देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

देशान्तर

काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ ।
जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा तुलसीको विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।

चतुर्मास समेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।  असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको धार्मिक विश्वास छ ।

वैज्ञानिक रुपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वे्दिक औषधिका रुपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पीपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकस्वरुप पवित्र मानिन्छ । वर्षमा २४ एकादशी पर्छन् । तीमध्ये आषाढ शुक्ल र कात्र्तिक शुक्ल एकादशीलाई ठूली एकादशीका रुपमा लिइन्छ । अरु २२ एकादशीका दिन व्रत बस्न नसक्नेले पनि यी दुई एकादशीमा व्रत बस्ने गर्छन् ।