देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवैध पुस्तक छापेर साझा डुबाउदै डोलिन्द्र

देशान्तर

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाकै लोगो अवैध रूपमा प्रयोग गरी संस्थालाई करोडौं नोक्सानी पुर्‍याइरहेको तथ्य फेला परेको छ। शर्माले कक्षा ११ र १२ मा पढाइ हुने सबैको नेपाली र एक चिहान, लिंक इङ्लिस पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो। यी तीनैवटा पुस्तक कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थी सबैले पढ्नैपर्छ। साझाबाहिरबाट छापिएको पुस्तक बिक्री गर्दा लेखकले पाउने २० प्रतिशत र साझाले पाउने नाफा १५ प्रतिशत गरी एउटा पुस्तकमा ३५ प्रतिशत नोक्सान भएको छ। सबैको नेपालीको मूल्य ३०० रुपैयाँ छ। साझाले आफ्नो प्रकाशनमा एक हजार प्रतिभन्दा कम पुस्तक खरिदमा २५ प्रतिशतसम्म छुट दिन्छ।

तर, साझाकै प्रकाशन बजारमा ३० प्रतिशतसम्म छुटमा बिक्री भइरहेका छन्। यसले पनि साझाले निजी प्रकाशन गृहबाट पुस्तक प्रकाशित गरेको देखाउँछ। साझाबाट प्रकाशित हुने सबैको नेपाली पुस्तक प्रकाशन गर्दा लागत खर्च तथा लेखकको रोयल्टीसमेत तिर्दा दुई गुणा बढीमा बिक्री हुने गरेको छ। तर निजी छापाखानाबाट छापिएका पुस्तक साझाको केन्द्रीय कार्यालयमा दाखिला नगर्दा रोयल्टीलगायतका खर्चसमेत बचत भई एउटै पुस्तकबाट पर्याप्त आम्दानी हुने साझाका एक अधिकारी बताउँछन्। साझाको लोगो राखेर पुस्तक छाप्ने तर साझाको बिक्री केन्द्रमा दाखिला नगराई बिक्री हुँदा त्यसको रकम सीधै निजी छापाखानामा पुग्ने गरेको हो।

साझाले यस वर्ष अनिवार्य नेपाली विषयको सबैको नेपाली ६३ हजार थान मात्र छापेको छ। यस वर्ष कक्षा ११ मा चार लाख ४८ हजार नौ सय २६ विद्यार्थी भर्ना भएका छन्। तीमध्ये आधाभन्दा बढी विद्यार्थी उपत्यकामा मात्र अध्ययन गर्ने राष्ट्रिय परीक्षा बोर्डकी उपनियन्त्रक जयन्ती सत्याल बताउँछिन्। विद्यार्थी संख्याका हिसाबले साझाको उत्पादनले उपत्यकाका विद्यार्थीको मागसमेत धान्दैन। कुल विद्यार्थी संख्याको ५० प्रतिशत संख्याले पुराना पुस्तक प्रयोग गरे पनि बाँकी पुस्तकको माग साझाको अहिलेको प्रकाशन संख्याले पूरा गर्दैन। तर बजारमा विद्यार्थीको मागअनुसार सहजै पुस्तक उपलब्ध हुने गरेको साझाका अधिकारीहरू बताउँछन्। नागरिक दैनिकमा समाचार छ ।