काठमाडाैं । मिडिया उद्यमी जमिम शाहलाई लाजिम्पाटमा गोली हानी हत्या गर्दा काठमाडौंको सुरक्षा व्यवस्थामाथि ठूलै चुनौती थपियो । अनुसन्धान गर्दै जाँदा भारतीय अन्डरवल्र्ड अपराधीको संलग्नता खुलेपछि प्रहरी झन् आत्तियो ।
नेपालले सहजै भारतलाई अपराधी बुझाउँदै आए पनि नेपाली पक्षले भारतसँग नाम खुलेका अभियुक्त बुझाइदिन आँट गर्न सकेन । व्यस्त सडकमा शाहलाई गोली प्रहार गरी मोटरसाइकलमा भागेका दुई अभियुक्त पक्राउ गर्न नेपाल प्रहरी निरीह बन्यो । नेपाल प्रहरीकै बहालवाला र पूर्वप्रहरी अधिकृतको मिलेमतोमा ०६४ माघ २४ मा शाहको हत्या सम्भव बनेको तत्कालीन समयमा प्रहरी अनुसन्धानबाटै खुल्यो ।
०६७ फागुन २६ मा केन्द्रीय कारागार सुन्धारामा रहेका युनुस अन्सारीमाथि हत्या प्रयास भयो । भारतीय नागरिक मनमित सिंह भाटियाले प्रहरीकै मिलेमतोमा हतियार लुकाएर लैजान सम्भव भएका थिए । नक्कली भारतीय नोटको तस्करीमा अन्सारीको मिलेमतो रहेको भन्दै उनको ‘सफाया’ गर्न भाटियालाई पैसा दिएर अन्डरवल्र्ड समूहले नेपाल पठाएको थियो । भाटियाले बयानमा अझै केही नेपाली निशानामा रहेको उल्लेख गरेका थिए ।
शाहको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ नपरे पनि अन्सारीको हत्या प्रयास गर्ने अभियुक्तलाई घटनास्थलमै पक्राउ गर्दा प्रहरी दंग पर्यो । सुरक्षा घेरामा रहेको कारागारभित्र हत्या प्रयासका अभियुक्त पक्राउ नगरेको भए प्रहरी झन् लज्जित मात्रै नभएर मुलुकको सुरक्षा संयन्त्र उदांगिन्थ्यो । शाहका समर्थक र सर्वसाधारणले उनको हत्या बिर्सिसकेको अवस्था र अन्सारी हत्या प्रयासका अभियुक्त पक्राउ परेपछि ढुक्कसँग बसेको प्रहरीमाथि अर्को घटना आइलाग्यो ०६८ असोज ९ गते ।
इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको गोली प्रहार गरी हत्या गरियो घन्टाघरअगाडि । घटनास्थल महानगरीय प्रहरी कार्यालयसँगै थियो । तैपनि, प्रहरीले गोली प्रहार गर्ने अभियुक्त पक्राउ गर्न सकेन । भारतीय अन्डरवल्र्ड अपराधी छोटा राजन समूहको निर्देशनमा बब्बु भनिने त्रिलोकविक्रम सिंहको निर्देशनमा आदित्य पल र फहद आलमले काठमाडौं आई फैजानलाई गोली हानेर फरार भएका थिए ।
प्रहरीले उक्त घटनामा ट्याक्सी चालकलाई मात्रै पक्राउ गर्न सफल भएको थियो ।
यो घटनापछि काठमाडौंको सुरक्षा व्यवस्थाप्रति ठूलो आलोचना भयो अन्तर्राष्ट्रियस्तरमा । ०६९ जेठ १८ मा अर्को ‘हाईप्रोफाइल’ हत्याकाण्ड भयो सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको । यो घटनामा भने विदेशी आपराधिक समूहको संलग्नता नभएर स्वदेशकै अपराधीको संलग्नता थियो ।
प्रहरीले लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्यो । हतियारसहितका बडीगार्ड लिएर हिँडेका बममाथि खुला च्यालेन्ज गर्दै अपराधीले गोली प्रहार गरेका थिए ।
यी चार वटा घटनापछि सोमबार शान्तिनगरमा अर्को हाईप्रोफाइल मर्डर भयो । दसैं, तिहार र छठको एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी परिचालन भएको जान्दाजान्दै पनि अपराधीले प्रहरीलाई खुला च्यालेन्ज गर्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेर फरार भए । प्रहरीले घटना घटेको २४ घन्टा बित्दा पनि घटना कसले गराएको हो भन्ने आधिकारिक धारणा बाहिर ल्याउन सकेको छैन । अनुसन्धानका नाममा दुईवटा छुट्टाछुट्टै छानबिन समिति मात्रै बनाएको छ ।
एकपछि अर्को हत्याकाण्ड मच्चिरहँदा राजधानीको सुरक्षा अवस्था यति कमजोर किन भयो ? प्रहरी परिचालनमा के–कस्तो कमजोरी भयो ? प्रदेश र संघको चुनावको मुखमै सर्वसाधारण आतंकित हुने गरी गराइएको यो आततायी घटनाले मुलुकको शान्ति–सुरक्षा कुन तहमा छ भन्ने छर्लंग पारेको छ । नेपाल प्रहरीका एक पूर्व आईजीपी भन्छन्, ‘काठमाडौंको शान्ति–सुरक्षा कस्तो हुने भन्नेबारे प्रहरीको नेतृत्वमा पनि भरपर्छ ।’आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया