देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवैधानिक ओलम्पिक कमिटीलाई कति दिन बोक्ने ?

देशान्तर

काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा आफू मान्य भएको दाबी गर्दै हिँडेका जीवनराम श्रेष्ठको समूह यतिबेला सर्वत्र बहिष्कारमा परिरहेको छ । विभिन्न कार्यक्रमहरूमा जाँदासमेत अवैधानिक भएको कुरा उठ्न थालेपछि जीवनराम श्रेष्ठ समूह थप अप्ठेरोमा पर्दै गएको हो । केही साता पहिले पूर्वमन्त्री दलजित बीके श्रीपालीले समेत जीवनराम श्रेष्ठलाई भलिबल संघले आयोजना गरेको कार्यक्रममा बहिष्कार गरेका थिए । त्यसपछि सुरु भएको बहिष्कारको शृंखला अहिले पनि जारी छ । नेपाल भारत्तोलन संघले आयोजना गरेको एसियाली भारत्तोलन च्याम्पियनसिपको कार्यक्रममा समेत अवैधानिक भएका कारण जीवनराम श्रेष्ठसहितको टोली बहिष्कारमा पर्‍यो ।

यसरी नेपालका सरकारी सबै तह र तप्कामा बहिष्कारमा परिसक्दा समेत जीवनराम श्रेष्ठले आफूलाई कमजोर नठान्नु र यसैको बाजा बजाएर हिँड्नुले उनले कतिसम्म फाइदा लुटिरहेका छन् भन्ने पुष्टि हुन्छ । ओलम्पिक कमिटीकै विवादका कारण जीवनराम श्रेष्ठले काठमाडौं मेयरको उम्मेदवारको टिकट नपाएको प्रष्ट छ । सर्वोच्च अदालतको आदेश अटेर गरेकै कारण जीवनराम श्रेष्ठ समूह पार्टीभित्रै पनि अप्ठेरोमा पर्दै आएको छ । विगतमा केपी ओली समूहमात्रै जीवनराम श्रेष्ठको विरुद्धमा देखिए पनि अहिले आएर माधव नेपाल समूहका पनि धेरै नेता तथा कार्यकर्ता जीवनराम श्रेष्ठविरुद्ध उत्रेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टसमेत पनि श्रेष्ठको हर्कतबाट आजित भएका छन् । केशव विष्टलाई अनेक तगारो हाल्ने काम गरिरहेका कारण अहिले विष्ट पनि श्रेष्ठविरुद्ध सुरु भएको अभियानमा साथ दिन गोप्य भेटघाटहरूमा व्यस्त भएका छन् । आफ्नो सत्ता जोगिने भए जीवनरामलाई कारबाही गर्न आफू तयार भएको अभिव्यक्तिसमेत दिन विष्ट पछि परेका छैनन् ।

यता विष्टले नेपाली कांग्रेसले युवा तथा खेलकुद मन्त्रालय लिने भएपछि आफू जोगिनका लागि कांग्रेसको एउटा कित्तासँग साँठगाँठ गरिरहेको बुझिएको छ । तर युवा तथा खेलकुद मन्त्रालय नेपाली कांग्रेसले लिएपछि सबैभन्दा बढस् अप्ठेरो जीवनराम श्रेष्ठ समूहलाई नै पर्ने पक्कापक्की छ । सातदोबाटोस्थित ओलम्पिक भवन पनि आफ्नो हातबाट गुमाइसकेको जीवनराम समूह आगामी दिनमा थप कारबाहीको पनि भागीदार हुने देखिन्छ । अन्तर्राष्ट्रिय जगत्ले पनि श्रेष्ठको हर्कत र अनियमितताको विषयमा पटकपटक कुरा उठाइरहेको छ । यो विषयमा वर्तमान सरकारले पनि पहल गर्ने तयारी गरेको बुझिएको छ ।

जीवनरामको अर्को कर्तुत
श्रीमती र छोरालाई विदेश घुमाएको भनेर आलोचित हुने गरेका जीवनराम श्रेष्ठले फेरि छोरालाई वैदेशिक प्रशिक्षणमा पठाएर अर्को कर्तुत प्रस्तुत गरेका छन् । नेपाल स्की संघको नाममा आएको प्रशिक्षणको अवसर उनले आफ्नै छोरालाई दिएका हुन् । युरोपमा हुने प्रशिक्षणका लागि उनका छोरा सुटुक्क त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् । विगतमा पनि स्कीका अन्तर्राष्ट्रिय प्रतियोगितामा उनकै छोरा सहभागी हुँदै आएका थिए । तर उनका छोराले कुनै पनि प्रतियोगितामा कोर्स नै समेत पनि पूरा गर्न सकेका थिएनन् । यसरी बलजफ्ती खेलाडी बनाउने र पाएका अवसर जति आफ्नै परिवारभित्र सीमित राख्ने काममा जीवनराम एक नम्बरमा नै देखिएका छन् । त्यसैकारण त जीवनरामले नेपाल ओलम्पिक एकेडेमी नामक संस्थामा पनि आफ्नै श्रीमतीलाई पनि राखेका छन् । यस्ता हर्कतहरू गर्नकै लागि, विदेश घुम्न र अवसरहरूलाई आफ्नै पोल्टामा पार्नका लागि नेपाली खेल क्षेत्रलाई प्रयोग गर्ने काममा व्यस्त जीवनराम श्रेष्ठ कहिले कानुनको कठघरामा उभिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।