राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ ।
आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।
श्रीमान्सँग सामान्य विवाद हँुदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् । त्यसैगरी नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासीको गैँडाकोट–१ को नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका बालक नदी छेउमै मृत अवस्थामा फेला परेका हुन् ।
नदीको छेउमा नवलपरासी गैँडाकोट–१ का १८ वर्षीय आशिष श्रेष्ठ र गैँडाकोट–८ का १७ वर्षीय भूपेन्द्र केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खोजीका लागि आएको गोताखोरको टोली, प्रहरी र विपद् व्यवस्थापनको टोलीले बालकको शव फेला पारेको हो । दुबैको शव मुचुल्का गरी परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ । शव आजै शव निरीक्षण गरी परिवारलाई बुझाइने प्रहरीले बताएको छ ।
प्रतिक्रिया