काठमाडौं | हुन्डीमार्फत अपराध बढेपछि प्रहरीले हुन्डी कारोबार गर्नेउपर विशेष निगरानी सुरु गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरचकुमार गौचनको हत्यापछि प्रहरीले हुन्डी व्यवसायीमाथि निगरानी बढाएको हो । हत्यामा संलग्न समूहले ठूला ठेकदार तथा व्यवसायीलाई समेत धमक्याएर विदेशबाटै पैसा मागिरहेका छन् ।
हुन्डीमार्फत पैसा असुल्न सक्ने भएकाले प्रहरीले हुन्डी कारोबार गर्ने व्यक्तिको सूचना संकलन गरी निगरानी बढाएको जनाएको छ । भारतमा लुकेर एक आपराधिक समूहले एक दर्जन ठूला ठेकदारलाई धमक्याउँदै आएको छ । धमक्यााएर हुन्डीमार्फत पैसा असुली हुन सक्ने भएकाले आफूहरूले हुन्डी कारोबार गर्नेहरूको सूचना संकलन गरी निगरानी थालेको महानगरीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीले बताए । व्यवसायीलाई पनि त्यस्ता समूहलाई पैसा नदिन प्रहरीले आग्रह गरेको छ ।
२३ असोजमा गौचनको गोली हानी हत्या भएको थियो । हत्याको एक घन्टामै जिम्मेवारी लिने समूहले ठूला व्यवसायीलाई धमक्याएर करोड रुपैयाँ माग्दै आएका छन् । प्रहरीले पैसा नदिन व्यवसायीलाई सजग गराएको छ ।
प्रहरीको मौसमी छापा
हुन्डी कारोबारीको सूचना भए पनि प्रहरीले कहिलेकाहीँ मात्र छापा हान्ने गरेको छ । गत वर्ष महानगरीय अपराध महाशाखाले लगातार हुन्डी कारोबारीलाई पक्राउ ग¥यो । तर, त्यसयता महाशाखाले छापा हानेको छैन । गत वर्ष छापा हान्ने क्रममा ट्राभल, मनि ट्रान्सफर तथा सहकारीमार्फत नै हुन्डीको कारोबार हुने गरेको खुलेको थियो ।
गत वर्ष महाशाखाले हुन्डी कारोबारको आरोपमा उदयकुमार शर्मा घिमिरे, अरुणकुमार सावरथिया, शंकरलाली चनानी, आङफुर्वा शेर्पा, राजकुमार श्रेष्ठ, कृृष्णकुमार खतिवडा, समीर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नवीन भट्ट, अर्जुन कँडेल, नीरज ढकाल र डिल्ली बस्तेतलाई पक्राउ गरेको थियो ।
दुई वर्षअघि प्ररहीले सुन्धारा, खिचापोखरी तथा ठमेलका ट्राभल र मनि एक्सचेन्जमा छापा हानेको थियो । खिचापोखरीका शंकरलाल कोठारीबाट १८ लाख ३३ हजारसहित, ठमेलस्थित नर्थ प्वाइन्ट मनि एक्सचेन्जका राजाराम पाण्डे ५९ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।
त्यस्तै, ठहिटीस्थित ओम मनि एक्चेन्जका राकेश वैद्य ३ लाख १९ हजारसहित, खिचापोखरीस्थित किरणकुमार गुरुङ ८८ लाख ३५ हजार रुपैयाँसहित, सुन्धारास्थित देउराली मनि एक्सचेन्जका नवराज गुरुङ, ३६ लाख ५३ हजारसहित सुन्धराकै देउराली ट्राभल्सका जेवाहल हक ७ सय ११ अमेरिकन डलरसहित, न्युरोडका केशरीचन्द कचेरिया १६ लाखसहित पक्राउ परेका थिए । पशुपति सुनचाँदी पसलका नन्दुकुमार मर्गले र मैतोष सेनापती २ लाख ६६ हजारसहित, न्युरोडस्थित कंगारु एक्सप्रेसका रवीन्द्र सुवेदी र पृथ्वीबहादुर रावत ३८ लाखसहित तथा महाबौद्धस्थित न्यु पायल इम्पेक्सकाभिमसेजन शर्मा ४७ लाख रुपैयाँसहित पक्राउ परेका थिए । तर, पछिल्लो एक वर्षदेखि प्रहरीले हुन्डी व्यवसायी पक्राउ परेका छैन ।
अपराध महाशाखाका एसएसपी दिवेश लोहनी हुन्डी कारोबारी प्रहरीको निगरानीमै रहेको बताउँछन् । ‘प्रमाण भएपछि हामीले पक्राउ गर्ने हो, उनीहरूले लुकेर कारोबार गर्छन्,’ एसएसपी लोहनी भन्छन्, ‘पछिल्लो समय बिटक्वाइन कारोबारले पनि हुन्डीलाई विस्थापन गरेको छ भन्ने छ, बिटक्वाइन कारोबारी पनि पक्राउ परिरहेकै छन् ।’
अपराधीलाई सहज
हुन्डीका कारण अपराधीलाई आर्थिक कारोबारमा सहज भएको छ । ठगीदेखि लागुऔषध तथा वन्यजन्तुका अंगका कारोबारको लेनदेन समेत हुन्डीबाट हुने गरेको छ । गत वर्ष पक्राउ परेका दिलबहादुर गुरुङले कोकिन कारोबारका लागि हङकङबाट ८ लाख रुपैयाँ लिएका थिए । उक्त रकमसहित लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो । त्यस्तै, दुई महिनाअघि प्रहरीको विशेष ब्युरोले नक्कली भारतीय रुपैया“का कारोबारीलाई पक्राउ गर्दा उनीहरूले हुन्डीमार्फत पाकिस्तानी गिरोहलाई पैसा पठाउने गरेको खुलेको थियो ।
दुई वर्षअघि बैंककमा तीन नेपाली विद्यार्थी अपहरणमा पर्दा १/१ करोड फिरौती हुन्डीमार्फत मागिएको थियो । एक विद्यार्थीका आफन्तले एक करोड रुपैयाँ हुन्डी व्यवसायी कुञ्ज विहारीलाई दिएका थिए । विहारीलाई एक करोडसहित प्रहरीले पक्राउ गरेको थियो । चिठ्ठा ठगीमा संलग्न गिरोहले पनि हुन्डीमार्फत नै पैसा मगाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ । नेपालमा बढेको सुन तस्करीले पनि हुन्डी कारोबार बढेको छ । तस्करीको सुनको पैसा पनि हुन्डीमार्फत नै विदेशमा जाने गर्छ ।
पसलको आवरणमा हुन्डी चलाउने पक्राउ
सुरज आर्केटमा प्रदीपकुमार अग्रवालको सुरज ओभरसिज नामक अफिस छ । इलेक्ट्रोनिक्स सामानको कारोबार पनि हुन्छ । तर, उनको पैसा कमाउने खास काम भने अर्कै छ । त्यही पसलको आवरणमा उनले हुन्डीको कारोबार गर्दै आएका छन् । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको छ ।
पार्सलका नाममा ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । सिआइबीले पार्सल ठगीमा संलग्न पवन न्यौपाने र सन्तोष बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सो समूहले ठगीको रकम उनै अग्रवालमार्फत भारत पठाउने गरेका थिए ।
विदेशीसमेत संलग्न सो समूहले चार महिनामा एक करोडभन्दा धेरै ठगी गरेको ब्युरोका डिएसपी श्याम ओलियाले बताए । महँगा उपहार पठाइदिएको भन्दै भारतबाट कर रकम पठाउन लगाएर सो समूहले ठगी गरेको थियो । त्यसमध्ये आठ लाख रुपैयाँ अग्रवालले हुन्डीमार्फत भारत पठाइदिएका थिए ।(नयाँ पत्रिका)
प्रतिक्रिया