काठमाडौं । हाम्रो मुलुकमा पोषणको उपयुक्त जानकारी अभावले गर्दासमेत गरिब मात्र नभएर हुनेखाने वर्गका बालबालिकामा समेत पोषणको कमी हुने गरेको छ ।
जन्मदेखि दुई वर्षसम्मका बालबालिकालाई उपयुक्त पोषणको अत्यधिक खाँचो हुन्छ । तर, अभिभावकमा आर्थिक मात्र नभई जानकारी अभाव, गलत बानीव्यहोरा र धारणा आदिका कारण उनीहरूले उचित र आवश्यक पोषक तत्त्वयुक्त खानपान पाइरहेका छैनन् । उसो त, दुई वर्ष पछिदेखि पाँच वर्ष मात्र नभएर कुनै पनि व्यक्तिलाई बाँचुन्जेल उपयुक्त पोषणयुक्त आहारको आवश्यकता हुन्छ ।
खाना वा स्याहारको कमीले बालबालिका कमजोर हुँदै जानुका साथै उनीहरूको उचाइमा उचित वृद्घि नहुनुलाई सामान्य भाषामा कुपोषण भनिन्छ । कुपोषणले गर्दा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुनुका साथै उनीहरूमा अपेक्षित रूपमा शारीरिक–मानसिक विकाससमेत हुन पाउँदैन ।
‘गरिबसँग खुवाउने वस्तुको अभाव छ,’ वरिष्ठ बाल रोग विशेषज्ञ डा। आरपी बिच्छा भन्छन्, ‘हुनेखानेहरूसँग पनि खानपानबारे सतही ज्ञान मात्रै छ । गलत आहारविहारले गर्दा धनी र गरिब दुवै वर्गका बालबालिकामा कुपोषण पाइने गरेको छ ।’
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार, शिशुको जीवनको पहिला दुई वर्ष स्वस्थकर विकासका लागि अधिकतम पोषणको आवश्यकता पर्छ । यसले पछि बढी तौलको हुने खतरा टार्छ, भविष्यमा नसर्ने रोग हुने जोखिमसमेत कम गर्छ ।
शिशुलाई जन्मको आधा घण्टाभित्र नै बिगौती दूध खुवाउनुपर्ने भए पनि कतैकतै यो अझै फ्याँकिने गरिएको औंल्याउँदै डा। बिच्छा भन्छन्, ‘यो अमृत हो । यसले धेरै रोगविरुद्घ लड्न सघाउने कुराको खासै जानकारी छैन ।’
यस्तै, जन्मदेखि ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक न पानी न त अन्य कुनै तरल पदार्थ खान दिनुहुन्न भन्ने वैज्ञानिक मान्यता हाम्रो समाजमा अझै नमान्ने गरिएकाले कुपोषणको अवस्था बलियो हँुदै गएको छ । शिशुको उमेर ६ महिना हुनुभन्दा अघिदेखि नै ठोस आहार खुवाउँदा कुपोषण निम्तिने गरेको औंल्याउँदै बाल रोग विशेषज्ञ डा। सिर्जना बस्नेत भन्छिन्, ‘६ महिना उमेर पुगेपछि मात्र स्तनपान गराउनुपर्छ । दिनमा तीन पटकसम्म ठोस आहार दिनुपर्छ ।’
यस्तै, एक वर्षपछि दिनहुँ तीनचोटि मुख्य आहार र दुईचोटि खाजा गरी पाँचपटक खुवाउनुपर्छ । यस्तो खाना अढाइ सय मिलिलिटरको कचौरामा हुनुपर्छ । शिशु ६ महिनाको भएपछि दुई वर्षसम्म ठोस आहारसँगै स्तनपानसमेत गराइनुपर्छ ।
