रामपुर । यस जिल्लामा हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ ।
कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र सीमित हुनपुगेको छ । कुटिर उद्योग अन्तर्गत पर्ने यो उद्योगले जिल्लाकै पहिचान बनाएको छ । पाल्पाको मुख्य चिनारीकै रुपमा रहेको करुवा उद्योगको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा विस्थापित हुन पुगेको हो ।
करुवा उत्पादनका लागि कच्चा पदार्थको आपूर्ति हुन नसक्दा व्यवसाय नै सङ्कटमा पर्दै गएको छ । काँस, मैन, तामा, कोइला, खोटोलगायतका सामग्री कमै मात्रामा उपलब्ध हँुदै जाँदा विस्तारै उद्योग नै बन्द हुने अवस्था आएको छ । सदरमुकाम तानसेनको टक्सार टोलभर नै करुवा उद्योग सञ्चालनमा आएका थिए, तर अहिले यहाँका दुई चार घरमा मात्र उद्योग सीमित हुन पुगेको छ ।
यहाँ बसोवास गर्ने पुराना व्यवसायीले उद्योग सञ्चालन गर्न छाडिसकेका छन् । पछिल्लो समयमा कच्चा पदार्थको अभावका कारण धेरै उद्यमीले व्यवसाय नै छाड्दै गएका हुन् । अर्को तर्फ परम्परागत रुपमा सञ्चालित करुवा उत्पादन व्यवसायलाई नयाँ पुस्ताले अवलम्बन नगर्दा व्यवसाय नै हराउँदै गएको हो ।
करुवा उद्योगको महत्व र गरिमालाई बचाइ राख्न तानसेन टक्सार टोलका सुरेन्द्रमान बज्राचार्यले भने आफ्नो पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बज्राचार्य परिवारले तीन पुस्ता अघिदेखि नै करुवा उद्योगलाई आफ्नो मुख्य व्यवसाय बनाइआएको छ ।
विश्वकै सबैभन्दा ठूलो करुवा बनाएर ख्याति कमाउनुभएका ५८ वर्षीय बज्राचार्यले करुवाका लागि आवश्यक पर्ने वस्तु र कामदारको समस्याले टक्सार टोलका करिब एक दर्जन भन्दा बढी उद्योगीले यो व्यवसाय छाडेको जानकारी दिए ।
उद्योगीले व्यवसाय छोड्दै गएपछि बजारको माग अनुसार उत्पादन पु¥याउन नसकेको बज्राचार्यको भनाइ छ । उनी भन्छन् “मेसिनबाट उत्पादन हुने करुवामा मिसावट धेरै हुने भएकाले हातले बनाएको खोज्ने ग्राहकलाई कसरी चित्त बुझाउने हो भन्ने समस्या छ । गाउँघरमा पुराना काँसका भाँडा खरिद गरी अहिलेसम्म जेनतेन व्यवसाय चलेको छ । भोलिका दिनमा कच्चा पदार्थको अभावमा व्यवसाय नै सङ्कटमा पर्ने निश्चित छ ।”
उनले एक महिनामा ७० देखि ८० वटासम्म करुवा उत्पादन गर्छन् । हातले उत्पादन गरिएको एक करुवाको मूल्य आकार हुन्छ र न्यूनतम मूल्य रु एक हजार आठ सय छ । बज्राचार्यले विश्वकै सबैभन्दा ठूलो करुवा ६ महिनामा निर्माण गरेर करुवा व्यवसायमा प्रसिद्धि कमाएका छन् ।
उनीसँगै टक्सार टोलमा मनिन्द्र बज्राचार्यले पनि यो व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । “पहिले पहिले यहाँ धेरैका घरमा हातले कुँदेर करुवा
बनाइन्थ्यो, अहिले त सबैले व्यवसाय नै छाडिसकेका छन्” – उनले भने । पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले व्यवसायीले अरुलाई सीप नसिकाएका कारण उद्योग नै विस्थापित हुन पुगेको बताउछन् ।
विगत दश वर्षयता हातले निर्माण गरिएका करुवाका सट्टा मेसिनबाट तयार पारिएका करुवा बजारमा आउन थालेका छन् । देश विदेशमा ख्याति कमाएको पाल्पाली करुवाको सीप र प्रविधि हस्तान्तरण हुने र कच्चा पदार्थ सहजरुपमा उपलब्ध हुने हो भने यो उद्योग विस्थापित हुने अवस्था आउने थिएन ।
प्रतिक्रिया