देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज राति १२ बजेबाट ‘मौन अवधि’ सुरू हुँदै

देशान्तर

काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘मौन अवधि’ शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था भए अनुसार आजराति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

मौन अवधि सुरु भएपछि दल तथा उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिहृन तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिहृन अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

निर्वाचन आयोगले एस.एम.एस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मतमाग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ । मौन अवधि सञ्चारमाध्यमहरु समेत सचेत हुनुपर्नेछ । यो अवधिमा सञ्चारमाध्यमहरुले उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशत प्रसारण गर्न नपाउने आयोगको सूचनामा उल्लेख छ ।

स्थानीय तहको पहिलो र दोस्रो चरणमा गरी ६ प्रदेशमा यसअघि नै निर्वाचन भइसकेको छ । राष्ट्रिय जनता पार्टी (राजपा)लाई निर्वाचनमा ल्याउनका लागि प्रदेश २ को निर्वाचन भने यसअघि सारिएको थियो । असोज २ गते त्यहाँ हुन लागेको निर्वाचनमा यसअघि निर्वाचनमा भाग नलिएका राजपासहित सबै दल सहभागी हुँदैछन् ।