काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आर्थिक बर्ष ०६२ र ६३ देखि बगानले कर नबुझाएको बताएका छन् । उनका अनुसार एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले हालसम्म तीन करोड ८१ लाख ४१ हजार २ सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ ।
‘हामीले पटकपटक लिखित ताकेता गर्दा समेत बगान प्रशासनले बेवास्ता गर्दै आएको छ,’ दाहालले भने । उनले पूर्वराजा ज्ञानेन्द्र बगानमा आएर बसेको समय ०७२ सालमा भेटेरै कर बारे अवगत गराउदा समेत कुनै सुनुवाई नभएको बताए । उनले कुनै एउटा पक्षबाट करोडौंको कर नउठ्दा स्थानीय निकायलाई समस्या हुने गरेको बताए ।
नगरपालिकाका कर शाखा प्रमुख टीकाराम दाहालले बर्षौदेखि कर नबुझाउँदा बगानलाई लाखौं जरिवान लगाउनु परेको बताए । उनले अहिलेसम्म ८६ लाख ३६ हजार ७ सय ६१ रुपैयाँ ७० पैंसा जरिवान अन्तर्गत उठाउनु पर्ने बताए । उनले कर बुझाउन अटेरी गरेपछि बगानलाई ५० प्रतिशतसम्मको जरिवान लगाउनु परेको बताए ।
बगानका महाप्रबन्धक शिवप्रसाद आचार्यले नगरपालिका पूर्वाग्रही ढंगले प्रस्तुत भएका कारण कर तिर्न गाह्रो भएको बताए । उनले विगतमा मालपोत तिर्दै आएको भएपनि एकीकृत सम्पत्ति कर लागूभएपछि आफूहरुलाई कर तिर्ने वातावरण नभएको बताए ।
उनले भने,‘हामीले नियतबस कर नतिरेको होइन । तर, पूर्वाग्रही ढंगले करको भार लाद्ने काम हुँदा हामीलाई गाह्रो भएको हो ।’ उनले चिया बगानले कृषि कार्यक्रम अन्तर्गत सहुलियत पाउनुपर्नेमा नगरपालिकाले निजी उद्योग सरह कर लगाउन कर तिर्ने वातावरण भाडिएको बताए ।
बगानका सिनियर डेपुटी म्यानेजर खगेन्द्र श्रेष्ठले सम्पत्ति कर सूरु भएपछि नगरपालिकासंग बार्षिक तीन लाख रुपैयाँ कर तिर्ने सहमति भएको बताए । तर, उक्त सहमति कार्यान्वयन हुन नपाउँदै नगरपालिकाले एकलौटी ढंगले करको दायरा बढाएपछि कर तिर्ने वातावरण बिग्रिएको बताए ।
महाप्रबन्धक आचार्यले बगानबाट कर उठाउने विषयमा नगरपालिकाले एकलौटी अडान छाड्नुपर्ने बताए । उनले बगान प्रशासन कर तिर्न तयार रहेपनि दुई पक्षीय सहमति आवश्यक रहेको बताए । उनले भने,‘कर उठाउने विषयमा नगरपालिकाले कुनै ठोस कदम चालेन । मिडियालाई समाचार लेखाएर हामीलाई बद्नाम बनाउने काम मात्र र्गयो । यसबाट हामी पनि दुखि छौं ।’
बगानको स्वामित्वमा दमकमा ३ सय ९० हेक्टर जमिन छ । त्यसमध्ये २ सय ३२ हेक्टर क्षेत्रफलमा चिया बगान रहेको छ । बगानमा ५ सय बढीले रोजगारी पाउदै आएको छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया