काठमाडौँ । आइसीसी यू १९ विश्वकपको छनोट चरण अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६.५ ओभर खेल्दै १ सय ४६ रनमा अलआउट भयो ।
पहिलो विकेटका लागि सिंगापुरको सुरुवाती जोडीले ४० रनको साझेदारी गरेका थिए । १२औं ओभरमा कप्तान सन्दिप लामिछानेले पछिल्लो खेलमा मलेसिया विरुद्ध शतक प्रहार गरेका रोहन रंगराजनलाई २३ रनको स्थितिमा आफ्नै बलमा क्याचआउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । दोश्रो विकेटका लागि ३६ रनको साझेदारी गरेको सिंगापुरले त्यसपछि भने नियमित विकेट गुमाएको थियो ।
ओपनर सन् अग्रवालले २१ रन र सिधान्त सिंहले २५ रन बनाएर टोलीलाई अगाडी बढाएका थिए । तर किशोर महतोले अग्रवाललाई एलबीडब्लु धरापमा परेपछि सिंगापुर संकटमा पारेको थियो। तल्लो क्रमका ब्याट्सम्यान हंशुल दीप सिंघनियाले ३० बलमा २ छक्का र १ चौकाको मद्दतले ३२ रन जोडेर सिंगापुरलाई लक्ष्यनजिक पुर्याएका थिए । जितबाट ३० रन टाढा हुँदा उनि सन्दिप लामिछानेको बलमा एलबीडब्लु आउट भए ।
त्यसपछि अर्यमन सुनिल १ रनमा रनआउट र युवराज सिंह १९ रन बनाउँदै किशोर महतोको बलमा क्याचआउट भएपछि सिंगापुरको जित हात पार्ने सम्भावना कम भएको थियो। सन्दिपले खेलको ४६औं ओभरमा अंश भार्गभलाई १ रनमा बोल्ड गरेका थिए। पवन शर्राफले ४७औं ओभरमा बिर बिक्रम विस्वासरेलाई क्याच आउट गराएसँगै नेपालको जित पक्का भएको थियो । सिंगापुरले आफ्नो अन्तिम ५ विकेट ७ रनको अन्तरमा गुमाएको थियो ।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने किशोर महतो र पवन शर्रफले २ विकेट हात पारे। दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । त्यसअघी पहिलो इनिङमा मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले १ सय ६८ रन बनाएको थियो । ४६.५ ओभर खेलेको नेपालले आफ्नो सबै विकेट गुमाएको थियो । दिपेन्द्रले ८३ बल खेल्दै २ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए। उनि बिर बिक्रम विश्वासरेको बलमा लामो सट खेल्ने प्रयासमा कभरमा रहेका रोहन रंगराजनबाट क्याच आउट भएका थिए । प्रकाश केसी २३ले २३ रनको योगदान दिएका थिए ।
विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका थिए । पारीको तेश्रो ओभरमै नयाँ ओपनर अनिल शाह ७ रनको व्यक्तिगत स्कोर बनाउँदै आर्यमान सुनिलको बलमा फाइन लेगको दिशामा क्याच आउट भए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रनित थापा अंश भार्गभको बलमा ८ रन जोड्दै कट बिहाइन्ड भए ।
पछिल्ला खेलमा ओपनरको भूमिका निर्वाह गरेका आसिफ शेख ३ रनमा बोल्ड भए। टोलीको योगफल ३९ रन छंदा उनि आहान गोपीनाथले फ्याँकेको १२औं ओभरमा बोल्ड भएका थिए । २०औं ओभरमा सन्दिप सुनार पनि आहानकै बलमा कट बिहाइन्ड भए । उनले ५५ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले २६ रन जोडेका थिए । रोहित कुमार पौडेल १५ रन जोड्दै कभरको दिशामा क्याच आउट भएका थिए भने पवन शर्राफ पनि २ रनमा पेभेलियन फर्किए । कप्तान सन्दिप ५ रन जोड्दै रन आउट भएका थिए । सिंगापुरका लागि विश्वासरेले ३ विकेट लिए भने आहान र आर्यमानको नाममा २/२ विकेट रह्यो । अंश भार्गभ र रोहनले पनि १/१ विकेट बाँडे ।
प्रतिक्रिया