देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोटीका ग्रामीण सडक सञ्चालन नहुँदा स्थानीय मारमा

देशान्तर

डोटी । डोटीमा रहेका धेरै जस्तो ग्रामीण सडक सञ्चालन नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन् । डोटीका राजपुर गड्सेरा, बिपिनगर बागछेडा, दिपायल चवरा चौतारा, शान्तिनगर नारी दाङ, कपल्लेकी नापानी लगायतका दर्जनौं ग्रामीण सडक अवरुद्ध भएको महीनौं दिन पुग्दासमेत सञ्चालन नहुँदा स्थानीय बासिन्द समस्यामा परेका हुन् ।

असारको पहिलो हप्तदेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडकहरु सञ्चालन नहुँदा स्थानीय बासिन्दले सामान ढुवानी गर्न भरिया प्रयोग गर्नु परेको छ । ग्रामीण सडक सञ्चालन नहुँदा गाडी पुग्ने यहाँका विभिन्न ठाउँमा लामो समयदेखि पैदल यात्रा गर्नु परेको केआईसिंह गाउँपालिकाका स्थानीय दिपक जोशीले बताए ।

जिल्लाका दिपायल मौवा, समुहगाढ कपल्लेकी, राजपुर तिखात्तर, पचनाली धुर्कोट लगायतका ग्रामीण सडकहरु सञ्चालन भए पनि पहीरो राम्रोसँग नपन्छाउँदा ग्रामीण सडकमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्याता रहेको स्थानीय बासिन्दा बताउँछन् । सडक सञ्चालन गर्नमा सरोकारवाला निकायले खासै चासो नदिएका कारण समस्या उत्पन्न भएको स्थानिय बासिन्दाको आरोप छ ।

दशैँ तिहार नजिकिँदै गर्दा पनि डोटी जिल्लाका धेरै जस्तो ग्रामीण सडकहरु सञ्चालन हुन नसक्दा स्थानिय बासिन्दा आक्रोशित छन् । उता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका डिभिजन प्रमुख रुपकराज भण्डारीले ग्रामीण सडक खोल्ने तथा सुरु गर्ने जिम्मा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भएको बताए ।

उनले भने ‘हामीसँग ग्रामीण सडक खोल्ने बजेट छैन, राजमार्ग सुरु गर्ने जिम्मा दिएको छ, राजमार्ग बन्द भए तत्कालै खोल्ने छौँ, गाउँका सडक खोल्ने जिम्मा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको हो ।’