देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृत्यूदण्ड ठीक कि जीवनभर जेल ?

देशान्तर

-रुपबहादुर विश्वकर्मा,

जीवनको अर्थ जीवित रहनु मात्र पक्कै होइन । सास फेर्न सक्नु मात्र बाँच्नुको उद्देश्य हुन सक्दैन । जीवन, जीवन जस्तै लाग्नुपर्छ अनि मात्र त्यो जिउन लायकको हुन्छ । तर दुर्भाग्य ! कहिलेकाहिं कतिपयको जीवन, समय र परिस्थितिले ‘उत्सव’ होइन ‘विस्मत’को विषय बनाइदिन्छ । जतिबेला मान्छेलाई आफ्नो जीवन र्न अर्थहिन लाग्छ, अनि उसलाई बाँच्नुभन्दा मर्नु जाती लाग्छ । यसैकारण मान्छे आत्महत्या गर्न पुग्छ ।
मान्छे त्यतिबेला मात्र आफैले आफूलाई मार्ने निर्णयमा पुग्छ, जतिबेला उसले यो संसारमा बाँच्नुको कुनै अर्थ देख्दैन । अर्थात् बाँच्नु नै उसका लागि अभिशाप हुन्छ । यसो भनेर मैले ‘आत्महत्या’ जस्तो आत्मघाती ‘अपराध’ लाई प्रोत्साहन गर्न खोजेको पटक्कै होइन । बरु के प्रष्ट पार्न बल गरेको हुँ भने मान्छे पशुजस्तो पेट भर्न र सास फेर्नका निम्ति मात्र बाँच्न सक्ने प्राणी होइन ।
यसैकारण अहिले नेपालमा पनि ‘इच्छा–मृत्यू’ को बहस प्रारम्भ भएको छ । यदि कुनै व्यक्ति बाँच्नुको पीडा खप्न नसकेर स्वेच्छाले मृत्यूवरण गर्न चाहन्छ भने उसलाई राज्यले अनुमति दिनु ठीक कि बेठीक भन्ने विषयको बहस । सायद यो बहसका विषयमा सर्वाेच्च अदालत सोच्दैछ । बाहिरी वातावरणमा स्वतन्त्र जीवन जिउने क्रममा त कतिपय मान्छे जीवनप्रति निराश हँुदै आत्महत्या गर्ने अवस्थामा पुग्छन् भने झन् जेलभित्र पिँजडाको सुगाजस्तो कैदी जीवन जिउनुपर्दा उसमा यस्तो आत्मघाती विचार कति आउँदो हो ? सहजै अनुमान गर्न सकिन्छ ।
एक भुक्तभोगी भन्छन, ‘सायद यसैकारण होला, कारागारभित्र तिखोमा सियोदेखि डोरीमा जुत्ताको तुनासम्म लान नपाइने गरी कडा सुरक्षा अपनाइएको हुन्छ ।’ यति गर्दागर्दै पनि कारागारभित्र कतिपय कैदीले आत्महत्या गर्ने गरेका छन् । उनका अनुसार जेल पर्नेलाई थाहा हुन्छ, कैदी बनेर बाँच्न कति कठिन हुन्छ, सयम बिताउन कति गाह्रो हुन्छ ? घण्टा दिनजस्तो, दिन महिनाजस्तो अनि महिना वर्षजस्तो लामो लाग्छ । यस्तो अप्रिय अनुभूतिमा २०सौँ वर्ष जेल बस्नुपर्नेलाई जिन्दगी कति ‘बोर’ लाग्दो हो ? ती भुक्तभोगी भन्छन्, ‘आत्मबल कमजोर भएकाहरुले त जेलबाट निस्कुञ्जेलसम्म आफूलाई ‘सद्दे’ नै राख्न मुश्किल नै हुन्छ ।’
