काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारका आकांक्षीको नाम सिफारिस जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेसको कार्य सम्पादन समितिले असोज तेस्रो साताभित्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारका आकांक्षीको नाम सिफारिश गर्न स्थानीय समितिलाई निर्देशन दिएको हो ।
बैठकले देशैभरीका गाउँ र नगर कार्य समितिलाई असोज १० गतेभित्रै उमेदवारका आकांक्षीको नाम क्षेत्रीय कार्य समितिलाई सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ र नगर कार्य समितिले गरेको सिफारिसअनुसार क्षेत्रिय समितिले असोज १३ गतेभित्र जिल्ला कार्य समितिलाई आकांक्षीको नाम पठाउनुपर्नेछ ।
बैठकले असोज १७ गतेभित्र क्षेत्रबाट सिफारिस भएका उमेदवारका नाममध्येबाट उपयुक्त उम्मेदवारको नाम रायसहित नाम केन्द्रमा पठाउन भनेको छ । बैठकले जिल्लाबाट आकांक्षीको नाम सिफारिस गर्दा प्रत्येक क्षेत्रबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिश गर्नुपर्ने निर्णय गरेको छ । मुख्य सचिव पौडेलका अनुसार जिल्ला कार्य समितिले हरेक क्षेत्रबाट तीन जना प्रदेश सभाका लागि र तीन जना प्रतिनिधि सभा निर्वाचनका सिफारिस गर्नुपर्नेछ ।
देशैभरीका जिल्लाबाट असोज १७ गते भित्र उमेदवारका आकांक्षीको नाम सिफारिस भएपछि असोज १८ गतेबाट उमेदवारको टुंगो लगाउने काम सुरु गर्ने बताइएको छ । गत भदौ १४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो । सरकारले पहिलो चरण अन्तरगत मंसिर १० र दोस्रो चरण अन्तरगत मंसिर २१ गते चुनाव गर्ने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ७ गतेभित्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराई सक्नुपर्नेछ ।
प्रतिक्रिया