देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सारिन्छ : प्राधिकरण

देशान्तर

काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तक्र्रिया गरेको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्भाल्नुभएका युवराज भुसालको विकास साझेदारसँग यो पहिलो अन्तक्र्रिया हो ।

अन्तक्र्रियामा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गरे ।

पुनःनिर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउनु हुँदै उनले संगठनात्मक र नीतिगत चरण सकिएकाले अव तीव्ररूपमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरे ।

वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने लक्ष्य रहेको र यसमा विकास साझेदारको सहयोगको खाँचो भएको तबाउदै उनले पुनःनिर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा पनि विकास साझेदारको सहयोग आवश्यक पर्ने  बताए ।

विकास साझेदार संस्थाका प्रतिनिधिले पुनःनिर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । संयुक्त राष्टसंघ, युरोपेली युनियन, जपानी सहयोग संस्था जाइका, बेलायती सहयोग संस्था डिफिड, विश्व बैंक, एसियाली विकास बैंक, चीन, भारतलगायतका प्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका थिए ।

प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा सक्रिय हुनुभएका पूर्व प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई विकास साझेदारका तर्फबाट बिदाइ गरिएको थियो ।

प्राधिकरणले पनि पूर्व प्रमुख कार्यकारी अधिकृत पोखरेललाई आइतबार बिदाइ गरेको थियो । प्राधिकरणमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणका लागि पोखरेलले थुप्रै सकारात्मक काम गरेको भन्दै आफूले यसलाई निरन्तरता दिने बताए ।