काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले निर्वाचन नै प्रमुख राजनैतिक मुद्दा भएको बताएका छन् । उनले निर्वाचनपछि देशमा राजनैतिक मुद्दा समाप्त भएर देश विकासका मुद्दामा अगाडी बढ्ने स्पष्ट पारे । नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले निर्वाचनले राजनैतिक स्थायित्व र संबिधान कार्यान्वयनसंगै समृद्धिको वाटोमा देश अगाडी वढाउने बताए । उनले सबैलाई निर्वाचनमा होमिन आग्रह समेत गरे ।
प्रधानमन्त्री देउवा महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गर्न जानेक्रममा धनगढी पुगेका हुन् । उनले महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको बताए । प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने , गौरीफण्ट नाकाको स्तर उन्नती हुने लगायतका बिषयमा महत्वपुर्ण सहमति भएको जानकारी दिए ।
प्रधानमन्त्री देउवाले आजै महाकाली नदीमा बन्ने पक्की पुलको शिलन्यान गर्ने कार्यक्रम रहेको छ । ४ लेनको उक्त पुल ३ वर्ष भित्र निर्माण सम्पन्न हुने अधिकारीहरुले बताएका छन् । झण्डै तीन अर्ब लागतमा निर्माण हुने पुलसंगै महाकाली पारी रहेको दोधारा चाँदनी देशसँग जोडिने छ ।
प्रतिक्रिया