देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित

देशान्तर

काठमाडौँ – अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ । पार्टी एकीककरण गर्न आइतबार आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गरे ।

कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो ।

पार्टी काँग्रेसमा समाहित भएपछि रासससँग कुरा गर्नुहुँदै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताए । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उनले दिए । अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गरेका थियो ।

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सकेका छन् । पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताए ।