देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज महानवमी पर्व, सिद्धिदात्रीको पूजाआराधना गरिदै

देशान्तर

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ । भारत हिमाचलको नन्दा पर्वतमा सिद्धिदात्रीको प्रसिद्ध तीर्थस्थल पनि छ ।

दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ । चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ । भगवान श्रीरामले रावणको बध गर्ने शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको रामायणमा वणिर्त छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।