देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१० वर्षपछि रियल मड्रिड छोड्दै पेपे

देशान्तर

काठमाण्डौँ । डिफेन्डर पेपेले रियल मड्रिड छोड्ने भएका छन् । १० वर्षदेखि रियल मड्रिडमा रहेका पेपेले गएको जनवरीमा गरेको घोषणा अनुसार नै अब रियल मड्रिडबाट नखेल्ने बताएका हुन् ।

 

ब्राजिलमा जन्मिएका पोर्चुगिज पेपे अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, इटालियन क्लब एसी मिलान वा कुनै इंग्लिस क्लबमा जाने सम्भावना छ । ३४ वर्षका पेपे सन् २००७ मा पोर्चुगिज क्लब पोर्टोबाट रियल मड्रिड आएका थिए । रियलबाट पेपेले तीन सय ३४ खेल खेले । यसअवधिमा उनले तीन ला लिगा र तीन च्याम्पियन्स लिग उपाधि उचाले । पेपेले गएको शनिबार भएको युभेन्टससँगको च्याम्पियन्स लिग फाइनल खेलमा मैदान थिएनन् ।

 

यो खेलमा ४–१ को जित निकाल्दै रियल मड्रिडले उपाधि जित्यो । आफू जाँदैछु भन्ने पहिले नै थाहा भएकाले ‘गुडबाई’ नभन्ने उनले बताएका छन् । क्लब छोड्न चाहेको विषयमा प्रशिक्षक जिनेदिन जिदानसँग कुरा गरेको पेपेले एक रेडियोसँगको अन्तर्वार्ताको क्रममा बताएका छन् । जिदानले क्लबका लागि गरेको काम निकै राम्रो रहेको तर आफूले अझै पनि केही कुरा बुझ्न नसकेको पेपेको भनाई छ । आफूले क्लबका लागि ज्यान नै दिएको र पछिल्लो समय विकसित भएको परिवेशका कारण क्लब छोड्ने निर्णयमा पुगेको उनले बताए ।

 
यो सिजनको केही समय चोटका कारण मैदान बाहिर रहेका पेपेलाई राफाएल वाराने र नाचो तथा कप्तान सर्जियो रामोससँग मिलेर खेल्नु पर्ने वातावरण बनेको थियो । प्रशिक्षकले आफ्नो ठाउँमा विकल्प प्रयोग गर्न थालेपछि पेपे निराश भएको मानिन्छ ।
तर समर्थकको माया र सद्भावबाट आफू खुशी रहेको उनले बताएका छन् । पेपेले गएको वर्ष युरोकपको उपाधि कप्तान रोनाल्डोका लागि जितेको बताएका थिए । उनी र रोनाल्डो पोर्चुगलको टिमबाट पनि खेल्छन् ।