धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताएका छन् । प्रदेश नं ७ को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने बताए । देउवाले भने– “सुदूरपश्चिमको विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ ।”
अहिलेसम्म भएका पूर्वाधारसँगै थप विकासका लागि सरकारले आवश्यक गृहकार्य गर्ने पनि प्रधानमन्त्रीले बताए । उनले भने – “किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा बजारसम्म पु¥याउन सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।” सुदूरपश्चिम प्राकृतिक साधन स्रोतले सम्पन्न भएकाले त्यसको सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो । प्रधानमन्त्री देउवाले भने – “प्राकृतिक साधन स्रोतको योजनाबद्ध रुपमा व्यवस्थापन गरी अगाडि बढ्ने काम हुनेछ । यसले रोजगारीका अवसर सिर्जना गर्नेछ ।”
उनले हिमाली क्षेत्रका दुर्लभ जडीबुटी र वन सम्पदाको सही सदुपयोग गर्न सकियो भने पनि यो क्षेत्रबाट युवाको पलायन रोकिने धारणा राखे । जलस्रोतको अपार सम्भावना रहेको ७ नं प्रदेशमा पश्चिमसेती, पञ्चेश्वरजस्ता बृहत्तर विकास परियोजनालाई अगाडि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए । पञ्चेश्वर र पश्चिमसेतीजस्ता जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रधानमन्त्रीले देउवाले संविधान कार्यान्वयनसँगै अब सुदूरपश्चिममा मात्र नभई समग्र देशको विकासले गति लिने स्पष्ट पारे ।
प्रतिक्रिया