कञ्चनपुर। पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा बन्ने चार लेनको पक्की पुल निर्माणस्थलको आज स्थलगत निरीक्षण गरेका छन् । भीमदत्तनगरपालिका–१२ ओदालीस्थित पुल निर्माणस्थलमा पुगेर उनले निरीक्षण गरेका हुन् ।
आठ सय मिटर लम्बाई रहेको सो पुल शिलान्यासका लागि बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर आइपुग्ने कार्यक्रम तय भएको छ । कञ्चनपुर क्षेत्र नं– ४ का सांसदसमेत रहनुभएका पूर्वमन्त्री लेखकले पुलसँगै निर्माण हुने ६ लेनको सडक निर्माणमा सहयोग पु¥याउन स्थनीयवासीसँग आग्रह गरे ।
यो पुल निर्माण भएपछि कञ्चनपुरको आर्थिक क्रान्तिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्दै उनले पुलसंँगै दोधारा चादँनीमा सुख्खा बन्दरगाहसमेत निर्माण हुने हुँदा यो पश्चिमको ठूलो व्यापारिक नाकाका रुपमा विकास हुने बताए। महाकाली नदीमा पक्की पुल निर्माणका लागि पूर्वमन्त्री रमेश लेखक लामो समयदेखि प्रयासरत थिए ।
सरकारले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ । जसमध्ये रु १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । रु. तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा पुल निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ ।
प्रतिक्रिया