रुपबहादुर विश्वकर्मा, काठमाण्डौँ । कुनैबेला चुरोट खाएर ‘हिरो’ देखिने धुनले अहिले उनलाई यस्तो अवस्थामा पुर्याएको छ, जुन उनले जीवनमा कल्पनासम्म गरेका थिएनन् । अर्थात् एक्लो छोरो उनी अहिले बुवा नभएको आमा र नाबालक छोरी भएकी श्रीमतीलाई बेसाहरा बनाउँदै जेलमा बस्न विवश छन् । यो कुनै काल्पनिक कथा होइन । यो वास्तविकता हो, काभ्रेको बनेपावासी ३० वर्षीय निरज राजथलाको । जो अहिले लागूऔषध कारोबारको अभियोगमा धुलिखेलस्थित जिल्ला कारागार काभ्रेमा कैदी जीवन बिताइरहेका छन् । उनले एकदिन मसँगको भेटघाटमा भने, ‘चुरोट खाएर हिरो भइन्छ भन्ने भ्रमले मलाई यहाँसम्म पुर्यायो ।’ भावुक हँुदै उनले आफ्नो विगत यसरी सम्झिए ।
२०५५ सालको कुरा हो । जतिबेला उनी बनेपाकै काभ्रे उच्च माविमा कक्षा ६ मा पढ्थे । स्थानीय सिद्धार्थ एकेडेमीमा कक्षा पाँचसम्म मात्र पढाइ हुने भएकाले उनी त्यहाँ होस्टेलमा बस्ने गरी भर्ना भएका थिए । जहाँ उनले ‘सिनियर’ दाइहरुले ‘स्टाइलिस्’ बनेर चुरोट तानेको देखे । स्कुलका ‘हिरो’ पनि तिनै थिए–ठानिन्थे, जो चुरोट पिउँथे । त्यसकारण उनलाई पनि उनीहरु जस्तै ‘हिरो’ देखिने इच्छा जागेर आयो । जुन इच्छा नै उनको जीवनको अभिशाप बन्यो । ‘त्यसपछि एकदिन म पनि उनीहरुसँगै स्कुल नजिकैको चण्डेश्वरी जंगलतिर लागेँ,’ निरज सम्झन्छन्, ‘जुनदिन मैले जीवनमा पहिलो पटक चुरोट समाएँ र सर्किँदै सर्किँदै तानेँ ।’ अगाडि थप्छन्, ‘त्यो दिन मैले आफूलाई निक्कै ‘हिरो’ महसुस गरेँ ।’
११ वर्षकै उमेरमा चुरोट चाखेका उनले कक्षा ७ मा पुग्दा गाँजाको पनि उद्घाटन गरे । उनका सहपाठीले घरबाट बाउको गाँजा चोरेर ल्याउँदा रहेछन् र स्कुलमा आएर खुसुखुसु खाँदा रहेछन् । यो थाहा पाएपछि अब उनलाई पनि गाँजा कस्तो हुन्छ भन्ने कुतुहूलताले सताउन थाल्यो । ‘त्यसपछि एकदिन साँझ हामी ६–७ जना साथी रेडक्रसको बन्दै गरेको भवनमा भेला भयौँ,’ उनी सम्झन्छन्, ‘र, चुरोटमा गाँजा भरेर तान्यौँ ।’ चुरोटको भन्दा गाँजाको नशा अझ कडा हुने नै भयो । उनलाई यस्तो आनन्द आयो रे कि बेग्लै दुनियाँमा पुगेको महसुुस भयो । भन्छन्, ‘अब भने मलाई आफू एकदम खतरा ‘एड्रिक’ भएकोमा गर्व लाग्यो ।’
२०५८ साल जेठ १९ गते राजा विरेन्द्रको वंश नाश हुने गरी ‘दरबार हत्याकाण्ड’ भयो, जसका कारण स्कुल लामो समय विदा भयो । उनी सुनाउँछन्, ‘त्यसपछि त झन् निस्फिक्री भइहाल्यो नी गाँजाको नशामा लठ्ठेर बस्न ।’ स्कुल खुल्नेवित्तिकै एउटा अप्रत्याशित घटना भयो । अघिल्लो कक्षामा पढ्ने उनकै टोलका एक दाइले स्कुलमै ‘ट्याब्लेट’ खाएर आएछन् र आफैलाई पढाउने शिक्षकलाई कुटेछन् । यो घटनाले उनमा हौसला थप्यो, हामीले हुनुपर्ने यस्तो ‘हिरो’ पो रहेछ । त्यसपछि उनले ती ‘दादा’ दाईको संगत गर्न थाले । र, गाँजासम्म पुगेका उनले ‘ट्याब्लेट’ पनि शुरु गरे । तिनै ‘दादा’ दाइको समूहले एकदिन देशका प्रसिद्ध रक गायकहरुलाई बोलाएर गाउँमा ‘कन्सर्ट’ को आयोजना गर्यो । ‘नाम नभनौँ, एकजना चर्चित रक गायकले दाइहरुसँग बसेर बियरको चुस्कीसँगै गाँजा तानेको देखेँ,’ उनी सम्झन्छन्, त्यसपछि त झन् मलाई साँच्चै म त ‘हिरो’ नै बन्ने बाटोमा रहेछु भन्ने भयो ।’
यसैबीच २०५९ सालमा उनको बुवा हिड्डुल गर्न नसक्नेगरी ‘प्यारालाइसिस’ भए । जसले गर्दा आमालगायत सम्पूर्ण परिवारको ध्यान उनको बुवाको हेरचाहमा केन्द्रित भयो । यसकारण उनलाई ‘केयर’ गर्ने कोही भएन । यसले आफूलाई मौका मिलेको उनी बताउँछन् । कक्षा पाँचसम्म उत्कृष्ट अंक ल्याउने उनको पढाई बिग्रिदै गएर ‘पास’ मा मात्र सीमित हुन थालिसकेको थियो । जसोतसो उनी कक्षा १० पुगे । अर्थात् त्यसबेला ‘फलामे ढोका’ मानिने एसएलसी दिनुपर्ने स्थानमा पुगे । तर उनलाई पढाइको कुनै चिन्तै थिएन । चिन्ता थियो त केवल कसरी दैनिक ‘ट्याब’ खाने ? कक्षा १० मा पुग्नेवित्तिकै आफ्नै वडा अर्थात् बनेपा नपा–८ का वडाध्यक्षका छोरासँग उनको ‘फाइट’ पर्यो । त्यस आरोपमा एकजना साथीसहित उनलाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि उनलाई स्कुलले ‘रेस्टिकेट’ गर्यो । एसएलसी दिनुपर्ने बेला स्कुल निकालामा परेका उनलाई काभ्रेका कुनै अन्य विद्यालयले पनि भर्ना लिन मानेनन् । त्यसपछि परिवारले उनलाई भक्तपुरको एक ‘प्राइभेट इन्स्टिच्यूट’ मा भर्ना गरिदिए ।
जुन इन्स्टिच्यूटमा उनीजस्तै निष्काशित विद्यार्थीको बाहुल्यता थियो । त्यहाँ झन् लागूऔषध खाने धेरै साथी भेटियो । जसोतसो प्राइभेट एसएलसी परीक्षामा सामेल त भए, तर परीक्षा दिँदादिँदै फेरि ‘ग्याङ फाइट’ पर्यो र बीचमै परीक्षा छाडेर भाग्नुपर्यो । ‘त्यसपछि भने अब म पढ्दिनँ भन्ने निधोमा पुगेँ,’ उनले सुनाए, ‘यो घटनापछि भने मेरो परिवारले पनि मेरो दुव्र्यसनीबारे जानकारी पाए ।’ पढाई छाडिसकेपछि अब झन् उनी पूरै फुक्काफाल भए । अब उनलाई साधारण लागूऔषधले पनि काम नचल्ने भइसकेको थियो । त्यसकारण उनी अझ कडा–कडा लागूऔषधको खोजीमा लागे । यसै क्रममा उनले स्थानीय गाडी ग्यारेजका दाईहरुले ‘ब्राउन सुगर’ सेवन गर्ने गरेको सुईँको पाए । ‘अनि एकदिन मैले पनि मागेर पहिलोपटक ब्राउन सुगरको स्वाद लिएँ,’ उनी सम्झन्छन्, ‘त्यसपछि म त्यो नखाइकन एकदिन पनि बाँच्न नसक्नेमा पुगेँ ।’