बालबालिकालाई दिइने खाना बढी पातलो नभएर बाक्लो हुनुपर्ने सुझाउँदै डा। बस्नेत भन्छिन्, ‘यस्तो ठोस आहार चम्चाबाट सजिलै नखस्ने खालको हुनुपर्छ ।’
सहरबजारतिर बालबालिका छ–सात वर्षका भए पनि खाना आमाहरूले नै खेलाई खेलाई खुवाउने गरेका छन् । यसले समेत कुपोषण निम्तिने गरेको छ । डा। बस्नेतका अनुसार, बालबालिकालाई ९ महिनाको उमेरदेखि आफ्नै हातले खान दिनुपर्छ । ‘सुरुमा बच्चा आफैँ नखाने, पोखाउने गर्लान्, तर उसलाई आफैं खान दिनु नै राम्रो हुन्छ । अझ परिवारका सबै बसेर खाने बेलामा बालबालिकालाई समेत सँगै बसाएर खुवाउन सिकाउनुपर्छ ।’
कुपोषण मुख्य रूपमा पाँच वर्षमुनिका बालबालिकामा बढी हुने भएकोले यो उमेर समूहमा पोषणको स्थितिबारे विशेष चनाखो हुनु आवश्यक मानिन्छ । यति मात्र नभई, हाल सहर मात्र नभई ग्रामीण क्षेत्रमा समेत चाउचाउ, चिजबल जस्ता फास्टफुडको स्वाद बालबालिकाको जिब्रोमा बस्ने गरेको छ । त्यसैले उनीहरू पोसिलो खानेकुराबाट परपर भाग्ने गर्छन् । त्यस्तै, चकलेटले तुरुन्त शक्ति उत्पन्न गर्ने भएकोले त्यो खाएपछि उनीहरू अन्य पोषक खानेकुरा खान मान्दैनन् ।
चाउचाउ, चिजबल लगायतका फास्टफुडमा हालिएको अजिनोमोटो बालबालिकाको भोक घटाउँदै लान्छ । डा। बस्नेतका अनुसार, यस्ता रसायन क्यान्सर उत्पन्न गर्ने खालका पनि हुन्छन् ।
बालबालिकालाई कुनै कारणले संक्रमण, झाडापखाला, निमोनिया हुँदा पनि कुपोषणले सताउँछ । त्यसैले उनीहरूलाई आवश्यक सबै खोप लगाउनुपर्छ । यसो नगरे भविष्यमा कुपोषण र संक्रमणको चक्र चलिरहन्छ भन्दै डा। बिच्छा थप्छन्, ‘कुनै पनि संक्रमण भए तुरुन्त उपचार गराउनुस् । यसो भए बालबालिकालाई कुपोषण हुन पाउँदैन ।’
सामान्य र मध्यम कुपोषणलाई समयमै पत्ता लगाउँदा ९० प्रतिशत कुपोषण रोक्न सकिने जनाउँदै डा। बिच्छा भन्छन्, ‘बालबालिकालाई कडा कुपोषण भए उनीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन गाह्रो हुन्छ ।’
व्यवहार परिवर्तन आवश्यक
हाम्रो समाजमा ९० प्रतिशतजति कुपोषण स्थानीय रूपमा सहजै उपलब्ध रहेका खाद्यपदार्थका माध्यमले हटाउन सकिने डा। बिच्छा बताउँछन् । दाल, भात र तरकारी हामी सबै खाने गर्छौं । यसैको जाउलो बनाएर बालबालिकालाई दिनहुँ चार–पाँच पटक मात्र दिए पनि शरीरमा धेरै ऊर्जा प्राप्त हुन्छ । यसो गर्दा धेरै हदसम्म कुपोषण हुन पाउँदैन । एउटा केरा मुछेर एक वर्षका बालबालिकालाई खुवाउँदासमेत पर्याप्त पोषकतत्त्व पाइन्छ । आलु उसिनेर मुछेर दिँदा पनि उनीहरूले पोषण पाउँछन् ।
