धुलिखेल । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताए । शनिवार काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रममा मन्त्री बस्नेतले अब मुलुक बन्नका लागि आ–आफ्नो ठाउँमा भएका राजनीतिक र अन्य विचारलाई एक ठाउँमा थाती राखेर सिङ्गो राष्ट्र बनाउन सबैैजना एक ठाउँमा आउन आवश्यक रहेको बताए ।
उनले सबै वर्ग, समुदाय र राजनीतिक पार्टीहरु एक ठाउँमा उभिन सक्यौँ भने मात्रै मुलुकमा भएका स्रोत र साधनहरुलाई परिचालन गर्दै दुई ठूला आर्थिक सम्पन्न देशको बीचमा रहेको नेपाल समृद्ध बनाउन सक्ने उल्लेख गरे।
लामो समयदेखि संक्रमणकालीन अवस्थामा गुज्रिरहेको मुलुक अब राजनीतिक अन्यौल र खिचातानीमा नअल्मलिइकन आर्थिक र राजनीतिक निकास पाउने खालको बातावरण बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए।
मन्त्री बस्नेतले संविधानमा राज्यका सबै वर्ग, तप्का र क्षेत्रका नागरिकले अपनत्व महशुस गरुन् भन्नका खातिर सरकारले स्थानीय निर्वाचनमा पहिला र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दलहरुलाई पनि समेट्न प्रयास गरेको बताए।
आगामी दिनमा त्यो पार्टी, यो पार्टी, त्यो विचार यो विचार नभनीकन चुनाव कुन पार्टीले जित्छ भनेर सोच्नुभन्दा पनि यो देशको लोकतान्त्रिक शासन पद्धति, संघीयता र समावेशिता अर्थात नेपाल र नेपालीले जित्नुपर्दछ भन्ने दृष्टिकाणले सबै लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री बस्नेतले राजनीतिक हिसाबले मात्रै नभई कुटनीतिक हिसाबले पनि छिमेकी देशहरुको पनि सहयोग लिएर देशको भूभागलाई कसैको इच्छामा चल्न नदिएर हाम्रो राष्ट्रिय इच्छालाई स्थापित गर्नतर्फ लाग्नुपर्ने बताए ।
सो अवसरमा विद्यालयले सोही विद्यालयमा अध्ययन गरी हाल काठमाडौं विश्वविद्यालयमा ब्याचलर अफ जियोम्याट्रिक इञ्जिनियरिङमा सर्वोत्कृष्ट भएका संघर्ष थापा, शिर मेमोरियल अस्पतालबाट बिएससी नर्सिङ्गमा सर्वोत्कृष्ट भएका यजुना बैदार र काठमाडौं विश्वविद्यालयमा बिबीआईएसमा सर्वोत्कृष्ट भएका गणेश थापालाई सम्मान गरिएको छ ।
त्यस्तै, विद्यालयले पत्रकारिता क्षेत्रबाट जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार मोतीराम तिमल्सिना र देवराज केसीलाई सम्मान गर्नुका साथै रोशी गाउँपालिका प्रमुखमा निर्वाचित दलबहादुर लामालाई समेत सम्मान गरेको थियो ।
प्रतिक्रिया