देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘संस्कृतिमैत्री विकास निर्माण मेरो लक्ष्य हो’

देशान्तर

२०३६ सालको जनमतसंग्रहपछि राजनीतिमा होमिएका चिरीबाबु महर्जनको चर्चा यतिबेला ह्वात्तै बढेको छ । कम्युनिस्टहरूको गढ भनेर चिनिएको ललितपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि उनको चर्चा बढेको हो । महर्जन २४ हजार ६ सय ६६ मत ल्याई विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार तीन सय एक मत प्राप्त गरे । २०४५ सालमा वडाध्यक्ष भएका बेलामा बहुदललाई सहयोग गर्नका लागि पदबाट राजीनामा दिई प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । उनै महर्जन बहुदल आएपछि २०४९ सालको निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट वडाध्यक्षमा निर्वाचित भए । हाल उनी ललितपुरको बखुल्डोलमा बस्छन् । चिरीबाबुको त्यही वडा हो जहाँ उनले २०३८ देखि २०५४ सालसम्म वडाध्यक्ष भएर काम गरे । पञ्चायत र बहुदलीय व्यवस्था दुवैमा पटकपटक त्यतिबेलाको ललितपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्ष भए । आज वडाध्यक्षबाट एकैचोटी महानगरको मेयर बनेका छन् । उनै मेयर चिरीबाबुसँग देशान्तरले गरेको कुराकानीको सम्पादित अंश –

बडो रोमाञ्चकारी प्रतिस्पर्धाबाट ललितपुर महानगरको मेयर बन्नुभयो, हैन ?
हो, ललितपुरको चुनावी प्रतिस्पर्धा साह्रै रोमाञ्चकारी भयो । मैले यतिसम्म कडा प्रतिस्पर्धा होला भनेर सोचेको पनि थिइनँ । उम्मेदवार मनोनयन दर्ता गर्ने प्रक्रियामा हाम्रौ ग्रुपकै साथी रमेश महर्जनले साझा पार्टीबाट क्यामेरा चिन्ह लिएर उम्मेदवारी दर्ता गराउनुभयो । त्यसपछि अनपेक्षित तवरले सिनारियो परिवर्तन भयो । उहाँले बाह्र हजारको हाराहारीमा भोट लिनुभयो । उहाँले प्राप्त गरेको मतको ८० प्रतिशत हिस्सा मेरै हो । उहाँले जुन ठाउँबाट मत लिनुभयो त्यस ठाउँमा म एकदमै लोकप्रिय मान्छे । तर अर्को लोकल व्यक्ति चुनावी मैदानमा आउँदा लोकप्रियतामा पनि आघात पर्दो रहेछ । किनभने म परे पुल्चोकको उहाँ पर्नुभयो पिलासी टोलको । यो टोल ललितपुर महानगरपालिकाको कोर एरिया हो । उहाँको उम्मेदवारीले गर्दा पनि मलाई निर्वाचनमा अलि साह्रो गाह्रो परेको हो । तर पनि म जित्छु भन्नेमा मलाई कुनै दुविधा चाहिँ थिएन । मैले बाहिरी एरिया प्रवेश गर्नु अगाडि आकलन गर्दा म दुई हजार मतले अगाडि थिएँ । जब म बाहिरी क्षेत्रमा प्रवेश गरेँ एउटा दुईटा वडाहरूमा नेपाली कांग्रेस आन्तरिक घर झगडाको कारणले मत प्रभावित भयो ।
साझा पार्टीका उम्मेदवार रमेश महर्जनले त्यत्तिका मत ल्याउनुको कारण मतदाताले विकल्प खोजेको रूपमा व्याख्या गरिएको छ । तपाईंलाई त्यस्तो लाग्दैन ?
ललितपुरको हकमा त्यस्तो हैन । ललितपुरमा विकल्प खोज्ने भन्ने कुरा नै थिएन । ललितपुर क्षेत्रमा मलाई सबैले मत बटुल्न सक्ने मान्छेकै हैसियतमा लिइन्थ्यो । तर जब रमेशजी आउनुभयो, उहाँ पनि त्यस भेगकै रैथाने । उहाँ त्यस भेगको आर्थिक रूपमा सम्पन्नशाली व्यक्ति पनि हो । उहाँसँग हामी कसैले पनि तुलना गर्न सक्ने अवस्था चाहिँ पक्कै थिएन । धर्मकर्मका कामहरू, सामाजिक कामहरूमा मभन्दा उहाँ अगाडि नै हुनुहुन्छ । त्यसले गर्दा पनि उहाँले सजिलै मत बटुल्न सकेको हो । यसको मतलव ललितपुर महानगरले हाम्रो विकल्प खोजेको चाहिँ पक्कै हैन ।

