काठमाण्डौँ । स्थानीय तहको चुनाव अन्तर्गत दोस्रो चरणमा हिजो मतदान भएका तीन वटा प्रदेशका अधिकांश स्थानमा अहिले मतगणना भइरहेको छ । कतिपय स्थानका मतपरिणाम समेत सार्वजनिक भइरहेका छन् ।
हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी ४६ स्थानमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले ३५ स्थानमा तथा नेकपा माओवादी केन्द्रले १८ स्थानमा अग्रता लिएको छ । पछिल्लो मतपरीणम अनुसार नेपाली काँग्रेसले १७ ओटा र एमालेले ८ ओटा नगरपालीकामा अग्रता लिएका छन ।
प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये अछाम बाहेक अन्य जिल्लाामा मतगणना शुरु भएको छ ।
मतगणनाको प्रारम्भिक रुझानमा कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । माओवादी र फोरम लोकतान्त्रिक तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् ।
पछिल्लो मतगणनाको परिणाम अनुसार बझाङ र बाजुरामा एमालेले अग्रता लिएको छ । डोटीमा कांग्रेस अगाडि छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् । मतगणना जारी रहेको पाँचथरको ४ गाउँपालिकामै नेपाली कांग्रेसको अग्रता कायमै छ । नेकपा एमालेको लाल किल्ला भनेर चिनिने जिल्लाको याङवरक, हिलिहाङ, कुम्मायक र तुम्वेवा गाउँपालिकामा विहानैदेखि कांग्रेको अग्रता छ ।
यी स्थानीय तहमा समावेश गरेका साविकका गाविसमा यसअघिको स्थानीय निर्वाचनमा नेकपा एमाले विजयी भएको थियो । याङवरक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शेरवहादुर नुगो १५६ मतका साथ अगाडि छन् । उनलाई एमालेका लेखनाथ घिमिरेले १५१ मतका साथ पछ्याइरहेका छन्।
माओवादी केन्द्रका भीम मावो २७ मतका तेश्रो स्थानमा छन्। उपाध्यक्ष पदमा भने एमालेको कमला योङहाङ १२९ मतका साथ अगाडि छिन्।उनलाई कांग्रेसकी कल्पना कोइरालाले १ सय ८ मतका साथ पछ्याइरहेकी छन्।
माओवादी केन्द्रकी इन्दिरा पोख्रेलको भने २२ मत छ । कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका बमप्रसाद लावतीले ३ सय ६९ मत प्राप्त गरेका छन् ।
एमालेका जयवहादुर चेम्जोङको पक्षमा ३ सय २५ मत पाएका छन्। उपाध्यक्षमा एमालेकी सीता आचार्यले ३ सय ६० मत प्राप्त गरेकी छन्। राप्रपाका जितबहादुर अगुवाले २ सय ५३ मतका साथ पछ्याइरहेका छन् । संघीय समाजवादीका सूर्य्किरण राईले ४५ मत प्राप्त गरेका छन्। जिल्लाको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिकामा पनि कांग्रेसकै अग्रता छ ।
यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ । पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे ।
महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २०० मत गनिसक्दा नगरप्रमुखमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाइ’ले ८८, नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा एमालेका देवदत्त भट्टले ३३ र नेकपा माओवादी केन्द्रका खिमानन्द भट्टले १० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, कांग्रेसकी मीना चन्दले ५८, एमालेकी सरस्वती नेपालीले २४ र माओवादी केन्द्रकी कमला कार्कीले १२ मत प्राप्त गरेका छन् ।
उता संखुवासभाको खाँदबारी नगरपालिकाको वडा नं. १० मा कांग्रेसका उमेदवार केशवजङ थापा विजयी हुनुभएको छ । वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला दुई सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । रोल्पा जिल्लामा नेपाली कांग्रेसले खाता खालेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो ।
यस्तै दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । यता बाजुराको गहुमुल गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन ।
यस्तै डोटीका दिपायल–सिलगढी नगरपालिका र शिखर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख दुबै पदमा अग्रता लिइरहेको छ ।
डोटीको दिपायल–सिलगढी नगरपालिकामा खसेको १० हजार ४३० मतमध्ये ७०० मत गणना हुँदा प्रमुखमा कांग्रेसका विजय खड्का ३८६ मतका साथ अगाडि छन् भने नेकपा एमालेकी मन्जु मलासीले १३९ मत प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार प्रेम नेपालीले ६९ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा कांग्रेसकी प्रोसिस महराले २६४ मत प्राप्त गरेकी छन् । एमालेका शिव खड्काले २८० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका तुलक्षीदेवी सोपले २४ मत प्राप्त गरेकी छन् ।
१२ हजार १९२ मत खसेको शिखर नगरपालिकामा ५०० मत गणना हुँदा प्रमुखमा कांग्रेस उम्मेदवार सिताराम जोशीले २७१ मत प्राप्त गरेका छन् । एमालेका शेरबहादुर मल्लले १६५ मत प्राप्त गर्दा माओवादी केन्द्रका रमेशप्रसाद जोशीले २८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकी धौलीदेवी रावलले २७१ मत प्राप्त गर्दा एमालेकी राधिका बोहराले १६८ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी नेत्रा साउद बोहराले २४ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया