देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छठको अन्तिम दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिदै

देशान्तर

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्र्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास समेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ साल देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबिच,राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

यसैगरी,उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको पावन अवसरमा शुभकामना दिदै पवित्र छठ पर्वको माध्यमबाट नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने बताए ।

यस्तै, छठ पर्वको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले छठ प्रेम, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरुको महान चाड भएको बताउँदै देउवाले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गरेका छन् ।