२०४६ सालको परिवर्तनपछि ललितपुरमा वामपन्थीहरूको हालीमुहाली छ । २०७० सालको संविधानसभा चुनावमा तीनवटै क्षेत्रमा कांग्रेसले जित हासिल गर्‍यो । अहिले महानगरपालिकाको मेयर तपार्इं बन्नुभयो । ललितपुरमा कांग्रेसको संगठन मजबुत बन्दै गएको हो ?
यो भनिरहँदा २०४९ को स्थानीय निकायको निर्वाचनलाई पनि बिर्सनु हुन्न । त्यो बेलासम्म कम्युनिस्टहरूको लालकिल्लाकै रूपमा ललितपुर स्थापित थियो । त्यो बेला हाम्रो बेखरत्न शाक्य मेयर र चन्द्र महर्जन उपमेयर र म लगायतका साथीहरू वडाध्यक्षमा भारी बहुमतका साथ जितेका थियौं । त्यो भनेको नेपाली कांग्रेसको उपलब्धि हो । कांग्रेसका लागि धेरै हाइलेभलका उपलब्धि हुन् । त्यही चुनावपछि ललितपुर महानगरपालिकामा पनि डेमोक्रेटहरू छन् भन्ने सन्देश गएको हो । त्यतिखेर पनि डेमोक्रेटहरूलाई ऐक्यबद्धता बनाउन केही फर्मुलाले काम गरेको थियो । यो आन्तरिक झैंझगडा, निर्वाचन आयो कि उम्मेदवारहरूमा हानाथाप गर्नु, उम्मेदवार घोषणा भइसकेपछि त्यसको ह्याङओभर बाँकी रहिरहने यी कुराले निर्वाचनमा बढी नकारात्मक प्रभाव पार्दो रहेछ ।
टिकट पाउन निकै गाह्रो भयो भन्नुभयो, के कारणले गाह्रो भयो ?
मेरो निमित्त टिकट पाउन धेरै गाह्रो, जित्न सजिलो थियो । यदि मैले टिकट पाए भने म चाहिँ निश्चित रूपमा जित्छु भनेर नै आएको हो । टिकट पाउन धेरै गाह्रो पर्‍यो । अन्तत: पाएँ । पहिलो खड्को त्यही टर्‍यो । टिकट पाइसकेपछि पनि नोमिनेसन दर्ता नहुन्जेलसम्म टिकट जोगाउन निकै गाह्रो भयो । यो पटक अरू पार्टीसँगको गठबन्धनका कुराहरू निस्के । त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले ललितपुर महानगरपालिका माओवादीलाई दिएर काठमाडौं महानगरपालिका नेपाली कांग्रेसले लिने भन्ने कुरा आयो । त्यो कुरा केन्द्रीय पार्टी कार्यालय हँुदै ललितपुर पार्टी कार्यालयसम्म आइपुग्दा भयावह हुने स्थिति सिर्जना भयो । त्यसपछि हामीले जित्ने ठाउँमा हामीले कदापि छोड्नु हुन्न भनेर तालमेल हुन नदिन सबै चीज प्रयोग गरियो । यसले गर्दा अहिले पाएको टिकट जोगाउन पनि समस्या भएको थियो । ललितपुरमा कांग्रेसको अवस्था के हो भन्ने त हामीलाई पो जानकारी थियो । तर केन्द्रबाट नेताहरूले अनुमानका भरमा निर्णय गर्दा समस्या हुने देखेकाले नै हामीले तालमेल रोकेका हांै ।
त्यसपछि भोट बटुल्ने सन्दर्भमा आफ्नै दौतारीहरू रमेश महर्जन प्रतिस्पर्धामा आउनुभयो । उहाँहरू जस्ता हस्तीहरू उम्मेदवार हुन आए । जो मान्छेको विचारधारा हिजोको दिनमा हामीसँग मिल्थ्यो । साझा पार्टीको तर्फबाट उहाँ उम्मेदवार हुनुभयो । नयाँ पार्टी भएकै कारणले भन्दा पनि रमेशजी भएका कारणले जनताको अपेक्षा चाहिँ थियो । तर उहाँले प्राप्त गरेको मत उहाँकै लागि थियो साझा पार्टीको लागि थिएन ।

