काठमाडौं । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए । सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे । मन्त्रिपरिषदमा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो । देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए । भदौ ७ मा देउवा भारत भ्रमणमा जान लाग्दा विमलेन्द्र निधिलाई कार्यवाहक सभापति दिए । त्यसप्रति असन्तुष्टि जनाउँदै पौडेल पक्षले भदौ १० गते महामन्त्री शशांक कोइरालाको निवासमा छुट्टै भेलासमेत आयोजना गर्यो । भदौ ११ गते तनहुँको दमौली पुगेका पौडेलले पार्टीमा हचुवा प्रवृत्तिले काम हुन थालेको आरोप लगाए । यी दुई घटनाले कांग्रेसभित्रको गुटगट राजनीतिलाई प्रस्ट्याउँछन् । देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसका शीर्ष नेतालाई आ-आफ्नै खेमा खडा गर्न भ्याइनभ्याइ छ । उनीहरूकै भनाइलाई आधार मान्ने हो भने यो पार्टीमा सातवटा गुट सक्रिय छन् । यसको मुख्य काम पार्टीबाट छानिने मन्त्री, राज्यमन्त्रीदेखि विभिन्न पदाधिकारी भागबन्डामा बार्गेनिङ गर्ने हो । केन्द्रीय सदस्य शंकर भण्डारी भन्छन्, ‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी भएपछि यस्तै हुन्छ ।’
देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसमा यतिखेर कम्तीमा सातवटा गुट सक्रिय छन् । यसको मुख्य काम पार्टीबाट छानिने मन्त्री, राज्यमन्त्रीदेखि विभिन्न पदाधिकारी भागबन्डामा बार्गेनिङ गर्ने हो । कांग्रेसको पछिल्लो १३ औं महाधिवेशनमा तीनवटा गुट संस्थागत शैलीमै चुनावी मैदानमा उत्रिएका थिए । सभापतिमा शेरबहादुर देउवाको प्यानल विजयी भएपछि उनले पार्टीभित्रको गुटबन्दी समाप्त पार्ने घोषणा गरे । तर, महाधिवेशनको डेढ वर्षको अवधिमा गुट समाप्त भएन, बरु नयाँ–नयाँ गुट थपिए । महाधिवेशनमा तीनवटा गुट देखिएकोमा अहिले ६ वटाभन्दा बढी देखिन्छ । शेरबहादुर देउवा, रामचन्द्र पौडल, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कोइराला परिवारको छुट्टाछुट्टै गुट यतिखेर सक्रिय छ ।
१३ औं महाधिवेशनपछि नेतृत्वबाट बाहिरिएको कोइराला परिवार शशांक, शेखर र सुजाता एकसाथ अघि बढेपछि कांग्रेस राजनीति तरंगित भएको छ । साउन ४ गते महामन्त्री शशांकको निवासमा लन्च मिटिङ गरेर सामूहिक फोटो सामाजिक सन्जालमा राखेपछि कोइराला परिवार चर्चामा आएको हो । भदौ ९ गते पत्रकार महासंघका पदाधिकारीलाई स्वागत गर्ने क्रममा नेताहरू पुनः एकसाथ देखिएपछि यो समूह संस्थागत रूपमा अगाडि आउन खोजेको आकलन भइरहेको छ । कांग्रेसको इतिहास लेखेका पुरुषोत्तम बस्नेत भन्छन्, ‘कांग्रेसभित्र गुट(उपगुट मौलाउनु नयाँ कुरा होइन तर पछिल्लो समय जसरी गुट फस्टाउँदै गइरहेको छ, त्यो पार्टी हितमा देखिएको छैन ।’ बस्नेतका अनुसार कांग्रेसभित्र ०१७ सालदेखि नै गुट सुरु भएको हो । गत वर्ष प्रमुख सत्तासाझेदार कांग्रेसले मंसिर १४ गते संविधान संशोधन विधेयक दर्ता गरायो । त्यसविरुद्ध कांग्रेस सांसद चन्द्र भण्डारी ५ नम्बर प्रदेशमा उत्रिए । यता, संशोधन प्रस्ताव पास गराउनुपर्ने माग गर्दै कांग्रेसका २७ सभासद्ले हस्ताक्षर गरेर नेतृत्वलाई ज्ञापनपत्र नै दिए । कांग्रेसकै तेजुलाल चौधरीले मंसिर २७ गते थारू सांसदको छुट्टै भेला गरेर कैलाली–कञ्चपुरलाई नयाँ प्रदेशमा राख्नुपर्ने निर्णय गराए । प्रदेश टुक्राउन गरेको संशोधन प्रस्तावको सन्दर्भमै ५ नम्बर प्रदेशभित्रकै मधेसी र पहाडी जिल्लाका सांसद फरक-फरक कित्तामा उभिए ।
विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘पार्टीभित्र विभिन्न स्वार्थको चलखेल बढ्दै गएपछि यस्तै हुन्छ । कांग्रेसको मूलनीति र सिद्धान्त नै के छ भन्ने स्पष्ट हुँदैन । नेतृत्व कमजोर हुँदा पार्टीले राष्ट्रिय धार बनाउन सक्दैन ।’ नेताहरूले आफूलाई केन्द्रमा राखेर अघि बढ्न थालेपछि गुटबन्दी झन् मौलाएको देखिन्छ । ‘छलफल र विमर्श हुनु अस्वाभाविक होइन’, आचार्य भन्छन्, ‘कांग्रेसले मूलरूपमा पार्टीको लाइन गुमाएका कारण भाँडभैलो देखिएको हो ।’ उनका अनुसार कांग्रेसले बीपी, सुवर्णशम्शेर, गणेशमान र कृष्णप्रसाद भट्टराईपछि पार्टीलाई लाइनमा राख्ने नेतृत्व नै पाएन । यसले गर्दा राष्ट्रिय दृष्टिकोण ओझेलमा परेको छ ।’
पछिल्लो महाधिवेशनबाट परम्परागत नेतृत्वका रूपमा स्थापित कोइराला परिवारलाई किनारा लगाउँदै शेरबहादुर देउवा पार्टीमा हाबी भए । महाधिवेशनमा देउवालाई सघाएका खुमबहादुर खड्कालगत्तै हिन्दु धर्मको एजेन्डासहित छुट्टै गुटको नेतृत्व गर्दै अघि बढे । देउवाकै प्रतिनिधित्व गर्ने विमलेन्द्रले संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने वकालत गरिरहँदा कृष्ण सिटौलाले संशोधनभन्दा पनि निर्वाचनमा जानुपर्ने वकालत गरिरहे । पौडेल समूहको छुट्टै असन्तुष्टि छ, मधेसी सांसद आफ्नै खालको लबिङ गरिरहेका छन् ।
०४६ सालको प्रजातान्त्रिक आन्दोलनलगत्तै पार्टीमा गिरिजाप्रसाद कोइराला हाबी भएपछि कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरू फरक धारमा उभिए । त्यसअघि पञ्चायतकालमा कांग्रेसमा अठ्तिसे समूह उदाएको थियो । परशुनारायण चौधरीलगायत ३८ जना नेताले छुट्टै विचारको वकालत गर्दै यो समूह बनाएका थिए । ०५१ सालमा गुटगत चलखेल झनै मौलायो । ०५३ को महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइरालालाई सघाएका शेरबहादुर देउवा त्यसपछिको महाधिवेशनमा उनकै विरुद्ध उभिए । ०५८ मा गुट-उपगुटकै कारण कांग्रेस विभाजनसम्म पुग्यो । ०६२ को दोस्रो जनआन्दोलन सफलतासँगै एकीकृत भएको कांग्रेसमा फेरि पनि गुटगत राजनीति सेलाएन । अन्नपुर्णपोष्टमा समाचार छ ।
प्रतिक्रिया