देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषदमा हेरफेर,माओवादीका सबै मन्त्री बिनाविभागीय

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्ना मन्त्री राजीनामा गराउन दबाब दिएका देउवाले उक्त सबै मन्त्रीलाई बिनाविभागीय बनाउँदै जिम्मेवारी हेरफेर गरेका हुन् ।

 

देउवाले माओवादीले सम्हालेका गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास मन्त्रालय आफैंले लिएका छन् । माओवादीले सम्हालेका ऊर्जा मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष कमल थापालाई दिइएको छ ।

 

राप्रपाका चार मन्त्री र चार राज्यमन्त्रीले केही दिनअघिमात्रै शपथ लिएका थिए । माओवादीले सम्हालेको स्वास्थ्य मन्त्रालयमा राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई जिम्मा दिइएको छ । उनी यसअघि विज्ञान तथा प्रविधि मन्त्री थिए ।

 

माओवादीले नै सम्हालेको आपूर्ति मन्त्रालयका जयन्त चन्द, सहरी विकास मन्त्रीमा दिलनाथ गिरी, महिला, बालबालिका तथा समाजकल्याढा मन्त्रीमा विक्रमबहादुर थापालाई लगिएको छ ।

 

माओवादीसँग एकता गरेको नेकपा संयुक्तकी मन्त्री मिथिला चौधरीलाई भने जिम्मेवारीविहीन बनाइएको छैन । राप्रपाका तीन राज्यमन्त्री भाष्कर भद्रालाई ऊर्जा, सुशीलकुमार श्रेष्ठलाई आपूर्ति र कान्ता भट्टराईलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा दिइएको छ ।

 

प्रधानमन्त्रीले निर्वाचन सार्ने तयारी गरेको भन्दै राजीनामा गर्न ठीक्क परेका मन्त्रीहरुले आफ्नो निर्णयबाट पछि हटेका थिए ।