तपार्इं ललितपुरको रैथाने मान्छे, भोट माग्न सबैको घरघरमा पनि पुग्नुभयो होला । ललितपुर महानगरका कस्ताकस्ता समस्या पहिचान गर्नुभएको छ तपाईंले ?
म्ुाख्य समस्याहरू धेरै छन् । मैले क्रमश: भन्नुपर्दा विगत २०औं वर्ष अघिदेखि जनप्रतिनिधिविहीन कर्मचारीतन्त्रले शासन गरेका कारणले अधिकांश जनताको गुनासो सुशासनलाई छ । सबैको चाहना यही छ कि एउटा कार्यालयमा जनताको काम लिएर जाँदा घण्टौं कुराइदिने जस्ता समस्याहरू सुनाएका थिए । एकै दिनमा हुनुपर्ने काम हप्ता दिनमा पनि नहुँदा उहाँहरूलाई धेरै समस्या परेको छ । त्यसैले पहिलो नम्बरमा म यो समाधान गर्ने पक्षमा छु ।
त्यस्तै अर्को समस्याको रूपमा खानेपानीको समस्या विगतदेखि नै विकराल रूपमा छ । खानेपानीको समस्या धेरै छ भन्दै गर्दा अहिले नै हामीले तत्कालै रकम खर्च नगरे जाति हुन्छ । किनभने अब मेलम्चीको पानी आउँदै छ । नेपाली कांग्रेसले नै शुभारम्भ गरेको मेलम्चीको पानी आउने नै भयो । ललितपुर महानगरवासीले यसमा धेरै भावविह्वल भएर धेरैले गुनासो गर्नुभयो । मैले उहाँहरूलाई मेलम्चीको पानी पनि आउँदै छ यदि त्यसले पनि पुगेन भने डिप ट्युबेलको पानीको व्यवस्था गरिदिन्छु भनेर वचन पनि दिएको छु । डिपट्युबेलको मसँग अनुभव पनि छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेको अनुभव छ ।
तेस्रो, काठमाडौंको धुलो, धुवाँको कुरा गरौं । मेलम्चीको पानीका लागि पाइप बिछ्याउँदै गर्दा यस्तो भएको हो । मलाई निश्चित रूपमा थाहा छ । इन्टरनेसनल प्रोजेक्टहरूमा काम गरेको अनुभवले भन्दैछु पाइप बिछ्याइसकेपछि त्यसलाई पुर्नुपर्छ । ठेकेदारले पाइप बिछ्याउनको लागि खन्नेबित्तिकै त्यसलाई पुर्नुपर्ने हुन्छ । कन्ट्रयाकमै लेखिएको हुन्छ पाइप बिछ्याइसकेपछि पुर्नुपर्छ । ठेकेदारले आफूले गर्नुपर्ने काम गरिराखेको छैन । लापरबाही रूपमा काम गरेको देखिन्छ । त्यसकारणले एक ट्यांकर पानी त्यसवरपर राख्नको लागि हजार पन्ध्र सय लाग्ला । त्यो पानी धुलोधुवाँ नियन्त्रणको लागि राख्नुपथ्र्यो । त्यो नराखेपछि परामर्शदाताहरूले उसको कान निमोठ्नुपर्ने थियो, त्यो भएन । मेलम्ची खानेपानी र ठेकेदारबीच जुन सम्झौता भएको छ त्यो लागू भएको म हेर्न चाहन्छु ।

