देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्पादन गरेर वितरण नै समाजवादको ध्येय : डा.महत

देशान्तर

भक्तपुर । नेपाली कांग्रेसका नेता एंव पूर्वअर्थमन्त्री डा.रामशरण महतले बीपीको समाजवादलाई अन्धाले हात्ती छामेजस्तो गरी अ–आफ्नो ढंगले व्याख्या गर्न थालिएको बताएका छन् । नेपाली कांग्रेस मध्यपुर ठिमी नगरसमितिले बीपी कोइरालाको १०४औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजना गरेको प्रजातान्त्रिक समाजवाद र बीपी कोइराला विषयक विचारगोष्ठीमा नेता महतले बीपीले आफ्ना पालामा समाजवादको व्याख्या गर्दा पनि उत्पादन नगरी वितरण गर्न सकिँदैन भन्ने गरेको स्मरण गरे । उनले भने–‘बीपीले पहिलो सरकार बनेपछि आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा उत्पादन बिना वितरण सम्भव छैन भन्नुभएको थियो । आजको अवस्थामा समाजवाद भनेको प्रशस्त उत्पादन गरेर समानुपातिक वितरण हो ।’

महतले २०४८ सालमा गठित कांग्रेसको सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो पिछडिएको गाउँमा पुर्‍याउने र विकसित सहरलाई प्रतिस्पर्धी नीति लिएको र आजसम्म पनि कांग्रेस यही नीतिमा अडिग रहेको बताउँदै साँच्चै समाजवाद पनि यही भएको बताए । उनले भने– ‘प्रजातन्त्रको पुनस्र्थापना पछि २०४८ सालमा कांग्रेसले लिएको नीतिका कारण १२वर्षे द्वन्द्वमा फस्दासमेत आर्थिक अवस्था जीवित रहेको छ । २०४८ सालमा पहिलो बजेट १२ अर्बको थियो । २४ वर्ष अन्तरालमा १२ खर्बको बजेट छ । मुलुकभरि ७ हजार किलोमिटर बाटोमा ८० हजार किलोमिटर पुगेको छ । ४९ प्रतिशत गरिबीको रेखामुनिबाट अहिले २१ प्रतिशतमा झरेको छ । २० जिल्ला सदरमुकाम जोडिएको सडक अहिले सबैमा जिल्ला सदरमुकामसम्म पुगिसकेको छ । नौ प्रतिशत बिजुलीको पहुँच रहेकोको अहिले ७५ प्रतिशत छ । ९० प्रतिशत जनतामा टेलिफोनको पहुँच पुगेको छ ।’

नेता महतले यो सबै बीपीको सिद्धान्त अनुसरण गरेर कांग्रेसले नीति बनाएकाले मुलुकले यो प्रगति भएको दाबी गरे । उनले नेपाली कांग्रेस आफ्ले गरेको कामको प्रचार गर्न नसकेकाले पछाडि परेको भन्दै विपक्षीले लगाएको आरोप खण्डन गर्न नसक्ने भएकाले समस्या भएको बताए । नेपाली कांग्रेसभित्रको सबैभन्दा ठूलो समस्या भनेको गुटबन्दी भएको स्पष्ट पारे । उनले पैसा, पद, प्रतिष्ठा र सत्ताका सबैको लोभलालचमा बढी ध्यान दिँदा नेपाली कांग्रेस पछाडि परेको बताए । महतले बीपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै कांग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नुपर्ने बताए । उनले कांग्रेसभित्र भ्रष्टाचार मौलाएको बताउँदै भ्रष्टाचारलाई निरुत्साहित बनाएर राजनीतिलाई सम्मानित बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

नगर सभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कार्यस्थ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, पूर्वउपमेयर मुरारीप्रसाद आचार्य १ नम्बर क्षेत्रीय सभापति जीवन खत्री २ नम्बर क्षेत्रीय सभापति नारायणभक्त खायमली र महिला संघकी सभापति सरु बानियाँले पनि बीपीको बारेमा बोलेका थिए ।