काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले यसवर्ष २३ औं निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाउने निर्णय गरेको छ । अविरल वर्षाका कारण २६ जिल्लामा ठूलो जनधनको क्षति भएकाले हर्षोल्लास भन्दा पनि बाढीपीडितलाई केन्द्रित गरेर कार्यक्रम गरिने निर्णय भएको मन्त्रायलका उपसचिव सिर्जना तिवारीले जानकारी दिए ।
उनले बाढीपीडितलाई राहत पु-याउने किसिमले स्वास्थ्य शिविर रक्तदान, वृक्षरोपणजस्ता कार्यक्रम गरिने बताए । उक्त दिवसका अवसरमा निजामती अस्पतालले यही मंगलबार बाढी प्रभावित क्षेत्र रौतहट र बुधबार ललितपुरको संखुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
यस्तै विपद् व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका विषयक निबन्ध प्रतियोगितासमेत आयोजना गरिने भएको छ । ‘निजामती कर्मचारीको प्रतिवद्धता स् पारदर्शीता र चुस्तता’ भन्ने मूलनाराका साथ यही २२ गते २३ औँ निजामती सेवा दिवस मनाउन लागिएको हो । दिवस सफततापूर्वक सम्पन्न गर्न मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूलसमारोह समिति गठन गरिएको छ ।
निजामती कर्मचारीले बाढीपीडितलाई पाँच दिनसम्मको तलब दिने भएका छन् । विशिष्ट श्रेणीकाले पाँच दिन, राजपत्राङ्कित प्रथम श्रेणीकाले चार दिन, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीकाले तीन दिन, राजपत्र अनङ्कित कर्मचारीले दुई दिन र श्रेणीविहीन कर्मचारीले एक दिनको तलब प्रधानमन्त्री राहत कोषमार्फत उपलब्ध गराउने भएका हुन् ।
प्रतिक्रिया