६ महिनाका बालबालिकालाई घरमै बनाएको लिटो गाईभैंसीको दूधमा मिलाई खुवाउनुपर्छ । दाल, भात, सागसब्जी, तेल, घिउ, अन्डा वा मासुका ससाना चोक्टा हालेर जाउलो बनाएर पनि खुवाउन सकिन्छ । घरमा उपलब्ध खाद्य सामग्रीले पनि बालबालिकाका लागि पोसिलो जाउलो बनाउन सकिने उल्लेख गर्दै पोषणविद् राजकुमार पोखरेल भन्छन्, ‘जाउलो बनाउँदा दाल र चामल मात्र नहाल्नुस् । सागको पात चुँडेर, घिउ वा तेल, अन्डा, तरकारी लगायत जेजे उपलब्ध छन्, सबै हाल्नुपर्छ ।’
दुईरतीन वर्षसम्म आमाको दूधसँगै अन्य पूरक आहारहरू दिँदा बालबालिका पूर्ण र स्वस्थ रहन्छन् । खान नमान्ने बालबालिकाको हकमा भने विभिन्न फलफूल, पौष्टिक खाद्यपदार्थ दिनुपर्छ । बालबालिका जुन पौष्टिक कुरा खान रुचाउँछन्, त्यसैलाई सकेसम्म मात्रा मिलाएर दिने गर्नुपर्छ ।
बालबालिकालाई ‘हरेक बार खाना चार’ को नाराअनुसार खान दिनुपर्छ । उनीहरूलाई दिने पूरक आहारमा चार प्रकारका खाना दिनुपर्छ । जस्तो स् कार्बोहाइड्रेट समूहका अन्न, आलु, कन्दमूल आदि, प्रोटिन समूहका दाल, गेडागुडी आदि, फलफूल, सागसब्जी समूहका मौसमी फलफूल, हरियो सागपात, तरकारी, माछा, मासु, अन्डा, कलेजो, दूध र दूधका परिकार ।
तौल
सबैजसो शिशुको तौल जन्मको तीनरचार दिनसम्म कमै हुन्छ । उनीहरू सात वा दस दिन पुगेपछि तौल हासिल गर्न थाल्छन् । पहिलो तीन महिनामा उनीहरूको तौल २५ देखि ३० ग्राम प्रतिदिन बढ्छ र पछि यसमा कमी आउँछ । सामान्य रूपमा शिशु पाँच महिना हुँदा तौल दुई गुना र एक वर्षमा तेब्बर हुने गर्छ । जन्मँदा कम तौल भएको शिशु भने यसमा अपवाद हुन्छ । नेपालमा सरदर स्वस्थ आमाका स्वस्थ सन्तानहरू करिब अढाइ किलोका हुन्छन् ।
बालबालिकाको तौल उनीहरूको उचाइमा समेत निर्भर हुन्छ । लम्बाइको अनुपातमा तौल कम हुनु भनेको कुपोषणको लक्षण हो ।
लम्बाइ
बालबालिकाको लम्बाइले उनीहरूको वृद्घिलाई दर्साउँछ । नवजात शिशुको लम्बाइ करिब ५० सेन्टिमिटर हुन्छ । पहिलो वर्ष यसमा २५ सेन्टिमिटरको वृद्घि हुन्छ । अर्को वर्ष १२ र तेस्रो, चौथो एवं पाँचौं वर्ष क्रमशस् नौ, सात र छ सेन्टिमिटर बढ्ने गर्छ ।
टाउको र छातीको व्यास जन्मँदा शिशुको टाउकाको व्यास करिब ३४ सेन्टिमिटर हुन्छ । ६ देखि नौ महिनापछि छातीको व्यास बढ्छ र त्यो टाउकाको व्यासभन्दा बढी हुन्छ ।
बालबालिका कुपोषित भएको खण्डमा भने छातीको व्यास तीनरचार वर्षसम्म टाउकाको व्यासभन्दा बढी हुँदैन । (कान्तिपुर दैनिक)
प्रतिक्रिया