देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाटकीय गठबन्धनको भ्रम चिर्न कांग्रेस सक्षम छ

देशान्तर

 

यतिबेला नेपालका कम्युनिस्टहरू नाटकीय रूपले गठबन्धनका नाउँमा साम्यवादी शासन व्यवस्था लागू गराउने प्रपञ्चमा जुटेका छन् । विगत ७० वर्षदेखि लडेर जनताले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि यसको पूर्ण कार्यान्वयन नहुँदै एमाले र माओबादी संविधानमा रहेको दलीय प्रतिस्पर्धामा आधारित संसदीय व्यवस्थाको अन्त्य गर्दै एकदलीय कम्युनिस्ट शासन स्थापना गर्ने अभिप्रयका साथ लोकतन्त्र विरोधी अभियानमा जुटेका छन । नेपालमा जनविरोधी शासनका विरुद्ध लड्न पार्टीगत हिसाबले कांग्रेस र कम्युनिस्ट लगभग सँगसँगै जन्मिएका हुन् ।

तर, पार्टीको स्वरूप पाएदेखि अहिलेसम्मको इतिहासले नेपालका कम्युनिस्टहरूलाई कुनै पनि आन्दोलनको नेतृत्व गरेको श्रेय छैन । उनीहरू कहिले पञ्चायत त कहिले राजालाई सघाउँदै कांग्रेसलाई कसरी सिध्याउने भन्ने राजनीतिक खेलमै रुमलिँदै आएका छन् । तर, कांग्रेसले आफूविरुद्ध लागेका कम्युनिस्टहरूलाई प्रजातान्त्रिक मूल्यमा आधारित शासन व्यवस्थामा रूपान्तरित गर्दै आएको छ ।

नयाँ शासन स्थापना र न्यूनवर्गीय जनताको पक्षमा आफूलाई वकालत गर्ने क्रममा अस्तित्वविहीन बन्न पुगेको अवस्थामा उनीहरूलाई कांग्रेसले काखी च्याप्दै आएको छ । चाहे त्यो २०३६ सालको जनमत संग्रहपछि कम्युनिस्टमा आएको विभाजन होस् चाहे, दसवर्षे जनयुद्धबाट कुनै राजनीतिक दिशा लिन नसकेको माओबादी होस् । यी सबैको राजनीतिक भविष्यको स्थायी रूपान्तरण कांग्रेसले गराएको हो ।

तर, अहिले यिनै कम्युनिस्टहरू कांग्रेसको सिद्धान्तमाथि आक्रमण गर्ने प्रयास गरिरहेका छन् । जनताको बलिदानबाट प्राप्त प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध उभिन पुगेका छन् । त्यसकारण फेरि प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसले जनतालाई भन्न र जनताले कांग्रेसलाई साथ दिनुपर्ने अवस्था आएको छ ।

जनताले स्थापित गरेको व्यवस्थामा दलीय प्रतिस्पर्धा गौण हुन्छ । चुनावमा गएपछि एउटाले हार्ने र अर्कोले जित्ने सामान्य लोकतन्त्रको मान्यता हो । तर, पटकपटक आन्दोलन गरी प्राप्त गरेको उपलब्धिलाई चुनौती दिँदै जनताका अधिकार खोस्ने दुष्प्रयास कसैले गर्छ भने त्यसका विरुद्धमा कांग्रेस लड्न तयार हुनपर्छ ।

आफ्नो अभीष्ट पूरा गर्न जनताका विरुद्धमा जाने कुनै पनि शासक र दलका नाउमा आएका कुनै पनि अधिनायवादी शक्तिलाई परास्त गर्न जनताले कांग्रेसलाई साथ दिँदै पनि आएका छन् । अहिले एमाले र माओवादीबीचमा भएको गठबन्धन केवल चुनावका लागि होइन । यो अहिलेको संविधानले अंगीकार गरेका उपलब्धिहरूको अन्त्य गर्दै नयाँं अधिनायकबादी कम्युनिस्ट सत्ता स्थापनाका लागि हो ।
वाम गठबन्धनको अभीष्ट बुझ्न असहज छैन ।

स्थानीय तहको निर्वाचन सकिएपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ मुलुक केन्द्रित भएको छ । मूलत संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा लानका लागि पनि अहिलेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुन आवश्यक छ । नेपालमा पटकपटक भएका आन्दोलनहरूले जहानियाँ राणाशासन, ३० वर्षे पञ्चायती व्यवस्था र दुई सय ४० वर्ष शासन गरेको राजतन्त्र अन्त्य गर्दै हामीले जनताको शासन स्थापित गराएका छौं ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवशे गरिसकेपछि जनताले दिएको मताधिकारबाट बनेको संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पनि जारी गरिसकेको छ । र, अहिले हामी यो संविधान कार्यान्वयन गराउने चरणमै रहेका छौ । राणाशासनदेखि राजतन्त्रको अत्य गर्दै संसदीय प्रतिस्पर्धामा आधारित संघीयको लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्नेसम्मको नेतृत्व नेपाली कांग्रेसले ग¥यो ।

