काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघीय महासभालाई असोज ७ गते सम्वोधन गर्ने भएका छन् ।
उनले महासभामा नेपालको पछिल्लो राजनीतिक अवस्था, विश्व शान्तिमा नेपालमा र्पुयाएको योगदान लगायतका विषयमा बोल्ने छन् । महासभामा १ सय ९३ मुलुकका प्रतिनिधिको उपस्थिति हुनेछ ।
यसको एक दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रीभोजमा देउवा सहभागी हुनेछन् । अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) अन्तरगत सबैभन्दा ठूलो सहयोग घोषणा गरेलगत्तैको अवस्थामा यो भेट अर्थपूर्ण हुने अधिकारीहरुले बताए ।
प्रधानमन्त्री देउवासँग साइडलाइनमा अमेरिकी विदेशमन्त्री र उपविदेशमन्त्रीहरुले भेट्ने कार्यक्रम बनिरहेको समेत अधिकारीहरुले बताए ।
महासभामा प्रधानमन्त्रीले दक्षिण एसियाका नेताहरुसँग भेटवार्ता गर्नेछन् । उनी १५ सदश्यीय नेपाली टोलीको नेतृत्व गर्दै अगामी असोज ३ मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
टोलीमा प्रधानमन्त्रीको तर्फबाट ९ जना (तीन सरकारी संचारमाध्यमका पत्रकारसहित) र परराष्ट्र मन्त्रालयको तर्फबाट ६ जना छ । प्रधानमन्त्री भएपछि उनको यो दोस्रो विदेश भ्रमण हो । पहिलो भ्रमणका रुपमा उनी भारत गएका थिए ।
नेपाल यसपटक अन्तर्रा्ष्ट्रिय मानव अधिकार परिषद्मा उम्मेदवार भएकाले पनि उनको भ्रमणलाई परराष्ट्र मन्त्रालयले जोड दिएको थियो । दुई वर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता भएको छैन ।
महासभामा उनले दुई दशकपछि भएको स्थानीय निर्वाचन र मंसिरमा हुन लागेका दुई तहका चुनाव बारे जानकारी दिनेछन् ।
उनले राष्ट्रसंघको साइडलाइनमा अमेरिकी बाहेक अन्य उच्चस्तरीय राजनीतिज्ञहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भइरहेको न्यूयोर्क्स्थित नेपाली नियोगले जनाएको छ ।
प्रधानमन्त्री देउवाका साथमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि रहनेछन् । महरा सोमबार नै चीनको छ दिने भ्रमण सकेर फर्केका छन । राष्ट्रसंघको ७२ औं महासभामा यसपटक पनि सधैंझैं मानव अधिकार, शरणार्थी मामिला, दिगो विकास लक्ष्य, भूपरिवेष्टित र अतिकम विकसित मुलुक, शान्ति निर्माण कोष, पुरातात्त्विक संरचनाको संरक्षण, क्षेत्रीय शान्ति र क्षेत्रीय संगठनको उपस्थितिलगायत दर्जन बढी विषयमा छलफल हुनेछ ।
सबैमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महराको सहभागिता रहनेछ । विश्व शान्ति सम्बन्धी विविध कार्यक्रममा पनि सहभागिता रहने बताइएको छ । गत वर्ष घोषित दिगो विकास लक्ष्यको कार्यान्वयन, शान्ति स्थापनार्थ नेपालजस्ता मुलुकले गरेको प्रयास, विश्व शान्तिमा जाने सेनाको संख्या बढाउने, अधिकृतको कोटा बढाउने लगायत विषयमा छलफल हुने परराष्ट्र अधिकारीले बताए ।
प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्कने क्रममा फुलपातीको दिन खाडीस्थित राजदूतहरुलाई निर्देशन दिने छन् । खाडीमा रहेका राजदूतहरुलाई त्यसदिन ओमानको मस्कटमा भेला हुन परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेका छन् ।
भेलामा साउदी अरेबिया, कतार, बहराइन, इजिप्ट, इजरायल, कुवेत, मलेसियाका राजदूतहरु तथा युनाइटेड अरब इमिरेट्स युएईका कार्यबाहकलाई बोलाइएको छ ।
यसैगरी उपप्रधान तथा परराष्टमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठक महासभाको साइडलाइनमा हुनेछ ।
बैठकमा आगामी सार्क शिखर सम्मेलनको तिथी तय गर्ने बारे छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुन आठै सदस्य मुलुकका विदेशमन्त्री वा उनीहरु नभए न्यूयोर्क स्थित स्थायी प्रतिनिधी सहभागि हुने छन् । आजको कान्तिपुरबाट
प्रतिक्रिया