देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर बाढीपहिरोको कहर

देशान्तर

शुक्रबारदेखि देशभर परेको अविरल वर्षाका कारण उत्पन्न प्रकोपले भयावह रूप लिएको छ । वर्षात् सुरु भएदेखि नै बाढीपहिरोले जनधनलाई क्षति पुर्‍याउने क्रम जारी छ । तर शुक्रबारदेखि परेको वर्षात् भने देशैभर कहर उत्पन्न गराएको छ ।

गृह मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी र पहिरोका कारण तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने हजारौं परिवार प्रभावित भएका छन् । पहाडी इलाकादेखि तराईका जिल्लाहरूमा उही रूपमा प्राकृतिक प्रकोपले वितण्डा मच्चाएको छ । झापा, मोरङ, सुनसरी, बारा, धनुषा, सर्लाही, पाँचथर, दाङ, सिन्धुली, पाल्पा, महोत्तरीलगायतका जिल्लाहरूमा निकै संख्यामा मानिसहरू विस्थापित भएका छन् । सयौं व्यक्ति बेपत्ता भएका छन् ।

अविरल वर्षात्का कारण उद्धारमा समेत कठिनाइ उत्पन्न भइरहेको छ ।पहाडी र दुर्गम इलाकामा मात्रै होइन सुगम इलाकामा समेत बाढीले कोकोहोलो मच्चाएको छ । जनकपुर, विराटनगर, राजविराज, झापा सहरी इलाकामा सडक मार्ग खोलामा परिणत भएका छन् । यसैगरी खुला इलाका पोखरीमा परिणत भएका छन् । मानिसहरूको घरघरमा पानी पसेर बस्न ओत लाग्न नमिल्ने भएको छ ।

विमानस्थल, बसपार्क र ठाउँठाउँमा राजमार्गहरू अवरुद्ध भएका छन् । साउन महिनाको २७गतेसम्ममा मात्रै बाढीपहिरोमा परी २५ जनाको मृत्यु भइसकेको थियो भने अस्ति र हिजोको वर्षात्ले सो संख्या ५५ भन्दा बढी पुगिसकेको छ । गृह मन्त्रालयका अनुसार यो अवधिमा २७ दिनमा मात्रै पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने १० जनाको मृत्यु बाढीका कारण र एक जनाको मृत्यु अत्यधिक वर्षापछि उत्पन्न परिस्थितिका कारण भएको देखिन्छ । शनिबारमात्रै अधिक वर्षापछि उत्पन्न प्राकृतिक प्रकोपमा परी ५५ भन्दा बढीको मृत्यु हुन पुगेको हो ।

यो विपत् अकस्मात आइलागेको विपत् होइन । हरेक वर्ष वर्षात्को समयमा नेपालीहरूले भोग्दै आएको नियति हो । बर्सेनि वर्षायाममा सयौं मानिसले ज्यान गुमाउने गरेका छन् भने अर्बौंको जनधनको क्षति हुने गरेको छ । वनजंगलको विनाश र चुरे क्षेत्रको दोहनका कारण बाढीपहिरोको समस्या झन्झन् विकराल बन्दै गएको छ ।

भूकम्पका कारण धाजा फाटेपछि पहाडी इलाकाहरूमा पहिरोको जोखिम अत्यधिक बढेको छ । वर्षात्का कारणमात्रै होइन सुक्खा पहिरोको समस्या पनि बढिरहेको छ । यसैगरी सहरी इलाकाहरूमा पनि अव्यवस्थित बसोबासका कारण वर्षात्को पानीले सहज निकास नपाउँदा सडकहरू नदीमा परिणत हुने गरेका छन् । तराईका सहरी इलाकामा ढलको उचित प्रबन्ध नहँुदा वर्षात्को पानी घरभित्र पस्ने गरेको छ भने राजधानी काठमाडौंमै पनि भएका नदीहरूलाई साँघुरो बनाउँदै किनारको जमिन अतिक्रमण गरिँदा सडक र घरहरू डुबानमा पर्ने गरेका छन् ।

यदि समयमै उचित प्रबन्ध गर्ने हो भने यस्ता समस्याहरूलाई निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसको लागि सरकारले विपत् आइलागेपछि मात्रै तदारुकता देखाउने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ । पानी पर्न थालेपछि उद्धार र राहतका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च हुने गरेको छ । तर, यस्तो प्राकृतिक विपद् रोकथामको लागि भने सरकारले उचित योजना निर्माण गरेर समयमै कार्यान्वयन गर्न सकिन्छ ।

चुरे विनाशको रोकथाम, अव्यवस्थित सहरीकरण, नदीकिनार अतिक्रमण, तटबन्धको उचित प्रबन्ध, जोखिमको पूर्वअनुमान गरी सावधानी अपनाउने र मौसमको सही भविष्यवाणी गर्ने प्रविधि जडान गर्न सक्ने हो प्राकृतिक विपत्लाई निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । सरकारले यसतर्फ ध्यान दिन अब ढिलाइ गर्नु हँुदैन । तत्कालका लागि भने बाढीपहिरो पीडितहरूको उद्धार र राहतमा कुनै कसर बाँकी राख्नु हुँदैन । राज्य शक्ति र संयन्त्रमात्रै होइन राजनीतिक दलहरूले पनि आफ्ना कार्यकर्ता परिचालन गरेर यो राष्ट्रिय विपत्तिबाट मुलुक र जनताको उद्धार गर्न सक्नुपर्छ ।