देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जाने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभा र सिरहाको जिरोमाइलमा अपराह्न ४ बजे आयोजना हुने चुनावीप्रचार सभालाई सम्बोधन गर्ने छन्।

सिरहाको सम्बोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्ने तालिका छ । देउवा भदौ २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नका साथै कार्यकर्तासँग भेटी दिउसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । भदौ २९ गते प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सर्लाहीको मलंगवामा दिउसो १ बजे हुने आमसभा र अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गरी प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्ने छन् । भदौ ३० गते अपराह्न १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधनपछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्ने छन् । प्रधानमन्त्री देउवा सोही दिन काठमाडौंँ फर्कने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।