सप्तरी । मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन शुक्रबार आयोजित छलफलमा सहभागी निर्वाचन अधिकृतहरुलाई उनले यो निर्वाचनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम तथा अन्य निकायले विशेष चासो दिएकाले सूचना प्रबाह छिटोछरितो र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान अधिकृतसमेत खटिसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले निर्वाचनका लागि पूर्णरूपमा सुरक्षा व्यवस्था मिलाइएको छ बताए ।
निर्वाचन आयोगबाट अनुगमनमा खटिएका सहचिवद्वय सञ्जीवराज रेग्मी र छबिन्द्र पराजुलीले निर्वाचन आचारसहिता पालना गर्न गराउन र मतदाता, मतपेटिका तथा मतदान केन्द्रको सुरक्षामा ध्यान केन्द्रित गर्न जोड दिए । सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ वटा स्थानीय निकायमा यही असोज २ गते निर्वाचन हुने भएको छ ।
प्रतिक्रिया