बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले एमाले पाटी मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे।
पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन नसक्ने भन्दै एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नु पर्ने बताए । सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउदै काँग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे। दुई नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दाबी पनि उनले गरे।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत् यादव, थिरबम मल्ल, रामनारायण मिश्र जस्तो योद्धा जन्मेको र काँग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उहाँहरुले देखेको सपना काँग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता गरे।
स्थानीय तहको निर्वाचनपछि संविधान कार्यन्वयनमा टेवा पुग्ने तथा प्रदेश र संसदको चुनावपछि मधेसमा विकासको क्रान्ति ल्याउने बताउदै उनले अगामी प्रदेश र संसदको चुनावमा काँग्रेसलाई दुई तिहाइ मतबाट विजयी गराउन सबैलाई आग्रह गरे।
प्रतिक्रिया