यही बीचमा बिरामी बुवाको पनि देहान्त भयो । दिदीहरुको विवाह भइसकेको थियो । घरमा अब आमा एक्लो हुनुभयो । ‘आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । मैले गल्ती गरेपनि उहाँ विश्वास गर्नुहुन्थेन । तर म भने त्यो माया र विश्वासलाई लत्याउँदै दिनप्रतिदिन लागूऔषधको कूलतमा निस्कन नसक्नेगरी डुब्दै गएको थिएँ,’ पश्चाताप मान्दै सुनाउँछन्, ‘अब मलाई थोरै मात्राको ब्राउन सुगरले पनि नछुने भइसकेको थियो ।’ आमा घरमा नभएको मौका पारेर उनले घरमै साथीहरुलाई बोलाएर लागूऔषध खाने अखडा बनाउन थाले । यसै क्रममा एकदिन एकजना दाईले सिरिञ्जबाट ब्राउन सुगर लिने नौलो तरिका सिकाए । जसलाई ‘फिक्स’ हान्ने भनिँदोरहेछ ।
‘अब मेरो दिमागले ‘नशा’ बाहेक अर्थाेक सोच्न छाड्यो । कसैको मतलब हुन्थेन,’ उनी भन्छन्, घरकै कोठाहरुमा लागूऔषध र सिरिञ्जहरु फेला पर्न थाले । त्यसपछि त आमा धेरै रुनुभयो, कराउनुभयो र मलाई सम्झाउनुभयो,’ विवशता सुनाउँछन््, ‘तर के गर्नु धेरै ढिला भइसकेको थियो । मेरो शरीर–दिमाग पूरै नशामा डुबिसकेको थियो । म ‘नशा’ विना बाँच्न नसक्ने स्थितिमा पुगिसकेको थिएँ ।’ ‘फिक्स्’ हानेर मात्रै चित्त बुझेन उनलाई । नुफ्रिन, फेनारगन, डाइजेपाम पनि खान शुरु गरे । अब यी चिज खान नपाउँदा उनलाई राति निद्रा नलाग्ने, भोक नलाग्ने मात्रै होइन मान्छेका अगाडि बोल्नसमेत नसक्ने हुन थाल्यो । यसपछि मात्र उनलाई बल्ल महसुस भयो रे कि ‘म साँच्चै बिग्रिएछु, गलत बाटोमा लागेछु । अब मैले सुध्रिुनुपर्छ । यसबाट जसरी पनि छुट्कारा लिनुपर्छ ।’
छोरोलाई कसरी सुधार्ने भन्ने चिन्तामा परेकी उनकी आमाले उनलाई काठमाडौँको बालाजुस्थित सुधार केन्द्रमा भर्ना गरिदिइन् । नशाविना निदाउन पनि नसक्ने निरज त्यहाँ ६ महिनासम्म बसेर विभिन्न कक्षा लिएपछि यस्तो निर्णयमा पुगे, ‘अब लागूऔषध विनापनि बाँच्न सक्छु ।’ त्यसपछि उनी घर फर्के र घरबाटै सुधारकेन्द्र धाउन थाले । दुर्भाग्य, एकदिन उनी बसमा सुधारकेन्द्र जाँदै थिए, त्यही बसमा उनका ती साथीहरु भेटिए, जो लागूऔषध खान हूल बाँधेर कतै जाँदै थिए । साथीहरुले कर नगर्ने कुरै भएन । अनि एकाएक उनको मनमा फेरि यस्तो आत्मघाती विचार आयो, ‘आज ‘लास्ट’ एकचोटी खान्छु, त्यसपछि खान्नँ ।’ अनि अनायासै उनका पाइला फेरि पुरानै गलत बाटोमा मोडिए र सुधारकेन्द्र नगएर उनी तिनै साथीहरुसँग अन्तै गए । ‘दोश्रो पटक मैले जीवनमा गरेको ठूलो गल्ती त्यही थियो,’ उनी पश्चाताप गर्छन् ।
दुई वर्षपछि उनमा ‘मैले सुध्रनुपर्छ’ भन्ने विचार जाग्यो । र, फेरि सुधारकेन्द्र गए । चार महिना बसे, तर सुधारकेन्द्रबाट निस्केर उनी घर समेत नपुग्दै सिधै साथीहरुकहाँ गए र लागूऔषध लिए । ‘मलाई लाग्छ, त्यतिबेला मेरो शरीरले नमागेपनि दिमागले माग्यो,’ निराशा व्यक्त गर्छन्, ‘अबचाहिँ म सुध्रिन्नँ भन्ने लाग्यो र यो खाएरै मर्छु भन्ने भावना आयो, तर मर्न पनि कहाँ सकिँदोरहेछ र ?’
