काठमाडौं । असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ४२ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
पछिल्लो नतिजा अनुसार एमालेले १०४ स्थानमा जित हासिल गर्दै अगाडी देखिएको छ भने कांग्रेसले ९५ स्थानमा जितेको छ । कांग्रेसले ३१ वटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ भने एमालेले २३ वटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने अहिलेसम्म रोल्पा नगरपालिकामा मात्रै जितेको छ । गाउँपालिकामा ३१ स्थानमा जित निकालेको छ । यस्तै, संघीय समाजवादी फोरमले ५ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ३, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ स्थानीय तहमा जित हात पारेका छन् ।
नगर र गाउँपालिका दुवैमा एमाले केही अग्रस्थानमा छ । प्रदेश एक र ५ मा एमाले बलियो देखिएको छ भने प्रदेश नम्बर ७ मा नेपाली कांग्रेस अगाडी देखिएको छ ।
उपमहानगरमा एमाले बलियो, महानगरका कांग्रेस अगाडी
विराटनगर महानगरपालिकासहित अन्य सात उपमहानगरपालिकामा पनि मतगणना जारी रहेको छ । बिहानसम्मको परिणाम अनुसार विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ ।
सात उपमहानगरपालिकामा भने एमालेको धेरै ठाउँमा अग्रता देखिएको छ । दाङका तुल्सीपुर र घोराही दुवै उपमहानगरपालिकामा एमालेका उम्मेदवार घनश्याम पाण्डे र नरुलाल चौधरी बलियो अवस्थामा देखिएको छ । सुनसरीको इटहरी र धरान नगरपालिकामा पनि एमालेकै अग्रता कायम छ ।
इटहरीमा द्वारिकलाल चौधरी र धरानमा तारा सुब्बा आआफ्ना निकटतम प्रतिस्पर्धीभन्दा हजार मतले अगाडि छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि एमालेका उम्मेदवार शिवराज सुवेदीको अग्रता कायमै छ । कैलालीको धनगढी उपमहानगरपालिकाकामा भने कांग्रेसको अग्रता छ ।
कांग्रेसका उम्मेदवार नृपबहादुर बड केही मतअन्तरले स्वतन्त्र उम्मेदवार गोपाल हमालभन्दा अगाडि छन् । नृपबहादुरलाई एमालेका दुर्गप्रसाद जोशीले पनि पछ्याइरहेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा भने राप्रपा डा. धवलशम्शेर राणाको अग्रता फराकिलो बन्दै गएको छ ।
प्रतिक्रिया