अहिलेसम्मको ऐन अनुसार त नेपालमा ‘जन्मकैद’ कै सजाय भएपनि २० वर्षभन्दा बढी जेल बस्नु नपर्ने नियम छ । अझ कतिपय कर्तव्य ज्यानकै मुद्दामा समेत त्यसमा पनि ६० प्रतिशत माफी–मिनाह दिएर ४० प्रतिशत अवधि पूरा गरेपछि कैदमुक्त गरिदिने प्रावधान पनि छ । जसका कारण जन्मकैद तोकिएकाहरुले समेत निश्चित अवधिको जेल जीवन पश्चात् बाँकी बसेको उमेर बाहिर बिताउने आशाले ऊ बाँचिरहेको हुन्छ सायद । यदि जन्मकैदको अर्थ जीवनभर नै जेल बस्नुपर्ने भयो भने चाहिं त्यो मान्छेको मनस्थिति कस्तो हुँदो हो ? कल्पना गर्न पनि कठिन लाग्छ । यद्यपि विश्वका कतिपय मुलुकमा यस्तो कानून नभएका भने होइनन् ।
तर अब यस्तो कानून हाम्रै मुलुकमा पनि चाँडै आउँदैछ । हो, मुलुकी ऐन प्रतिस्थापन गर्ने ७ विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक व्यवस्थापिका संसदले गत साउन २६ गते पारित गरेको छ । जसले अदालतबाट आजीवन कारावासको सजाय पाएका कसुरदारले २० वर्षभन्दा बढी जेल बस्नु नपर्ने कानुनी प्रावधानमा संशोधन गर्दै ६ प्रकारका जघन्य अपराधमा संलग्नले अब बाँचुन्जेल उन्मुक्ति नपाउने प्रावधान राखेको छ ।
क्रुर यातना दिई निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण वा विस्फोट गरी ज्यान मारेको, अपहरण वा शरीर बन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको, जबर्जस्ती करणी गरी ज्यान मारेको जस्ता अपराधमा जन्मकैदको सजाय पाएको कसुरदारले अब जीवित रहेसम्म कैदमा बस्नुपर्छ ।
यसलाई कानूनवेत्ताहरुले नेपालको परम्परागत न्याय प्रणालीमा आमूल परिवर्तन गरी वैज्ञानिक बनाउन खोजेको बताएका छन् । तर यो खबर सुनाउँदा कतिपय भुक्तभोगीहरुले भने मसँग यसो भने, ‘जब पूरा जीवन नै जेलमा बिताउनुपर्छ भने बाँचिरहनुको के अर्थ ? त्यस्तोमा बरु मृत्यूदण्डकै व्यवस्था हुनु बेस ।’ छिमेकी मुलुक भारतसहित विश्वका कतिपय मुलुकमा यस्तो व्यवस्था नभएको पनि होइनन् । तर हाम्रो नेपालमा भने जस्तै जघन्य अपराध गरेपनि फाँसीको सजाय दिने व्यवस्था छैन । सायद नेपाल मानवअधिकारवादी भएर होला ।
जेल अर्थात् कारागारलाई सुधारगृह पनि भन्ने गरिन्छ । जहाँ जान अन्जानमा गल्ती (अपराध) गरेकाहरुले प्रायश्चित गरुन् र आफूलाई सुधारेर बाँकी जीवन राम्रो काम गरेर व्यतित गरुन् भन्ने अपेक्षा राज्यले राखेको हुन्छ । तर जब जिन्दगीभर नै जेलभित्र बस्नुपर्छ भने तिनलाई त्यसरी जिउँदो लाश बनाएर बाँच्न बाध्य पार्नुको के अर्थ ? एकातिर जेल बस्नुपर्ने व्यक्ति स्वयंलाई पनि अर्थ र उद्देश्यविहिन जीवनको भार, अर्कातिर राज्यलाई पनि अनुत्पादक नागरिक पाल्नुको भार ! ती भुक्तभोगीहरु भन्छन्, ‘त्यो भन्दा बरु मृत्यूदण्डकै व्यवस्था गरे मान्छेले अपराध पनि कम गर्थे कि ?’
‘जीवनभर जेलमा कोचेर केवल मृत्यू कुर्नका निम्ति मान्छेलाई बाँच्न विवश बनाउनु कसरी वैज्ञानिक हुन्छ ? अनि यो कस्तो मानवअधिकार हो ?,’ उनीहरु प्रश्न गर्छन् ।