बिहे गरिदिए पो सुध्रिन्छ कि भनेर आमा दिदीहरुले उनको विहे गराइदिए । जाँडरक्सी, चुरोटबिंडी केही खान्न भन्दै झुक्याएर उनले वि. सं. २०६७ मा कसैकी छोरीलाई श्रीमती बनाए । नभन्दै विहे गरेपछि उनलाई केही जिम्मेवारी बोध भयो । र, करिब ६ महिना लागूऔषधबाट टाढा बसे पनि । तर आफ्नो कुनै रोजगार नभएकाले सानोतिनो पसल गर्ने आमाकै भरमा श्रीमती पाल्नुपर्ने अवस्था जब आयो तब उनलाई अर्काे तनाव हुन थाल्यो । फेरि त्यही तनावको बहानामा उनले लागूऔषध लिन थाले । श्रीमती तथा आमाले जति सम्झाउँदा पनि केही लागेन । ‘आफूले केही गर्न नसकेकोमा मलाई हिनताबोध भयो र यसै बिग्रेको उसै बिग्रेको भन्ने भावना आयो,’ उनी सुस्केरा हाल्छन् ।
२०६९ साल वैशाखको महिना । श्रीमती सुत्केरी हुने मिति नजिकिँदै थियो । विडम्बना, श्रीमतीको स्याहार सुसार गर्नुपर्ने बेला श्रीमतीले चाहिँ उनलाई स्याहार्नुपर्ने अवस्था आयो । लागूऔषधको अत्याधिक प्रयोगले उनको दायाँ गोडा नचल्ने भयो । उनी धुलिखेल अस्पताल भर्ना भए । सुत्कोरी व्यथाले च्यापेपछि वैशाख २२ गते श्रीमती पनि त्यही अस्पतालमा भर्ना भइन् । वैशाख २३ गते छोरीको जन्म भयो । ‘जीवनमा यो भन्दा अनौठो र अस्वाभाविक क्षण अरु के हुनसक्छ,’ उनी भन्छन््, ‘भर्खर धर्तीमा पाइला टेकेकी निर्दाेष छोरीको अनुहार हेरेर मनमनै अठोट गरेँ, अब म लागूऔषध छँुदैछुन्नँ ।’ त्यसयता आफूले लागूऔषध खान छाडेको उनको दाबी छ । अहिले उनी जुन ‘केस’ मा दुई वर्षका लागि जेल परेका छन्, त्यसमा आफू फसाइएको दाबी गर्छन् । र, सुध्रिसकेको नागरिकलाई राज्यले फेरि बिर्गान चाहेको उनको आरोप छ । गत मंसिर २९ गते उनीसहित चार जनालाई प्रहरीले लागूऔषधसहित बनेपाबाट पक्राउ गर्यो । र, जिल्ला अदालत काभ्रेले उनीहरुलाई दुई–दुई वर्ष कैद र ५०–५० हजार रुपैयाँ जरिवानाको फैसला गरेपछि उनी कैद भुक्तान गरिरहेका छन् ।
खासमा आफू त्यो दिन कतै जाने क्रममा बाटोमा पर्ने बेनपास्थित साथीलाई भेट्न गएको बताउँछन् । एक्कासी प्रहरी आएर खानतलासी गर्दा पहिलेदेखि घरवाला साथीसँग रहेका मधेशी युवकको झोलाबाट ३० थान नाइट्रोभेट फेला पर्यो । त्यसबारे आफूलाई कुनै पूर्व जानकारी नभएको उनको दाबी छ । हिरासतदेखि अदालतसम्म ती मधेशी युवकले त्यसमा उनको कुनै संलग्नता नभएको भनेर बयान दिँदा पनि आफू सँगै रहेकै कारण आफूलाई पनि अरु बराबर सजाय तोकिएकोमा उनको आपत्ति छ । ‘ल ठीकै छ, मलाई सेवनकर्तासम्म ठानिएपनि कारोबारीकै कारबाही कसरी भयो ?,’ उनको गुनासो छ, ‘एउटा सुध्रिसकेको मान्छेलाई फेरि बिगार्ने काम भएन र ?’ अन्त्यमा उनले निन्याउरो मुख लगाउँदै भने, ‘मात्र पाँच किलोमिटर पर (बनेपा) परिवार बस्छन्, तर म उनीहरुका लागि मरेसरह भएको छु ।’ युवाहरुलाई उनको सुझाव छ, ‘कृपया चुरोट खाने रहर कहिले नगर्नुस् । त्यसले हिरो होइन मलाईजस्तै ‘किरो’ बनाउँछ ।’ अभिभावकहरुलाई पनि उनको आह्वान छ, ‘आफ्ना छोराछोरीलाई बेलैमा ‘केयर’ गर्नुस् दुव्र्यसनमा फसिसकेपछि सुधार्न गाह्रो छ ।’
प्रतिक्रिया