इलाम । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस इलामले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ बेनुपराज प्रसार्इं, भूपेन्द्र कट्टेल, भेषराज आचार्य, केशव थापा, मोहन श्रेष्ठ, विक्रम पाण्डे र हिमालय कर्मचार्यको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ केशव थापा, भेषराज आचार्य, बेनुपराज प्रसाईं र निर्मला प्रसाईंको नाम केन्द्रीय कार्य समितिमा सिफारिस गरेर पठाइसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले जानकारी दिए ।
यसैगरी प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २० जना आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको छ । जसअनुसार, क्षेत्र नं १ को ‘क’ मा हुकुमलाल थेबे, मिलन क्षेत्री, अनिता श्रेष्ठ, धनबहादुर खाम्दाक र विक्रम पाण्डे तथा क्षेत्र नं १ को ‘ख’ मा दुर्गाकुमार बराल, लक्ष्मीकान्त घिमिरे, हेमकुमार (विष्णु) कार्की, कमला कट्टेल, प्रमोद राई र लालबहादुर बस्नेतको नाम केन्द्रीय समितिमा पठाएको सो पार्टीले जनाएको छ ।
त्यस्तै क्षेत्र नं २ को ‘क’ मा डम्बर खड्का, केदार थापा, गोविन्द गिरी, राजेन्द्र शर्मा र पूर्ण गौतम तथा क्षेत्र नं २ को ‘ख’ मा खगेन्द्र देवान, नगेन्द्र कुमाल, यामकुमार बुढाथोकी र चूडामणि पौडेलको नाम केन्द्रीय समितिमा पठाइएको पार्टीका जिल्ला सचिव देवानले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ५२ जनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रतिनिधिसभा सदस्यका लागि १३ र प्रदेशसभा सदस्यका लागि ३९ जना आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया