देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई बजेट सक्ने चटारो

देशान्तर

काठमाडौं । सरकार परिवर्तनसँगै अत्तालिएका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्ट यतिबेला सकेसम्म खेलोमेलो गरेर रकम कुम्ल्याउने दाउमा लागेका छन् । राखेप सदस्यसचिवले फ्रिज हुन लागेको बजेटलाई विभिन्न बहाना र शीर्षकमा निकासा गर्ने र पोल्टो भर्ने कामलाई निरन्तरता दिएका छन् । जसको सबैभन्दा पछिल्लो उदाहरण हो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता । राखेपका केही पदाधिकारी र क्रिकेटका प्रशिक्षक र केही खेलाडीको मिलेमतोमा सम्पन्न भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट राखेप सदस्यसचिवले मात्र होइन उनका आसेपासे र केही स्वकीयहरूले समेत पनि राम्रै रकम कुम्ल्याएका छन् ।

क्रिकेटका प्रशिक्षक जगत टमाटा, केही खेलाडी र राखेपका केही कथित पदाधिकारी यो कोर टिमका सदस्य हुन् । राखेपमा विगतदेखि नै रकम कुम्ल्याउने मामलामा अब्बल ठहरिएका मीन शर्मासमेत पनि यो टिमको हर्ताकर्ता भएबाट पनि प्रष्ट हुन्छ । त्यसैकारण बजेट बिल मिलाउनका लागि खेल सकिनु अगाडि नै सांग्रिला होटेलमा एउटा रात्रिकालीन भोजको आयोजना गरिएको थियो । मीन शर्मा र जगत टमाटाको विशेष सक्रियतामा आयोजित त्यो भोजमा चाँजोपाँजो मिलाउने जिम्मा भने राखेप सदस्यसचिव केशव विष्टले लिएका थिए । मन्त्रालयका केही कर्मचारीको पनि यो गतिविधिमा राम्रै मिलेमतो भएको देखियो । मन्त्रालयका सचिव महेश दाहाल पनि नेपाली खेल क्षेत्रलाई राम्रै प्रयोग गरेर दाम र विदेश भ्रमणमा चाँजोपाँजो मिलाउनमा सक्रिय रहेको स्रोतले बतायो । त्यो भोजमा पूर्व भइसकेका युवा तथा खेलकुदमन्त्री दलजित बीके श्रीपालीलाई पनि निम्ता गरिएको थियो । उनी पनि सहभागी भए । यसको अर्थ उनले पनि केही न केही लाभ यही प्रतियोगिताका दौरान नै भए पनि लिएको पाइयो ।

जे गरेर र जसरी भए पनि लाभ लिन खोज्ने मन्त्री श्रीपाली र राखेप सदस्यसचिव केशव विष्टबीच पछिल्लो समय लेनदेनको विषयमा केही कुरा नमिलेको प्रष्ट देखियो । जसका कारण मन्त्रीले पद सकिएलगत्तै सदस्यसचिवको चर्को आलोचनासमेत गरे । राखेपका एक विभागीय प्रमुखले जनाएअनुसार नपुग रकम मन्त्रीकहाँ अपुग भएकाले उनले यस्तो आक्रोश पोखेका हुन् । मन्त्रीजस्तो व्यक्ति भएर दुईचार लाखमा बिके जसका कारण राखेप सदस्यसचिव केशव विष्टले ठूलोठूलो बदमासी गर्न सफल भएको ती कर्मचारी बताउँछन् । सदस्यसचिव विष्टले अबका दिन आफ्नो लागि त्यति सहज नहुने भएकाले जतिसक्दो चाँडो र जति सकिन्छ त्यति कुम्ल्याउन विभिन्न जुक्ति बुनिरहेका छन् । त्यसैका लागि भनेर विभिन्न बहानामा रकम निकासा गर्ने अभियान जारी छ ।