलमिलाप र एकता आवश्यक छ । त्यो गर्न सक्ने कांग्रेसले मात्रै हो । कांग्रेसको मूल्य–मान्यता र सिद्धान्त विविध विचारलाई स्वीकार गर्ने र आफूसँग असहमत विचारलाई पनि स्वीकार गर्ने हो । सबै राजनीतिक दलको यथोचित सम्मान गर्ने हो । सबैको सहभागितामा मेलमिलापको आधारमा मुलुकलाई अघि बढाउने हो । नेपालमा कुनै पनि ‘रेजिमेन्टेट’ शासन व्यवस्था आउन सक्दैन । प्राकृतिक सम्पदा, हावापानी, भूगोल, वनस्पति, जीवजन्तु, भाषा, संस्कृति, धर्म, जातजातिमा विविधता छ । यो विविधतामा अहिले नेपाली जनता हिजो राणा शासनकालमा खरिबोटको तल बसेर जम्मा हुने सेनाजस्तै होइनन् । जनता अहिले लोकतन्त्र, शान्ति र समृद्धि चाहन्छन् ।
अहिलेको आवश्यकता मधेस, हिमाल र पहाडलाई सम्मान गर्नु हो । समग्रमा सबै नेपालीले सबैको सहअस्तित्वलाई सम्मान गर्दै नेपाललाई एकताको सूत्रमा बाँध्नु हो । मुलुकलाई खण्डित हुन नदिनु अहिलेको राष्ट्रिय एकताको सबैभन्दा ठूलो आवश्यकता हो । जसरी अहिले कम्युनिस्ट पार्टीले एउटा डाँडामा उभिएर अर्को स्थानमा रहेका नेपालीलाई लाञ्छित गर्ने, होच्याउने काम गरिरहेका छन्, त्यसले नेपाललाई विखण्डनको दिशामा लैजान्छ । माक्र्सवादको अन्तिम लक्ष्य राज्यविहीन समाजको स्थापना गर्ने हो, वर्गविहीन समाजको स्थापना गर्ने हो, नेपालका कम्युनिस्टहरू अहिले त्यही दिशामा अघि बढिरहेका छन् । कुनै माक्र्सवादी र कम्युनिस्ट राष्ट्रवादी हुन सक्दैन । तसर्थ अहिले नेपालका कम्युनिस्ट नेताहरूले जातीयता, साम्प्रदायिकता, भूगोल, रहनसहन र भेषभूषाका आधारमा उग्र र चर्को राष्ट्रवादले मुलुकलाई खण्डित र विभाजित गर्न लागिरहेका छन् । यसले राष्ट्रियतालाई बलियो होइन, कमजोर बनाउँछ । राष्ट्रियता बलियो बनाउन, लोकतन्त्रको संवद्र्धन गर्न, शान्ति स्थापना र समतामूलक समाज स्थापना गर्न लोकतान्त्रिक शक्तिको अपरिहार्यता छ ।
नेपाली कांग्रेसले २००७ साल देखि राजनीति परिवर्तन गरेको इतिहासमात्रै देखाउने कि भोलि के गर्ने भन्ने उद्देश्य पनि राख्ने ?
हामीले भविष्यमा पनि समृद्ध मुलुकको नेतृत्व हामी नै गर्छौं भनेका छौ । हामीले त्यो समृद्धिका लागि के के गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका छौं । अनि इतिहासमा पनि मुलुकको राजनीति परिवर्तनमात्रै होइन मुलुकको समृद्धिका लागि पनि केही गरेका छांै । त्यो भनेको २०४८ सालमा कांग्रेस सरकारले ल्याएको खुला अर्थ व्यवस्थाका कारण आज मुलुक कहाँबाट कहाँ पुगेको छ । पञ्चायतले ३० वर्ष शासन गर्दा नेपालमा सडक कति थिए, मान्छेको जीवनस्तर कस्तो थियो ? दूरसञ्चारको क्षेत्र कस्तो थियो ? अनि खानेपानी मानिसको स्वास्थ्य, शिक्षा कस्तो थियो अहिले कस्तो भएको छ । त्यो सबै कांग्रेसको लिएको आर्थिक उदारीकरणको नीतिका कारण हो कि होइन् । नेपालका कम्युनिस्टहरूले कांग्रेसले अगाडि सारेको उदारीकरणको नीतिलाई पुँजीवादी भन्दै थिए ।
(सुरेन्द्र पाण्डे नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका सहसंयोजक हुन् )
प्रतिक्रिया