काठमाडौं । यो वर्ष अमेरिकामा युवा फेसबुक प्रयोगकर्ता घट्ने एक अध्यययनले देखाएको छ । विश्वभर फेसबुक प्रयोगकर्ता बढिरहेका बेला अमेरिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता ३.४ प्रतिशतले घट्ने डिजिटल प्रविधिको अनुसन्धान गर्ने संस्था ई–मार्केटरले जनाएको छ ।
ई–मार्केटरका अनुसार अमेरिकामा सन् २०१७ मा १ करोड ४५ लाख किशोरकिशोरीले फेसबुक प्रयोग गर्नेछन् । जुन अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत कम हो ।
विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको कुनै पनि उमेर समूहका प्रयोगकर्ता घट्ने देखिएको यो पहिलो पटक हो ।
युवा पुस्ता अहिले स्न्यापच्याट र फेसबुककै अर्को सोसल नेटवर्क इन्स्टाग्रामतर्फ लोभिन थालेकाले फेसबुक प्रयोगमा कमि आएको ई–मार्केटरले जनाएको छ ।
विश्लेषकहरुले युवा प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न तथा जोगाइराख्न फेसबुकले केही नयाँ स्वाद दिनुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया