देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिकको पल्ला भारी

देशान्तर

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको पल्ला भारी देखिएको छ । यसै साता काठमाडौं मा हुने संघको निर्वाचनमा लोकतान्त्रिक फोरम समूह र प्रजातान्त्रिक प्रगतिशील समूहले प्रतिस्पर्धा गर्दैछन् ।  लोकतान्त्रिक समूहबाट विमल ढकाल र प्रजातान्त्रिक प्रगतिशील समूहबाट किरण गुरुङ अध्यक्षका लागि प्रतिस्पर्धा गर्दैछन् । ढकालले दोस्रोपटक अध्यक्षका लागि उम्मेदवारी दिएकाले पनि गुरुङको भन्दा उनको पल्ला भारी देखिएको हो ।  वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार ढकालले दुईवर्षे कार्यकालमा संघ र व्यवसाय सुधारका लागि धेरै प्रयास गरेको र धेरैजसो काम पाइपलाइनमा रहेकाले पनि नयाँलाई भन्दा ढकाललाई अध्यक्ष बनाउँदा सजिलो हुने व्यवसायीहरू बताउँछन् ।

अध्यक्षका प्रत्याशी ढकालले वैदेशिक रोजगार कार्यविधि ऐन २०६४ संशोधन गरी व्यवसायी र कामदारको हित अनुकूल बनाउने बताएका छन् । उनले व्यवसाय सञ्चालनका क्रममा र कामदार विदेश पठाउँदा श्रम मन्त्रालय र विभागबाट हुने चरम भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएका छन् । सरकारले ल्याएको धरौटी वृद्धिको विपक्षमा उभिएका ढकालले फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई पनि सुधार गरी लागू गर्नुपर्ने अडान राख्दै आएका छन् ।

व्यवसाय सुधारका विषयमा यसअघि पनि केही कदम चालिसकेकाले आफू विजय नजिक रहेको ढकालले देशान्तरलाई बताए । अध्यक्षका अर्का प्रत्याशी किरण गुरुङले पनि वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने, ऐन परिवर्तन गर्ने र व्यवसायलाई आरोपमुक्त बनाउने घोषणा गरेका छन् । देशान्तरसँग कुरा गर्दै गुरुङले आफ्नो पक्षले सुधारका धेरै काम गर्ने भएकाले आफूहरूको जित हुने बताएका छन् । संघमा आबद्ध रहेका धेरैजसो कम्पनीहरू भने ढकालले नेतृत्व गरेको लोकतान्त्रिक फोरम समूहलाई विजय गराउने पक्षमा रहेको बताइन्छ ।