काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो ।
घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केचसमेत बनाइसकेको छ ।
उच्च प्रहरी स्रोतका अनुसार भारतमा बसी असुली धन्दा चलाइरहेका मनोज पुनको समूहले नै गौचनको हत्या गरेको निष्कर्षमा त प्रहरी पुगेको छ तर त्यसका पर्याप्त आधार भने जुटाइसकेको छैन ।
प्रहरीका अनुसार हत्यामा नाइन एमएमको पेस्तोल प्रयोग भएको थियो । गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथिको गोली प्रहारमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । यस आधारमा पनि प्रहरीले गौचन हत्यामा मनोज पुन समूहको संग्लनता रहेको निष्कर्ष निकालेको हो ।
प्रहरीले गौचनको हत्यामा भाडाका सुटर प्रयोग गरिएको थियो कि पुन समूहकै सदस्य प्रत्यक्ष रूपमा खटिएका थिए भन्ने निक्र्योल गरिसकेको छैन । छानबिन समितिका एक सदस्यका अनुसार प्रहरीले हत्यामा नेपाली सुटरकै प्रयोग भएको भन्ने निष्कर्ष भने निकालिसकेको छ ।
घटनास्थल वरपर कुनै सीसीटीभी क्यामेराको कभरेज नभएपछि प्रहरीलाई अनुसन्धानमा केही अप्ठ्यारो परेको थियो । प्रहरीका अनुसार गोली हानी मोटरसाइकलमा भागेका हत्यारा कात्यायनी चोक हुँदै पिंगलास्थान निस्किएर कपनतिर भागेको हुन सक्ने अनुमान छ ।
प्रहरीले सुटर चढेको भनिएको एक मोटरसाइकल तिलगंगा छेउबाट कपन निस्कने जंगलमा फेला पारेको थियो । बेवारिसे फेला परेको कालो रङको साइन मोटरसाइकल नै सुटरले प्रयोग गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाए पनि त्यसबाट खोजेजस्तो सूचना प्रहरीले पाउन सकेन ।
स्रोतका अनुसार उक्त मोटरसाइकलका धनी को थिए भनेर प्रहरीले यातायात व्यवस्था विभागबाट जानकारी लिने प्रयत्न गरेको थियो तर मोटरसाइकलको नम्बर विभागको ढड्डामा भेटिएन ।
प्रहरीले रातो कालो रङको पल्सर मोटरसाइकल पनि घटनामा प्रयोग भएको निष्कर्ष निकालेको छ तर उक्त मोटरसाइकल न प्रहरीले फेला पारेको छ न त्यसका धनी को थिए भन्ने नै ।
प्रहरीले विशेष टोली बनाएर सुटरका रूपमा पहिचान भएका एक युवाको व्यापक खोजी जारी राखेको छ । स्रोतका अनुसार ती युवा भागेर भारत जान नसकून् भन्नेमा टोलीले विशेष सतर्कता अपनाएको छ ।
उच्च स्रोतका अनुसार ती युवा पक्राउ पर्नेबित्तिकै घटनाको रहस्य खुल्नेमा प्रहरी ढुक्क छ । अनुसन्धान समितिमा संग्लन एक प्रहरी अधिकारीले घटना संगठित आपराधिक समूहले गराएको र घटनाको तार नेपालभित्र मात्रै सीमित नरहेको बताए । (कान्तिपुर दैनिक)
प्रतिक्रिया