देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाम गठबन्धनका विरुद्ध बागी नै बागी

देशान्तर

काठमाडौं । वाम गठबन्धनका उम्मेदवार विरुद्ध गठबन्धनमा सहभागि पार्टी एमाले र माओवादीबाट जताजतै बागी उम्मेदवार परेको छ । माओवादीकै बागी उम्मेदवार वाम गठबन्धनलाई सबैभन्दा ठूलो झड्का रामेछापमा लागेको छ । प्रतिनिधिसभा र प्रदेश सभाका दुईवटै क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवार खडा भएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा माओवादीका श्यामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनको विरुद्धमा माओवादीकै पूर्वसभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी छिन् । त्यस्तै, प्रदेश सभाका दुईवटा क्षेत्र एमालेको भागमा परेको छ । क्षेत्र नं। १ बाट जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र २ बाट कैलाश ढुंगेल उम्मेदवार बनेका छन् ।

उनीहरूको विरुद्ध पनि माओवादी नेताहरू बागी उम्मेदवार बनेका छन् । क्षेत्र नं। १ मा हेमन्त पौडेल र क्षेत्र नं। २ मा मयनकुमार मोक्तानले उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार उनीहरूलाई माओवादी केन्द्रकै नेता युवराज चौलागाईं, पेमा लामा, रामकुमार लामा, यशु चौलागाईं, नेत्र लामा, खड्ग घिसिङ, रेम थापा, धनदेवी श्रेष्ठलगायतको पनि समर्थन छ ।

मनाङ ः प्रदेश सभा क्षेत्र नं. २ का लागि एमाले मनाङले दीपक मनाङेको नाम सिफारिस गरेको थियो । नेतृत्वबाट पनि मनाङेले टिकटको आश्वासन पाएका थिए । तर, अन्तिम समयमा एमालेले खाण्ड लामा गुरुङलाई उम्मेदवार बनायो । त्यसका विरुद्ध मनाङेले बागी उम्मेदवारी दिएका छन् । पाँच हजार आठ सय ८० मतदाता रहेको मनाङमा मनाङेले थोरै प्रभाव पार्दा पनि नतिजा तलमाथि हुने डर एमालेलाई छ ।

दोलखा ः पशुपति चौलागाईंविरुद्ध पुराना एमाले नेता लालकुमार विद्रोही उम्मेदवार बनेका छन् । प्रदेश सभाको क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट एमाले नेता पशुपति चौलागाईं उम्मेदवार छन् । उनका विरुद्ध एमालेकै पुराना नेता लालकुमार केसीले उम्मेदवारी दिएका छन् । एमालेले टिकट नदिएपछि केसी मालेबाट उम्मेदवार बनेका हुन् । उनी ०५४ मा जिल्ला विकास समितिको सभापति थिए ।

पूर्वरुकुम ः वाम गठबन्धनका तर्फबाट पूर्वीरुकुममा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रकी कमला रोक्का र प्रदेश सभाको क्षेत्र नं. १ बाट माओवादीकै तेजबहादुर ओली उम्मेदवार बनेका छन् । उनीहरू दुवैविरुद्ध माओवादीकै नेताहरू विद्रोही उम्मेदवार बनेका छन् । रोक्काको क्षेत्रमा माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तेजेन्द्र खाममगर र ओलीको क्षेत्रमा पुणीराज घर्तीले उम्मेदवारी दिएका छन् । नेतृत्वले पिछडिएको क्षेत्रलाई उपेक्षा गरेर टिकट वितरण गरेको भन्दै स्थानीय केही माओवादी नेताहरूले पनि विद्रोही उम्मेदवारलाई नै साथ दिएका छन् ।
जाजरकोट र मुगु ः दुई जिल्लाका ६ वटै क्षेत्रमा वाम गठबन्धनका बागी उम्मेदवारी परेको छ । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् । शाहको बागी उम्मेदवारी परेपछि एमालेको भागमा परेको प्रदेश सभामा माओवादीले र माओवादीको भाग परेको क्षेत्रमा एमालेले पनि उम्मेदवारी दिएको छ । त्यस्तै, मुगुमा प्रतिनिधिसभा र प्रदेशका सबै सिट एमालेलाई दिएको भन्दै तीनै क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको छ ।

संखुवासभा ः वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका राजेन्द्र गौतम उम्मेदवार छन् । तर एमालेका डा. गुप्तबहादुर श्रेष्ठ बागी उम्मेदवार छन् ।
म्याग्दी ः प्रदेशसभा क्षेत्र नं. १ बाट एमाले नेताले बागी उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका विनोद केसी उम्मेदवार बनेका छन् । उनीविरुद्ध एमालेका केपी अधिकारीले बागी उम्मेदवारी दिएका छन् ।

हुम्ला ः वाम गठबन्धनविरुद्ध माओवादीका विद्रोही उम्मेदवार बनेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छक्कबहादुर लामाले प्रतिनिधिसभाका वाम गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिमीदोर्जे उम्मेदवार छन् । त्यस्तै, प्रदेशसभाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका लालकेस जैसी वाम गठबन्धनका उम्मेदवार हुन् । उनीविरुद्ध पनि माओवादीकै सुनम ग्याल्जेन लामा विद्रोही उम्मेदवार छन् । नयाँ पत्रिकामा समाचार छ ।