देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एउटा असल मान्छेको शब्दचित्र

देशान्तर

डा. तुलसी भट्टराई
दामोदर कोइरालाको वंशमा दुम्जा, (सिन्धुली) मा नन्किेश्वर कोइराला नामबाट निकै प्रभावशाली व्यक्ति भए । उनका चार भाइ छोराहरूमध्ये कान्छा छोराको नाम कृष्णप्रसाद थियो । पछि यी कृष्णप्रसाद कोइराला विराटनगरमा गएर बसोबास गर्न थाले । व्यापार ठेक्कापट्टामा निपुण कृष्णप्रसाद कोइराला विराटनगरको आधुनिकीकरण पिता मानिन्छन् । त्यस युगका ठूला समाजसेवी कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाको प्रथम सन्तानका रूपमा वि.सं. १९७१ भदौ २४ गते (सन् १९१४ सेप्टेम्बर ८ तारिख) का दिन एउटा बालकको जन्म हुन्छ । नक्षत्रअनुसार चूडामणि नाम रहन्छ त्यस बालकको । र यिनै बालकपछि गएर विश्वेश्वरप्रसाद कोइरालाका नामबाट परिचित हुन पुग्छन् ।
नेपाली जगत्मा प्रजातन्त्रका पर्याय बनेका विश्वेश्वरप्रसाद कोइरालाको जीवनयात्रा बडो अनौठो, सामान्य जीवनसँग तुलना गर्न नसकिने खालको छ । उहाँ आफैंले एक ठाउँमा भन्नुभएको छ— “मेरो जन्म एउटा द्विविधामा भएको हो । जन्मिने घडी मैले आफ्नो अड्डीपनको पूरा परिचय दिए“ । म माथि त्यसदिन बल प्रयोग गरेको हुनाले हो कि किन हो म जीवनमा आजसम्म विद्रोही रहेँ । मेरो जीवनमा त्यसैदिनदेखि विद्रोहको बीज रोपिएको होला ।” यो भनाइ बी.पी.आफू जन्मँदाको प्रसंगसँग जोडिएको छ । त्यसबेला अप्रेसन गरेर पेटबाट बच्चा जन्माउनु भनेको अनौठो कुरा थियो । बी.पी.लाई पेटबाट अप्रेसन गरेर जन्माइएको थियो ।

विराटनगरको भव्य, ऐश्वर्यसम्पन्न परिवार । प्रतिष्ठित समाजसेवी कृष्णप्रसाद कोइराला । जसको हजारौं बिघा खेती, घोडाको अस्तबल, सयौं गाई भैंसी गोठ र बगैंचा थिए । ठूलो व्यापारका मालिकमात्र थिएनन् कृष्णप्रसाद । उनले विराटनगर कालिमन्दिरको स्थापना गरेका थिए । पार्टी, पौवा र धर्मशालाहरू बनाएका थिए । कैयौं पाठशालाहरू खोलेका थिए र अस्पतालको समेत स्थापना गराएका थिए । पूर्वाञ्चल भेगमा कृष्णप्रसाद कोइरालालाई त्यसबेला नचिन्ने को थियो होला र ? अनि चन्द्रशमशेरले पनि राम्रै गरी चिनेछन् र यस्तो सम्पन्न परिवार एकै पटक सुकुम्बासी बन्न पुग्यो र भारतमा निर्वासित भयो र यही निर्वासनकालमा बी.पी. कोइरालाको जन्म भएको थियो ।

“म राजनीतिमा गहिरिएर लागेको व्यक्ति हुँ । म समाजका राम्रो संरचनामा दिलचस्पी लिन्छु । म राम्रो समाजोपयोगी नियम कानुनको व्यवस्थाको पक्षपाती छु । ….. तर कलाकार साहित्यकार नियम– कानुन नमान्ने जमात हो । असल अर्थमा ऊ अत्यन्त व्यक्तिवादी हुन्छ । उसको निष्ठा आफ्नो अनुभव, आफ्नो अन्तस्करणको सानो मधुरो आदेशप्रति कलाकार विद्रोही हुन्छ र असामाजिक प्राणी । नयाँ दिशाको सन्धानमा रत । नयाँ सत्यको खोजीमा लागेको प्राणी । म चाहन्छु कि तपाईं इमानदार बन्नुहोस् आफूप्रति । आफूभन्दा बाहिरको सत्य या मापदण्ड नखोज्नुहोस् ।” किशोर उमेरमा नै पहिलोपल्ट राजनीतिक अभियोगमा जेल पर्नुभएका बी.पी. कोइरालाले वास्तवमा कहिल्यै पनि आफूभन्दा बाहिरको मापदण्ड खोज्नुभएन । उहाँले मौलिक चिन्तन र मौलिक विचार दिनुभएको छ । आफ्नो पचासवर्षे राजनीतिक जीवनमा होस् अथवा चालीसवर्षे साहित्यिक यात्रामा होस् सधैं एकनास रह्यो बी.पीको सोचाइ । आफ्नो निर्णयमा सदा अटल ।

