काठमाडौँ ।
काठमाडौँको कमलादीमा गोली चलेको छ । प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले गोली चलेको कुरा पुष्टि गरेका छन् ।
उनले घटनास्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेको बताए । पक्राउ पर्नेमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेका छन् ।
कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेको धानुकले बताए ।उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ ।
कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको प्रहरीले जानकारी दिएको छ । धानुकका अनुसार उनीहरु प्लाजाको एक रेस्टुरेन्टमा खान गएका थिए । त्यहाँ खानाको बिल धेरै आएपछि वादविवादको क्रममा उनीहरुले गोली चलाएका थिए । उनीहरु हिजो सुनवल नाकाबाट काठमाडौँ भित्रिएका थिए । उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले रातोपाटीले बतायो। प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।
प्रतिक्रिया