काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बक्यौता विधुत महशुल नतिर्ने जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री शाहीले १० दिनभित्र बक्यौता विद्युत महशुल नतिर्नेहरुको विद्युत सेवा बन्द गर्न मातहतका निकायलाई सचेत गराइएको पनि स्पष्ट पारे ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले बक्यौता विधुत महशुल नतिर्नेहरुले कर्मचारीलाई अटेर गरे आफै विधुत सेवा बन्द गर्न फिल्डमा जाने घोषणा पनि गरे । ऊर्जा मन्त्रालयले बक्यौता रकम नतिर्नेहरुको सेवा बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ । मन्त्री शाहीले आफू बक्यौता विधुत महशुल असुल गर्न लागिपरेको पनि उल्लेख गरे ।
मन्त्री शाहीले सरकारले विधुत प्रशारण लाईनको क्षमता वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराए । उनले विधुत प्रशारण लाइनको क्षमता कमजोर भएकै कारण कतिपय ठाउँमा मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै त्यसको क्षमता वृद्धि गर्ने काममा सरकार केन्द्रित हुनुपरेको पनि बताए । सरकारले विधुत प्रशारणलाइन विस्तारको कामलाई पनि उत्तिकै जोड दिएको मन्त्री शाहीको दावी छ ।
प्रतिक्रिया