“मलाई त लाग्छ मानव सुखका साथसाथै पाप भावना पनि त्यसको छायाँजस्तै टाँस्सिएको हुन्छ ।” बी.पी. सम्भवतः यसै विचारले होला व्यक्तिगत सुखको खोजीमा लाग्नुभएन । उहाँ सबैको हित हुने काममा मात्र लाग्नुभयो । व्यक्ति– अस्मिता– मानव मूल्यको स्थापना गर्नमा नै आफ्नो समग्र जीवन अर्पिने बी.पी.ले आफ्ना कृतिहरू तथा रचनाहरूका माध्यमले पुराना जीर्ण– निष्प्राण भइसकेका मूल्य र मान्यतालाई ध्वस्त गर्ने परिस्थितिको सिर्जना गर्नुभएको छ । उहाँका राजनीतिक चिन्तनहरू– विद्यार्थीहरूलाई सन्देश होस् अथवा तरुणहरूका बारेमा लेखिएको होस् अथवा समग्र कार्यकर्ताहरूका बारेमा लेखिएका हुन्— सबैमा नैतिक बल, आदर्श र सिद्धान्तका कुराहरू छन् । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र अन्य विविध पक्षमा लेखिएका प्रायः सबै रचनाहरू मानवमूल्य उत्थानका निम्ति छन् । राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी बी.पी. कोइराला व्यक्ति एक, व्यक्तित्व अनेक भएका विश्वका थोरैमध्ये पर्नुहुन्छ । उहाँका यी दुवै व्यक्तित्व अटाउन गाह्रो छ यो सानो लेखमा ।
१९९२ सालमा ‘शारदा’ले जन्माएका लेखकहरूमध्ये सामाजिक आदर्श अँगाल्ने मैनाली, बौद्धिक विश्लेषणका प्रयोक्ता–सम, यौन मनोविज्ञानको नयाँ प्रयोग र मनोविश्लेषण गर्ने कोइराला त्यस बेलाका ‘त्रिमूर्ति’ प्रमुख हुन् ।

“मान्छे आत्मामात्र भइदिए त हुन्थ्यो नै तर ऊ शरीर पनि हो ।” बी.पी.को दोषी चश्माभित्र केशराजका खुल्दुली, ‘पवित्रा’की पवित्राको प्रत्येक परित्यक्ता नारीव्यथा । दमित वासनाबाट श्वेत भैरवी बन्न पुगेकी फगुनीको कथा । यौन कुण्ठा र विकृतिकी सिकार ‘कर्नेलको घोडा’की कर्णेल्नी । अथवा अन्य विभिन्न कथाहरू नै हुन् सबैतिर बी.पी. कोइरालाको स्पष्ट अभिव्यक्ति छ ।

‘तीन–घुम्ती’ की इन्द्रमाया अथवा किराँत संस्कृति र हिन्दु संस्कृतिको समन्वय– सम्मिश्रण–गाथा– ‘सुम्निमा’ भनौं । पुराना मूल्य र मान्यता ध्वस्त हुने परिस्थिति सिर्जिएको ‘नरेन्द्र दाइ’, पूर्वीय संस्कृति र युरोपेली स्वच्छन्दवादको चर्चा भएको ‘हिटलर र यहुदी ।’ महाभारतको लडाइँ– धार्मिक अनुष्ठानमात्र हो, धार्मिक कार्य होइन भन्ने बी.पी.को धारणा बोक्ने ‘मोदिआइन’ बाट बी.पी. मान्छेलाई मान्छे नै रहन दिने पक्षमा हुनुहुन्छ । उहाँको यो चिन्तन प्रष्ट छ । स्वास्नी प्रेम दिन्छे कि दिन्न त्योमात्र पोइले हेर्नुपर्छ, सतीत्व र पतिव्रत्य नारीका सरोकारका विषय हुन्, नकि पुरुषका । नारीलाई प्रधान विषय बनाउने र नारी अस्मितालाई माथि उठाउने काम भएको पाइन्छ बी.पी. कृतिहरूमा । समाजको निर्माण । असल समाजको निर्माणमा के कस्ता कुराहरूको आवश्यकता हुन्छ अथवा कस्ता कस्ता कुराको अवरोध हुन्छ । हामी विचार राख्तैनौँ तर बी.पी.को सूक्ष्म दृष्टि छ— यसतर्फ ।

“लोग्ने र स्वास्नीमा बाहिरियाले गरेर मेल हुन्छ र कहीँ ? भित्र के खुस्किएको हुन्छ के ? बाहिर टालेर के गर्नु ।” प्रत्येक क्षेत्रमा घट्ने यथार्थता हो । बी.पी. कोइरालाका कृतिहरूले उहाँको जीवन आदर्श खुलाएका छन् र त “मेरो जीवन खुलेको पाना हो” भन्न सक्नुभयो । उहाँका रचनाहरूबाट प्रत्येक मानिसको धुकधुकी जाँच्न सकिन्छ । … अनि बी.पी. कोइरालालाई चिन्ने एउटा कसी हो । “बाबु तिमी ठूलो मान्छे होइन, असल मान्छे बन्नू ।” यो वाक्य अठार पुराणका रचयिता महर्षि–व्यासका समग्र कृतिहरूको सारतत्व— ‘परोपकार’ झै लाग्छ । आज बीपी कोइरालाको स्मरण गर्दा उनको उक्त भनाइलाई हामीले एउटा आदर्शको रूपमा ग्रहण गर्नु आवश्यक छ । संसारमा ठूला मान्छे त धेरै हुन्छन् । तर असल मान्छे एक युगमा एकदुई÷जना मात्र जन्मिन्छन् । बीपी कोइराला यस शताब्दीका एउटा असल मान्छे थिए र आज पनि उनका असल विचारहरू हाम्रासामु आदर्श र उदाहरणका रूपमा फैलिरहेका छन् ।