तर, पछिल्लो समयमा आएर हिजो लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि सँगसँगै लडेका नेकपा एमाले र नेकपा माओवादीका बीचमा अनौठो र आश्चर्य ढंगले अहिले भएको संसदीय व्यवस्थालाई नै चुनौती दिने गरी साँठगाँठ भएको छ । यो किन भयो । दलीय प्रतिस्पर्धामा विचार मिल्ने, सिद्धान्त मिल्ने र उस्तै पृष्ठभूमि भएका दलहरूमा चुनावका लागि एकता हुनु स्वाभाबिक हो । तर, अहिलेको वाम गठबन्धनको अभीष्ट यो होइन । सत्ता कब्जाको अभीष्ट हो । हामीले दलीय प्रतिस्पर्धामा आधारित संसदीय व्यवस्थाको परिकल्पना ग¥र्यौं र त्यहीअनुसार संविधान पनि जारी ग¥र्यौ ।

संसद्बाट निर्वाचित प्रधानमन्त्रीसँग कार्यकारी अधिकार रहने र संसद्बाटै निर्वाचित राष्ट्रपति संंवैधानिक रहने गरी राज्यको शासकीय स्वरूपलाई अंगीकार गर्दै संविधान जारी गरेका हौं । यदि एमाले र माओबादीबीचको एकता यस अर्थमा भएको भए कांग्रेसले पनि स्वागत गर्नु पथ्र्यौं । तर, उनीहरू अहिलेको व्यवस्था नै परिवर्तन गर्ने गरी कार्यकारी राष्ट्रपति र एकाधिकारवादी कम्युनिस्ट शासन सञ्चालन गर्ने अभियानमा लागेका छन् ।

वाम गठबन्धनका नाउँमा भोलि नेपालमा राजा फर्काएर जनताका अहिलेसम्मका सबै उपलब्धि समाप्त पार्ने खेल भइरहेका छन् ।
यदि यसो भएमा अहिले पाएका सबै अधिकार फर्काउनका लागि नेपाली जनताले फेरि आन्दोलन गर्नुपर्ने बाध्य सिर्जना हुनेछ । यसकारण यतिबेला नेपाली कांग्रेसले यो कुरा नेपाली जनतालाई भन्न आवश्यक छ ।

नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न आवश्यक छ । संविधानको रक्षा र अहिले जनताले प्राप्त गरेका उपलब्धि रक्षाका लागि पनि कांग्रेसले आफ्ना सबै शक्तिहरूलाई देशभरि परिचालन गर्न आवश्यक छ । अहिले एमाले र माओबवादीले स्थानीय तहमा पाएको दुई दलको मतलाई आधार बनाएर हामीले नै अबको दशकौंसम्म नेपालमा शासन गर्ने हो भन्दै हिँडिरहेका छन् । तर, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन संसद्मा भएको प्रधानमन्त्रीको निर्वाचन जस्तो होइन ।

वाम गठबन्धनले जनतामा पक्कै पनि समस्या खडा गरेको छ । उद्योग व्यावसायिक क्षेत्रमा पनि लगानीका विषयमा चिन्ताहरू बढ्न थालेका छन् । यी सबै विचारलाई कांग्रेसले प्रतिनिधित्व गर्दै आएको छ र अब पनि प्रतिनिधित्व गर्छ भन्ने कुरा कांग्रेसले गाउँगाउँ र टोलटोलमा पु¥याउन आवश्यक छ । कांग्रेसले वाम गठबन्धन नाटकीय हैन, योजनाअनुसार आएको छ भन्न आवश्यक छ ।

सत्ताका विषयमा कांग्रेसप्रति सत्य बोल्नुपर्छ । विगतमा भएका गल्तीले कांग्रेसप्रति पनि जनताको असन्तुष्टि छ । यो असन्तुष्टिलाई मूल मुद्दा बनाएर अहिले प्रजातन्त्र समाप्त गर्ने षड्यन्त्र सुरु भइसकेको छ । कांग्रेसले किन जनताका काम गर्न सकेन भन्ने कुरा जनतालाई अब प्रष्ट रूपमा भन्नुपर्छ । कांग्रेसले विगत ७० वर्षदेखि जनताका हितमा लडिरहेको छ ।

नेपाली जनताका लागि कुनै पनि व्यवस्था परिवर्तनमा कांग्रस जति कस्ले लडेको छ ? जनताका लागि कम्युनिस्टहरूले कहिले र कुन समयमा नेतृत्व गरेका छन् ? जनताका लागि लड्दालड्दै यतिका वर्ष तिेका छन् । अब स्थिर शासन कायम हुन्छ र कांग्रेसले विकासको मोडल अघि सार्छ भन्ने जनताको माग भइरहेका अवस्थामा कम्युनिस्टहरूले फेरि कांग्रेसलाई जनताका पक्षमा लड्न बाध्य बनाउँदैछन् ।

अहिले विभाजन हुँदै फुर्सद नभएका उनीहरूले कहिले पञ्चायतलाई सघाए । कहिले कांग्रेसविरुद्ध राजाका अगाडि उभिँदै दाम चढाए । र,अहिले तीनै कम्युनिस्टहरू नेपालमा संसदीय व्यवस्थाको अन्त्य गर्छौं भनिरहेका छन् । कुन कम्युनिस्ट नेताले अहिलेसम्म देश र जनताका पक्षमा कुनै पनि राज्य शक्तिका विरुद्धमा आन्दोलन गरे यसको इतिहास अब नेपाली जनाताले खोज्ने बेला भएको छ । कांग्रेले पनि सम्झाउने बेला आएको छ । र, सबै कांग्रेस एक भएर जनतामा जानुपर्छ ।