प्राथमिकताका आधारमा तपाईंले गर्ने काम के के हुन् ?
हामीले आफ्नो काम गर्ने हो । केन्द्रसँग भन्दा स्थानीय सरोकारका विषयमा केन्द्रित भयौं भने विकासले फड्को मार्छ । काम गर्ने जाँगर भए अरू कुराले छेक्दैन । महानगरलाई धुलोधुवाँबाट मुक्त बनाउने, मेलम्चीको खानेपानी समानुपातिक रूपमा वितरण गर्ने र विकासका लागि छुट्याएको रकम हिनामिना हुन नदिने, यी काम मैले चुनावका बेलामा प्रतिबद्धता जनाएको छु । धुलोधुवाँले काठमाडौं उपत्यकालाई आक्रान्त पारिरहेको छ । कमसेकम तपाईं हामी त माक्स प्रयोग गरेर हिँडौला तर बालबालिकाहरू यसबाट प्रत्यक्ष रूपमा प्रभावित छन् । विभिन्न संक्रमित रोगहरूबाट ग्रसित भएर उनीहरूको भविष्य नै खतरामा पर्ने सम्भावना बढेको छ । त्यसैले पनि सबैभन्दा पहिले ललितपुर महानगरभित्र धुलोधुवाँलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, भन्ने योजना तयार पार्न लागेको छु ।
अर्को समस्या भन्नाले ट्राफिक जाम हो । ललितपुरको भित्री सहरको बाटोघाटो मल्लकालीन राजाहरू र राणाकालमा बनेका छन् । यहाँको बाटोघाटो जताततै डबल लेनको बाटो छ । यो भएकाले कहीँ कतै आगलागी भयो भने एउटा दमकललाई छिर्ने ठाउँ हँुदैन । त्यसलाई कसरी निराकरण गर्ने त्यो ठूलो चुनौतीको रूपमा खडा भएको छ । सिंगल रोडमात्र भइदिएको भए पनि स्मोथ्ली फङ्सनिङ गर्छ । डबललेन हुनासाथ त्यहाँ ट्राफिक कञ्जेक्सन भइहाल्छ । त्यसकारणले पनि तत्कालको लागि जहाँजहाँ सक्ने अवस्था सिर्जना पैदा हुन्छ त्यहाँ तत्कालै सिंगल रोडमात्र बनाउने काम गर्नेछु । मुख्य मूलभूत रूपमा धेरै कुराहरूको कल्पना मैले गरेको छु । म धेरै बाहिरी राष्ट्रहरू पनि घुमेको छु । प्रोजेक्टमा काम गरेको कारणले मैले सन् १९९४ मा सांघाईमा जाँदा खेरी त्यहाँको सडकको कुरा गर्दा जमिनभन्दा माथि नै आठवटा फ्लाई ओभर सडक थियो । संसारको नै ठूलो सहर भनेर सांघाईलाई चिनिन्छ, त्यस्तो क्षेत्रमा सवारीसाधनहरू बिना अवरोध सजिलै चलिरहेको छ । हो, ललितपुर महानगरपालिकामा पनि यस्तो सडकको परिकल्पना गरेको छु । यो ललितपुर क्षेत्रमा रातो मछिन्द्रनाथको जात्रा हुन्छ, यो क्षेत्रमा रथ तानिन्छ, जुन १४ सय वर्ष अघिदेखि निरन्तर चलिनै रहेका छन् ।

तपाईंको सोचअनुसार फ्लाइओभर बनाउँदा मछिन्द्र नाथको रथ यात्रामा समस्या हुन्छ भनिएको छ नि ?
त्यस्ता किसिमको संस्कृति माथि यहाँका कुनै पनि आधुनिक विकास निर्माणका कुराहरूले आँच पुर्‍याउन पाइँदैन । त्यसैले मछिन्द्रनाथको रथयात्रा नहुने ठाउँमा यो पुल्चोकको आकासेपुल छ त्यहाँदेखी थापाथलीसम्म चाहिँ फ्लाइओभरको कन्सेप्ट ल्याएको छु । तत्काल आजभोलि नै त्यसको सम्भाव्यताको बारेमा अध्ययन गराउँछु । किनभने नेपाल सरकारले पनि थानकोटदेखि एयरपार्टसम्म चाहिँ फ्लाइओभरको डिजाइन भइराखेको छ भन्ने सुनेको छु । त्यसैले पनि तत्काल यसको कार्यमा सरिक भई मेरो कार्यकालको दोस्रोतेस्रो वर्ष भित्रै सञ्चालन हुने गरी अघि बढ्ने योजना बनाएको छु । अब यो कहाँसम्म फिजिबल हुन्छ हुँदैन त्यो हेर्दै जाऔं । वागमती पुलमा यहाँबाट जति गाडीहरू छन् त्यहाँ गएर ठोकिन्छन्, त्यो बोटल मेक हो, जबसम्म हामीले त्यो समाधान गर्न सक्दैनांै, तवसम्म यो समस्या जीवितै रहन्छ । त्यस क्षेत्रमा हामीले फ्लाइओभरको सिस्टम बनाउनेबित्तिकै पनि ४० देखि ६० प्रतिशत समस्या हल हुन्छ नै त्यसकारणले पनि म यो काम गर्ने पक्षमा छु । त्यसैगरी भूकम्पपीडित जनताले घर बनाउन सकिरहेको अवस्था छैन, सरकारले विभिन्न कारण देखाइरहेको छ । तत्काल यो महानगरपालिकाभित्रको भूकम्पपीडितलाई कसरी सजिलै राहत दिलाउन सकिन्छ, त्यस पक्षमा पनि काम गर्नेछु ।