काठमाडौं । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका प्रमुख तीन अंग हुन् । राज्य सञ्चालनका लागि यी तीनै निकायबीचको शक्ति सन्तुलनलाई निकै महत्वपूर्ण रुपमा मानिने गरिएको छ । र, राज्य संचालनका लागि यी तीनै निकायको समन्वयात्मक भूमिका पनि आवश्यक हुन्छ ।
पछिल्लो पटक यस्तो संयोग जुरेको छ कि यी तीनओटै निकायका प्रमुख एकै पटक विदेश भ्रमणका लागि समन्वय देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका छन् । यसअघि नै सोमबार प्रधानन्यायाधीश गोपाल पराजुली एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन जापान पुगेका छन् । प्रधानन्यायाधीशहरुको १७ औँं सम्मेलनमा भाग लिन उनी केही न्यायाधीशहरुलाई लिएर जापान गएका हुन् ।
यसैगरी व्यवस्थापिका संसदका प्रमुख सभामुख ओनसर्री घर्ती कुनमिङमा आयोजित ‘वान बेल्ट वान रोड’ सम्बन्धी एक कार्यक्रममा भाग लिन आज चीन जान लागेकी छन् । यसरी राज्य सञ्चालनका प्रमुख तीन ओटै अंगका प्रमुख एकै पटक विदेश भ्रमणमा जाँदा देशमा कुनै राष्ट्रिय विपत्ती आए के गर्ने र कसरी निर्णय लिने भन्ने विषयमा भने सोचिएको देखिँदैन । यस्ता विषयमा तीनै अंग सचेत हुनु पर्ने जानकारहरू बताउँछन् ।
प्रतिक्रिया