इटहरी । द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन नामक अमेरिकी सामाजिक संस्थाले बहिरा बालबालिका अध्ययन गर्ने धरानको एक विद्यालयलाई झन्डै रु ६० लाख नगद सहयोग प्रदान गरेको छ ।
यो सहयोगपछि सुस्त श्रवण कल्याण सङ्घमा आबद्ध ६५ विद्यार्थीले सुविधा सम्पन्न भवनमा बसेर शिक्षा लिने अवसर पाउने भएका छन् ।
धरान उपमहानगरपालिका–१६ जनपथमा लामो समयदेखि बहिरा बालबालिकाको अध्ययन र बसोवासको प्रबन्ध गर्दै आएको सङ्घलाई तीन अमेरिकी दाताले रु ५९ लाख ५० हजार सहयोग उपलब्ध गराएको विद्यालयकी प्रधानाध्यापक रेणू बुढाथोकीले जानकारी दिए ।
‘द’ रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेनका अध्यक्ष रबर्ट रोज र सदस्य रोज स्टेफन जोनको सक्रियतामा शिक्षा विभाग, विशेष शिक्षा परिषद्को अनुरोधमा उक्त सहयोग प्राप्त भएको बताइएको छ ।
उक्त सहयोग प्राप्त भएपछि देशका विभिन्न स्थानबाट शिक्षा र बसोवासका लागि धरानमा आएर बसोवास गर्दै आएका सुस्त श्रवण भएका बालबालिकाको अध्ययन एवम् अध्यापनका लागि १७ धुर जमिन खरिद गरेर भवन निर्माण गर्ने तयारी थालिएको छ ।
उक्त सहयोग रकमबाट विद्यार्थी बस्ने शिक्षालय भवन, कक्षा कोठा लगायतका भौतिक पूर्वाधार तयार पार्ने र विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीहरु समेतको व्यवस्था गरी उच्च शिक्षा आर्जन गर्ने बालबालिकाको अभिलाषा पूरा गर्न प्रयत्न गरिने प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया