काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज, काठमाण्डौमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ। नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको घटना सार्वजनिक भएको छ। अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए।
त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो। रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए। अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ। घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन्।
डा. गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन्। ‘सामान्य परिवारको भएकाले घरपरिवार धान्न वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको थिएँ। एक वर्षअघि मात्रै नेपाल आएको हुँ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तको सहयोगमा स्वास्थ्य परीक्षण गराउन मनमोहन मेमोरियल मेडिकल कलेज आएको हुँ । तर, अस्पतालले मेरो जीवन नै बर्बाद गरिदियो,’ बिरामी रिमालले भने।
अस्पताल प्रशासनले पत्थरीको अप्रेसन गर्दा मिर्गौला फुटेकाले निकालेको पीडित परिवारलाई जानकारी दिएको दाबी गरेको छ। तर, पीडित परिवार भने मिर्गौला निकालिएपछि मात्रै जानकारी दिएको बताउँछ। मिर्गौला सामान्य अवस्थामा समेत नरहेकाले निकाल्नु परेको अस्पताल प्रशासनले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया